“योभन्दा राम्रो अन्तरपंक्तीय नयाँ नियम त अहिलेसम्म छैन”
उक्त कुरा डा. जेसिन बिडोनले युनानी धर्मशास्त्रको अन्तरपंक्तीय राज्य अनुवाद-बारे (अंग्रेजी) भनेका हुन्। तिनी भन्छन्:
“ब्लुमिङटनस्थित [सं.रा.अ.] इन्डियाना विश्वविद्यालयको धार्मिक अध्ययन विभागमा मैले भर्खरै एउटा कोर्स पढाइसकें। . . . त्यो कोर्स मूलतः सुसमाचारको पुस्तकका विवरणहरूबारे थियो। युनानी धर्मशास्त्रको अन्तरपंक्तीय राज्य अनुवाद-का प्रतिहरूको रूपमा मैले तपाईंहरूको मदत पाएँ र त्यसलाई विद्यार्थीहरूले एउटा पाठ्यपुस्तककै रूपमा चलाए। ती प्रतिहरू अध्ययनको लागि एकदमै अमूल्य साबित भए र विद्यार्थीहरूले साह्रै मन पराए।”
डा. बिडोनले कलेजको अध्ययनमा किन अन्तरपंक्तीय राज्य अनुवाद प्रयोग गरे? तिनी यस्तो जवाफ दिन्छन्: “सरल भाषामा भन्ने हो भने, “योभन्दा राम्रो अन्तरपंक्तीय नयाँ नियम त अहिलेसम्म छैन। म प्रशिक्षित बाइबलविद् हुँ, आधुनिक बाइबल अध्ययनहरूमा चलाइने पुस्तक तथा साधनहरूसँग चिरपरिचित छु। तर म यहोवाका साक्षीहरूको सदस्य चाहिं होइन। तर गुणस्तरीय प्रकाशनलाई म हेर्नेबित्तिकै चिनिहाल्छु र तपाईंहरूको ‘नयाँ विश्व बाइबल अनुवाद समिति’-को कृति उत्कृष्ट छ। तपाईंहरूले गर्नुभएको अन्तरपंक्तीय अंग्रेजी अनुवाद यति अचूक र सामञ्जस्यपूर्ण छ कि पाठकहरूलाई युनानीभाषी समय र हाम्रो वर्तमान समयबीचको भाषिक, सांस्कृतिक अनि वैचारिक अन्तरप्रति गौर गर्न लगाउँछ। तपाईंहरूको ‘नयाँ विश्व अनुवाद’ उत्कृष्ट मूलार्थक अनुवाद हो जसमा युनानी भाषाबाट सठीक अनुवाद गरिएको छ र परम्परागत त्रुटिहरू देखा परेका छैनन्। हाल प्रयोग भइरहेका प्रभावकारी अनुवादहरूभन्दा यो थुप्रै तरिकामा निकै उच्चस्तरीय छ।”
परमेश्वरको वचन कदर गर्ने व्यक्तिहरूलाई बाइबलको मौलिक युनानीभाषी पदहरूसँग परिचित गराउन यहोवाका साक्षीहरूले युनानी धर्मशास्त्रको अन्तरपंक्तीय राज्य अनुवाद प्रकाशित गरेका हुन्। यसका बायाँपट्टिको पानाहरूमा मौलिक युनानी भाषामा नयाँ नियम छ। (बी. एफ. वेस्कट र एफ. जे. ए. हर्टद्वारा संकलित) युनानी पदका मुन्तिर अंग्रेजीमा एक एक शब्द गरी अक्षरस अनुवाद गरिएको छ। दायाँपट्टिको एक छेउमा पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद छ। बाइबलको आधुनिक अंग्रेजी अनुवादसँग अन्तरपंक्तीय अनुवाद तुलना गर्न त्यसले मदत गर्नेछ।