“सशक्त तथा पत्यारिला”
“भोलिदेखि नै म यो प्रचार कार्यमा प्रयोग गर्नेछु। किनकि यसमा दिइएका तर्कहरू सशक्त तथा पत्यारिला छन्,” फ्रान्सस्थित यहोवाका एक जना साक्षीले लेखे। संयुक्त राज्य अमेरिकास्थित यहोवाका एक जना साक्षी लेख्छन्: “पाउने बित्तिकै यो पढ्न थालिहालें र क्षेत्रमा भावशून्य तथा बाइबलमा भरोसा नगर्ने धेरैजसो मानिसहरू भेटिने भएकोले तुरुन्तै क्षेत्र सेवकाईमा प्रयोग गर्न म आत्तुर भएँ।” तिनीहरू के को विषयमा कुरा गरिरहेका छन्? सबैका लागि उपयोगी किताब शीर्षक भएको ३२ पृष्ठे पुस्तिकाको विषयमा जुन सन् १९९७/९८ मा सम्पन्न यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा वाच टावर सोसाइटीद्वारा विमोचन गरिएको थियो।
केही खास पाठकहरू अर्थात् शिक्षित तर बाइबलबारे थोरै मात्र जानकारी भएकाहरूलाई ध्यानमा राखेर यो प्रकाशन तयार पारिएको थियो। यस्ता धेरैजसो व्यक्तिहरूले बाइबल कहिल्यै नपढेको भए तापनि यसप्रति आफ्नै विशेष धारणा बनाएका हुन्छन्। यस पुस्तिकाको उद्देश्य ती पाठकहरूलाई कम से कम बाइबल जाँचेर भएपनि हेर्नैपर्छ है भनेर विश्वस्त गराउनु हो। यस पुस्तिकाले बाइबल परमेश्वरकै वचन हो भनेर पाठकहरूलाई जबरजस्ती मनाउन खोजेको छैन। बरु, यसले तथ्यहरू आफैलाई बोल्न दिन्छ। यो अति साहित्यिक नभई स्पष्ट तथा सरल तरिकामा लेखिएको छ।
माथि उद्धरित टिप्पणीले देखाएजस्तै अधिवेशनहरूमा उपस्थित सबै यो पुस्तिका क्षेत्र सेवकाईमा प्रस्तुत गर्न उत्सुक थिए। उदाहरणका लागि, सारा संसारबाट लाखौं युवायुवतीहरू विश्व युवा दिवस मान्न पेरिसमा भेला भएको बेला अर्थात् अगस्त २३ र २४ का दिन फ्रान्समा विशेष प्रचार अभियानको प्रबन्ध मिलाइयो। यहोवाका लगभग २,५०० साक्षीहरूले (तिनीहरूमध्ये अधिकांश १६ देखि ३० वर्षभित्र पर्नेहरू थिए) अंग्रेजी, इटालेली, जर्मन, पोलिस, फ्रान्सेली, र स्पेनी भाषामा यस पुस्तिका १८,००० प्रतिहरू वितरण गरे।
त्यसैले हामी पनि आफ्नो सेवकाईमा सबैका लागि उपयोगी किताब शीर्षक भएको यस पुस्तिका निर्धक्क भई प्रस्तुत गरौं। व्यवहारिक मानिसहरूलाई बाइबल हर हालतमा तिनीहरूले एकपटक जाँचेर हेर्नैपर्ने किताब हो भनेर विश्वस्त गराउन यो प्रकाशन सफल हुनसकोस्।