राज्य उद्घोषकहरूका रिपोर्ट
हरेक अवसरको सदुपयोग गर्दै
यहोवाका साक्षीहरू आफ्नो बाइबल शैक्षिक कार्यका लागि विश्वभरि नै परिचित छन्। तर तिनीहरू समाजलाई फाइदा हुने कार्यक्रमहरू पनि संचालन गर्छन्। यो जनसेवालाई मानिसहरूले राम्ररी स्वीकारेको इक्वेडरका निम्न अनुभवहरूले देखाउँछ।
▫ एउटा ठूलो सिसा कारखानाको व्यवस्थापनले आफ्ना कामदारहरूका निम्ति पारिवारिक मूल्यबारे प्रवचनको प्रबन्ध गर्न चाहेछ। मानव सीप तथा क्षमताका संचालकले केही क्याथोलिक पादरीहरूलाई भाग लिन निम्त्याएछन् तर केही फाइदा भएन। यस विषयमा भाषण दिन दक्ष पादरीहरू कमै मात्र भएकाले कोही पनि त्यसरी प्रवचन गर्न नआउने विचार एक जना पादरीले पोखे। यो सुनेर त्यहाँ जागिर खाने यहोवाकी साक्षीले व्यापार इलाकामा काम गर्ने भाइलाई उक्त कारखानामा पनि आउने प्रबन्ध मिलाइन्।
भोलिपल्टै ती साक्षी भाइले अध्ययन कार्यक्रम पेश गर्न मानव सीप तथा क्षमताका संचालकलाई भेटे। वाच टावर सोसाइटीका विभिन्न प्रकाशनहरूबाट विषयहरू छानिए। त्यस संचालक औधी प्रभावित भए। तिनले तीनवटा विषय छाने: मानव सम्बन्ध, कार्यालयमा हुनुपर्ने नैतिकता र परिवारमा नैतिकता। प्रत्येक विभागका सम्पूर्ण कामदारहरूसित यो जानकारी विचारविमर्श गरिने प्रबन्धहरू मिलाइए।
प्रत्येक ३० जना कामदारहरूको सातवटा समूह बनाइयो र तीन जना योग्य भाइहरूले उक्त जानकारी प्रस्तुत गरे। यसको परिणाम? निकै कामदारहरूले तिनीहरूको घरैमा फेरि कुरा गर्न मिल्छ कि भनेर सोधे र २१६ वटा बाइबल अध्ययन गर्ने साहित्यहरू वितरण गरियो। व्यवस्थापन यति प्रभावित भए, तिनीहरूले ती साक्षीहरूलाई यस्तै कार्यक्रमहरू फेरि फेरि गर्न सकिन्छ कि भनेर सोधे।
▫ हालै इक्वेडरको एउटा विद्यालयमा धर्म सिकाउन पाइने नियम पारित गरियो। एउटी मिसनरी बहिनीले प्राथमिक विद्यालयका महिला निरीक्षकलाई भेटेर नयाँ नियमको कस्तो प्रभाव परिरहेको छ भनेर सोधिन्। त्यस निरीक्षकले मरियमको उपासना गर्ने सम्बन्धमा कार्यक्रम संचालन गर्न खोजिएको तर खास केही गर्न नसकेको बताइन्। यस्तो उपासनाले गैरक्याथोलिक बच्चाहरूका निम्ति समस्या खडा गर्नसक्छ भन्ने टिप्पणी उक्त बहिनीले गर्दा निरीक्षकले समर्थन जनाइन्। “तर,” मिसनरी बहिनीले भनिन्, “हामी बाइबलबाट नैतिक सिद्धान्तहरू सिकाउने कार्यक्रम संचालन गर्छौं र यसले त्यही धर्म अपनाउनुपर्छ भनेर बाध्य पार्दैन।” निरीक्षकले जवाफ दिइन्: “त्यसोभए, तपाईं कहिलेदेखि आउन सक्नुहुन्छ? पर्सीदेखि नै सक्नुहुन्छ?” उक्त मिसनरीले तिनलाई महान् शिक्षकको कुरा सुन्ने (अंग्रेजी) पुस्तक देखाएपछि “धन्य मेल-मिलाप गराउनेहरू” भन्ने विषय छलफल गर्ने निधो गरियो।
अर्को पटक आउँदा मिसनरी बहिनीले सातवटा कक्षाहरूमा जम्माजम्मी तीन घण्टा बिताइन् र ती सबै कक्षा लिंदा त्यस निरीक्षकसँगै थिइन्। पाँचौं कक्षामा छलफलपछि एक जना विद्यार्थीले भने: “मिस, कक्षा छमा जान नबिर्सनुहोस् है। तिनीहरू सधैं हामीलाई कुट्छन् र हामीसित झगडा गर्न खोज्छन्!” एउटी शिक्षिकाले टिप्पणी गरिन्: “हिंसाबारे छलफल गर्नु जरुरी भइसक्यो। यसबारे छलफल गर्न हामीलाई अझ धेरै समय चाहिन्छ।”
आज्ञाकारिता र झूट बोल्नेजस्ता विषयहरूमा छलफल गर्न त्यस विद्यालयमा पुनःभेटको प्रबन्धहरू पनि मिलाइए। जहाँसम्म परिणामको कुरा छ, ती निकै चित्तबुझ्दा छन्। अहिले मिसनरी बहिनीलाई बाटोमा भेट्दा त्यस विद्यालयका केटाकेटीहरूले अभिवादन गर्छन् र बाइबलसम्बन्धी प्रश्नहरू सोध्छन्। अरू कतिपय भने तिनलाई आफ्ना आमाबाबुसित परिचित गराउन पाउँदा दंग पर्छन्। यसबाहेक, दुई जना विद्यार्थीसित त गृह बाइबल अध्ययन पनि सुरु गरिएको छ।