राज्य उद्घोषकहरूका रिपोर्ट
विनम्र भई यहोवाको मार्गमा चल्ने
“हे पृथ्वीका दीन जन हो, . . . परमप्रभुको खोजी गर।” हिब्रू अगमवक्ता सपन्याहले २६ शताब्दीअघि गरेका यस आग्रह अझै पनि सारा संसारभरिका मानिसहरूको निम्ति खुला छ। (सपन्याह २:३) यहोवाको खोजी गर्नुको अर्थ के हो? सर्वप्रथम, एक मात्र साँचो तथा जीवित परमेश्वर, यहोवाको ज्ञान लिनुपर्छ।—यर्मिया १०:१०; यूहन्ना १७:३.
तर ज्ञान लिंदैमा मात्र परमेश्वरसमक्ष स्वीकारयोग्य हुने होइन। परमेश्वरको अनुग्रह पाउन यो ज्ञान व्यवहारमा उतार्नुपर्छ। कसरी? विनम्र भई परमेश्वरको स्तरअनुरूपको सोचाइ तथा आचरण कायम गरेर, जस्तै सुरिनामको यो अनुभवलाई विचार गर्नुहोस्।—एफिसी ४:२२-२४.
तीस वर्ष नाघिसकेका एडी नाउँका शिक्षक यी प्रश्नहरूको सन्तोषजनक जवाफको खोजीमा थिए: ‘वर्तमान समाजमा धर्मले कस्तो भूमिका खेल्छ?’ र ‘के पुरातन पुस्तक बाइबलले आधुनिक विज्ञानलाई समर्थन गर्छ?’ यहोवाका साक्षीहरू आएर यी प्रश्नहरूका बाइबल आधारित जवाफ दिंदा एडीले ध्यान दिएर सुने। साक्षीहरूले बताएका कुराहरू जाँच्न टिपोटसमेत लिए।
यसअघि, परमेश्वरले बाँदरहरूको सबैभन्दा विकसित रूपमा मानव बनाउनुभयो भनी सिकाउने धर्मसित एडी सम्बद्ध थिए। अतः साक्षीहरूले जीवन—कसरी सुरु भयो? विकासवादबाट वा सृष्टिबाट? (अंग्रेजी) भन्ने पुस्तक दिंदा सहजै स्वीकारे। उक्त पुस्तक मार्फत सृष्टिबारे बाइबलको सुस्पष्ट जानकारीले तिनी प्रभावित भए। बाइबल अध्ययन गरेपछि आफूले सच्चाइ पाएको कुरामा तिनी विश्वस्त भए!
तर अब तिनले एउटा परीक्षा सामना गर्नुपऱ्यो। एडी बस्ने डेरामा चोरी तथा बेइमानी सामान्य कुराहरू थिए। त्यसकारण, तिनले छनौट गर्नुपऱ्यो: साथीहरूको भ्रष्ट जीवनशैलीअनुसार हिंड्ने वा त्यस्तो आचरण त्यागेर परमेश्वरको महिमा हुने जीवनशैली अपनाउने। बुद्धिमानीपूर्वक एडीले पछिल्लो चाहिं छाने। तिनले त्यो डेरा छोडेर खराब संगत चटक्कै त्यागे।—१ कोरिन्थी १५:३३, ३४.
राज्यभवनका सभाहरूमा उपस्थित हुन थालेपछि एडीले छिटोछिटो प्रगति गर्न थाले। तिनले आफ्नो पहिरन तथा कोरीबाटी पनि छाँटकाँट गरे अनि आफूले सिकिरहेका कुराहरू साथी तथा नातेदारहरूलाई बताउन थाले। पछि खुल्लमखुल्ला “सुसमाचार” प्रचार गर्ने कार्यमा भाग लिन योग्य हुँदा खुसीले तिनको खुट्टा भुइँमा रहेन। (मत्ती २४:१४; प्रेरित २०:२०) तिनले निकै प्रतीक्षा गरेका दिन पनि आइपुग्यो। त्यस दिन, डिसेम्बर १९९६ मा तिनले यहोवाप्रति आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा देखाए।
वर्षेनी इमानदार हृदय भएका सयौं हजार मानिसहरू “परमप्रभुको खोजी” गर्ने निमन्त्रणा स्वीकार्छन्। फलतः तिनीहरूले हितोपदेश २२:४ को सत्यता अनुभव गर्छन्। त्यहाँ यसो भनिएको छ: “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्।” हो, विनम्र भई यहोवाको मार्गअनुसार हिंड्दा सत्यका प्रेमीहरूले अहिले त्यस्ता आशिष्हरू पाउँछन् र यसै पृथ्वीमा भावी अनन्त आशिष्हरू पाउनेछन् भनी निर्धक्क हुनसक्छन्।—भजन ३७:२९.
[पृष्ठ १८-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
क्यारीबियन समुद्र
सुरिनाम
गायना
फ्रेन्च गायना
ब्राजिल
[स्रोत]
पृथ्वी: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.