के तपाईं उचित र अनुचित छुट्याउन सक्नुहुन्छ?
“मेरो हातबाट लगभग २५ जना मानिसहरूको हत्या भएको थियो। हर दिन हर घडी. . . मेरो मन मस्तिष्कमा त्यही घटनाको दृश्य झलझली आइरहन्छ। मलाई दुःस्वप्नले सताउँछ। यताउति कतै जाँदा मैले मारेका मानिसहरूको आलो सम्झना दिलाउने अनुहारहरू देख्छु। मलाई त्यो घटना आजै, भर्खरै भएजस्तो लाग्छ।. . . त्यो कुकर्मको लागि म आफूलाई कहिल्यै क्षमा गर्न सक्दिनँ।”—भी. एस.
“मलाई त्यहाँ गएर शत्रु सखाप पार्ने आज्ञा भयो। . . . शत्रु—पुरुष, स्त्री तथा केटाकेटी जोसुकै होऊन्, वास्तै गरिनँ। . . . त्यतिबेला मलाई लाग्यो, अह्राएको काम गरें र अझै त्यस्तै लाग्छ। मैले आज्ञा पालन गरेको हुँदा त्यसलाई अनुचित ठान्दिनँ।”—डब्ल्यु. सी.
माथि उल्लिखित दुई पुरुषहरूले मार्च १६, १९६८ मा पछि कुख्यात नाउँ कमाएको युद्ध अपराधमा भाग लिएका थिए। ती दुई र अरू सिपाहीहरूले भियतनामको सानो गाउँमा पसेर के आइमाई के केटाकेटी र वृद्धजन सयौं गाउँलेहरूको हत्या गरे। तर यी दुई सिपाहीहरूको बेग्लाबेग्लै प्रतिक्रियालाई याद गर्नुहोस्। पहिलो सिपाहीलाई आफूले गरेको कार्यले पोल्नसम्म पोलेको स्पष्ट देखिन्छ। दोस्रोले चाहिं आफ्नो कार्य उचित हो भन्ठान्छ। घटना एउटै भए तापनि यी दुई मानिसहरूको प्रतिक्रिया कसरी यत्ति बेग्लाबेग्लै?
यो कुरा, परमेश्वरले हामीलाई आफू स्वयं र हाम्रा कार्य तथा अभिप्रायहरू निष्कपटसाथ जाँच्न दिनुभएको क्षमता अर्थात् अन्तस्करणमा भर पर्छ। अन्तस्करण भनेको उचित र अनुचित महसुस गर्ने हाम्रो भित्री अनुभूति हो।
कतिपय मानिसहरू निर्णय गर्नुपर्दा “अन्तस्करण चलाऊ” भन्ने भनाइ सम्झने गर्छन्। तथापि, दुःखको कुरा, अन्तस्करण जहिलेतहिले भरपर्दो हुँदैन। हो, थुप्रैले आ! जेसुकै होस् मलाई के वास्ता भन्ने मनोवृत्ति लिएका छन् र घोर अत्याचारहरू गरेका छन्। तिनीहरूलाई आफ्नो अन्तस्करणले पटक्कै घोचेको छैन। (यूहन्ना १६:२; प्रेरित ८:१) एक पटक बेलाइती उपन्यासकार समुएल बटलरले भनेझैं अन्तस्करणको कुरा “सुन्न नचाहनेहरूसित यो तुरुन्तै बोल्न छोड्छ।”
के तपाईं आफ्नो अन्तस्करणमा भरोसा गर्न सक्नुहुन्छ? यसको जवाफ मुख्यतः अन्तस्करणलाई कत्तिको राम्ररी प्रशिक्षण दिइएको छ, त्यसमा भर पर्छ। जुन कुरा हामी अर्को लेखमा हेर्नेछौं।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
माथि देखाइएको युद्धको दृश्य: U.S. Signal Corps photo