“आफूसित भएको कुरालाई पक्रिराख्नुहोस्”
एक हूल साक्षीहरूले ग्रीसको किक्लाथस द्वीपका लगभग ३० द्वीपहरूमध्ये एउटामा प्रचार गरिरहेका थिए। तीमध्ये दुई जनाले सडक छेउछाउका घरहरूमा प्रचार गरिरहेका बेला एक जना प्रहरीलाई भेट्टाए र तिनले तिनीहरूलाई तिनको पछि पछि प्रहरी चौकीमा आउनू भने। तिनीहरू प्रहरी चौकीमा पुगेका मात्र के थिए, टेलिफोनको घण्टी बज्यो। गाउँको पादरीले फोन गरेका रहेछन्। तिनले फोनमा भने, “यस गाउँमा यहोवाका साक्षीहरू आएका छन् भनेर मैले सुनें, ठीक हो?” त्यस प्रहरीले जवाफ दिए, “हो, यहाँ मसित दुई जना छन्।” पादरीले भने, “म तुरुन्तै त्यहाँ आउनेछु।” वार्तालाप सुनेर ती भाइहरू अलि सशंकित भए।
तथापि, ती पादरी आए र मुस्कुराउँदै हात मिलाएर त्यस प्रहरीको छेउको मेचमा बसे। कुराकानीको दौडान त्यो प्रहरी झोकिन थाल्यो तर ती पादरी कोमल र शिष्ट भएर बोलिरहे। साक्षीहरूलाई नहेप्नू भनेपछि तिनले त्यस प्रहरीलाई अझ यसो भने: “उहाँहरूले ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट प्रशिक्षण पाउने हुनाले कुनै पनि प्रश्नको उत्तर दिन सक्नुहुन्छ। यहोवाका साक्षीहरूको विश्वास परिवर्तन गर्नुभन्दा बरु आकाशको तारा खसाल्नु सजिलो होला।”
अर्को बिहान प्रचार गरिरहेका बेला ती भाइहरूले त्यस पादरीलाई फेरि भेटे र सोधे: “प्रहरी चौकीमा हामीसित मित्रैलो भएर कुराकानी गर्नुभएकोले हामी त छक्कै पऱ्यौं। यसको कारण केही होला कि?” पादरीले आफू सिरोसमा थुप्रै साक्षीहरूसित परिचित भएको र धेरै वर्षदेखि प्रहरीधरहरा र ब्यूँझनुहोस्! पढ्दै आइरहेको बताए। वास्तवमा, तिनले निकै पटक प्रहरीधरहरा-लाई लुकाएर चर्चमा उपदेश दिंदा प्रयोग गरेका रहेछन्। तिनले बताए: “मलाई लाग्छ, तपाईंहरूको साहित्य नपाएको भए मेरो जीउनुको सार्थकता नै रहनेथिएन। मलाई आशा दिने कुरा नै यही हो।”
पछि, पादरीले ती साक्षीहरूलाई भने: “तपाईंहरूलाई एउटा कुरा भनी हालूँ है। आफूसित भएको कुरालाई पक्रिराख्नुहोस्। यसलाई छोड्ने गल्ती कहिल्यै नगर्नुहोला। अहिले तपाईंहरूलाई म जे भन्दैछु त्यो मेरो सर्वोत्कृष्ट उपदेश हो र यो मुखबाट मात्र नभई हृदयको गहिराइबाट भन्दैछु।”