“कसले बादललाई बुद्धि दियो?”
“जब तिमीहरू बादल पश्चिमतिर उठ्तै गरेको देख्तछौ, तब झट्टै तिमीहरू भन्दछौ, ‘पानी आउँछ,’ र त्यसै हुन्छ। औ जब दक्षिणी बतास चल्छ तब तिमीहरू भन्छौ, ‘ज्यादै गर्मी हुनेछ,’ औ त्यसै हुन्छ।” सुसमाचार लेखक लूकाले लिपिबद्ध गरेका येशूका उक्त शब्दहरू प्राचीन प्यालेस्टाइनमा मौसमबारे पूर्वानुमान लगाउने गरिन्थ्यो भन्ने उदाहरणहरू हुन्। (लूका १२:५४, ५५) प्राचीन समयका मानिसहरूले कहिलेकाहीं चिह्नहरू पढेर आइपर्न लागेका घटनाहरूबारे सही पूर्वानुमानहरू लगाउनसक्थे।
आज मौसमविद्हरू मौसमबारे पूर्वानुमान लगाउन पृथ्वीको परिक्रमा गर्ने उपग्रह, डोप्लर रेडार तथा जटिल कम्प्युटरजस्ता जटिल उपकरणहरू प्रयोग गर्छन्। तर तिनीहरूका पूर्वानुमानहरू अक्सर गलत हुन्छन्। किन?
थुप्रै कारणहरूले गर्दा मौसमबारे सही पूर्वानुमान लगाउन गाह्रो हुन्छ। उदाहरणका लागि, तापक्रम, आर्द्रता, हावाको चाप अनि बतासको गति र बहने दिशामा अप्रत्याशित हेरफेर हुने हुँदा मौसमबारे पूर्वानुमान लगाउन निकै कठिन हुनसक्छ। यसबाहेक, सूर्य, बादल अनि समुद्रहरूको जटिल अन्तरक्रिया पनि छन् जसको विषयमा वैज्ञानिकहरूलाई अझ राम्रो ज्ञान छैन। यसैकारण, विज्ञानद्वारा मौसमबारे सही पूर्वानुमान लगाउन सकिएको छैन।
मौसमबारे मानिससँग सीमित ज्ञान छ। यसले हामीलाई अय्यूबलाई सोधिएको प्रश्नको सम्झना दिलाउँछ: “शीतको थोपालाई जन्माउने बाबु को हो? कसको गर्भले हिउँलाई जन्मायो? . . . पानीको भारले तँलाई छोपोस् भनी के घनघोर बादललाई तैंले हुकूम गर्नसक्छस्? . . . कसले . . . बुद्धि दियो? कसले भालेलाई पूर्व–ज्ञान दियो? को यस्तो बुद्धिमानी छ जसले बृद्धिको मेघलाई जम्मा गर्छ, र आकाशमा भएको भण्डारलाई रित्याउँछ?”—अय्यूब ३८:२८-३७.
उक्त प्रश्नहरूको जवाफ मानिसले होइन यहोवा परमेश्वरले मात्र दिन सक्नुहुन्छ। हो, मानिसहरू जति नै बुद्धिमान् देखिए तापनि हाम्रो सृष्टिकर्ताको बुद्धि कता हो कता उत्कृष्ट छ। उहाँले आफ्नो बुद्धि बाइबलका पृष्ठहरूद्वारा हामीलाई दिनुभएर माया गर्नुभएको छ। त्यो बुद्धिद्वारा हामी आफ्नो जीवनमा सफलता प्राप्त गर्नसक्छौं।—हितोपदेश ५:१, २.