सिमोनीदेखि होसियार!
सामरियाका सिमोन सा.यु. प्रथम शताब्दीका एकदमै प्रतिष्ठित व्यक्ति थिए। तिनको जादूगरीले मानिसहरू यत्ति मोहित हुन्थे कि तिनीहरू यसो भन्थे: “परमेश्वरको महा भन्ने शक्ति चाहिं यही हो।”—प्रेरित ८:९-११.
तथापि, बप्तिस्माप्राप्त मसीही भएपछि शिमोनले आफूसँग पहिले भएको भन्दा अझ ठूलो शक्ति पनि रहेछ भनेर थाह पाए। त्यो हो, येशूका प्रेरितहरूलाई दिइएको शक्ति। त्यसै शक्तिद्वारा तिनीहरू अरूलाई पवित्र आत्माको चमत्कारी वरदान दिन्थे। त्यो शक्तिद्वारा शिमोन यत्ति साह्रो प्रभावित भए कि तिनले प्रेरितहरूलाई पैसा दिएर बिन्ती गरे: “मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जो सुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्।”—प्रेरित ८:१३-१९.
प्रेरित पत्रुसले तिनलाई हकारेर यसो भने: “तेरा रुपियाँ तैसँग नष्ट भइजाऊन्, किनकि परमेश्वरको वरदान पनि रुपियाँले पाइन्छ भनी तँ विचार गर्छस्। यस विषयमा नता तेरो केही भाग छ न हिस्सानै छ, किनकि परमेश्वरको सामने तेरो हृदय ठीक रहेनछ।”—प्रेरित ८:२०, २१.
बाइबलको यही विवरणबाट “सिमोनी” भन्ने अंग्रेजी शब्द आएको हो। यसको अर्थ “पैसा दिएर अथवा लिएर चर्चमा पदाधिकार वा पदोन्नति हासिल गर्नु वा दिनु” हो। खासगरि, नवौं शताब्दीदेखि ११ औं शताब्दीभित्र “विहारहरू, निम्न दर्जाका पादरी, विशपद्वारा शासित सरकार र पोपहरूमा समेत सिमोनी व्याप्त भयो” भनी न्यु क्याथोलिक इनसाइक्लोपीडिया बताउँछ। दी इनसाइक्लोपीडिया ब्रिटानिका-को नवौं संस्करण (१८७८) यसो भन्छ: “चर्चमा हुने प्रत्येक चुनाउका कारक सिमोनीहरू हुन् भनेर विद्यार्थीहरूले पोपहरूको गोप्य सभाहरूको इतिहास अध्ययन गरेर मानिलिएका छन्। ती गोप्य सभाहरूमा प्रायः खुलेआम अनि साह्रै घिनलाग्दा ढंगमा सिमोनी गरिन्थ्यो।”
आज साँचो मसीहीहरू सिमोनीदेखि होसियार हुनैपर्छ। उदाहरणका लागि, कसै कसैले आफूलाई थप कार्यभार दिनसक्ने व्यक्तिको धेरै प्रशंसा गर्न वा उदार भएर उपहारहरू दिनसक्छन्। अर्कोतर्फ, थप कार्यभार दिनसक्ने व्यक्तिले चाहिं आफूलाई उपहार दिनसक्ने वा दिन चाहनेहरूलाई काखी च्याप्नसक्छन्। यी दुवै सिमोनी हुन् र बाइबलले यस्तो कामलाई सरासर निन्दा गर्छ। पत्रुसले शिमोनलाई यसो भने: “यसकारण तेरो यस दुष्टताको निम्ति पश्चाताप गरीकन प्रभुमा प्रार्थना गर्, सायद तेरो हृदयको विचार [“तेरो नियत,” न्यु जेरूशलेम बाइबल] क्षमा भइजाला कि? किनकि तँ तिक्त ईर्ष्या र पापको बन्धनमा परेको देख्तछु।”—प्रेरित ८:२२, २३.
खुसीको कुरा, शिमोनले आफ्नो गलत इच्छाको गम्भीरता बुझे। तिनले प्रेरितहरूलाई यसरी बिन्ती गरे: “तपाईंहरूलेनै मेरो निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुराहरू ममाथि आइ नलागोस्।” (प्रेरित ८:२४) यस वृत्तान्तमा पाइने महत्त्वपूर्ण पाठलाई ध्यान दिंदै साँचो मसीहीहरू सिमोनीदेखि पूर्णतया अलग रहने कोसिस गर्छन्।