तपाईंले कस्तो नाउँ कमाउनु भएको छ?
बाइबलमा “नाउँ” शब्दले कहिलेकाहीं कसैको प्रतिष्ठा भन्ने जनाउँछ। उदाहरणका लागि बुद्धिमान् राजा सुलेमानले लेखे: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।” (उपदेशक ७:१; तुलना गर्नुहोस् हितोपदेश २२:१) सुलेमानका यी शब्दहरूअनुसार कसैले पनि जन्मजात असल नाउँ लिएर आएको हुँदैन। बरु, आफ्नो जीवनकालमा अर्थपूर्ण प्रतिष्ठा हासिल गर्न सक्छ। नाउँले नै उदार अथवा स्वार्थी, टिठालु वा निष्ठुर, नम्र वा हठी, धर्मी वा अधर्मी भन्ने व्यक्तिगत गुणहरू समेत चिन्न मदत गर्दछ।
दाऊदलाई विचार गर्नुहोस्। तिनले आफ्नो राज्यकालभरि आफूलाई बलियो र दरिलो साबित गरे। साथै तिनले, आफ्ना गल्तीहरू नम्रतापूर्वक स्वीकारेर गम्भीर पापहरूका लागि पश्चात्ताप पनि गरे। यस्तो जायज कारणले गर्दा नै, यहोवाको अगमवक्ताले दाऊदलाई “[परमेश्वरले] रूचाउ[नु] भएको एउटा मानिस” भनी सम्बोधन गरे। (१ शमूएल १३:१४) जवान दाऊदले परमेश्वर समक्ष असल नाउँ कमाइसकेका थिए।
अर्कोतिर, यहूदियाका राजा योरामले आफ्नो नाउँ खराब बनाए। तिनले साँचो उपासनाको मार्ग त्याग्नुका साथै आफ्ना छ जना भाइहरू र यहूदाका केही राजकुमारहरूलाई पनि मारे। अन्ततः, यहोवाले तिनलाई पीडादायी रोगले पीडित पार्नुभयो, फलतः तिनी मरे। बाइबल भन्छ योरामको, “मृत्युमा कसैले शोक प्रकट गरेन” अथवा टुडेज इंग्लिस भर्सन यसरी व्यक्त गर्छ, “तिनी मर्दा कोही पनि दुःखी भएन।”—२ इतिहास २१:२०.
दाऊद र योरामको जीवनपद्धतिले बाइबलको यो हितोपदेशलाई स्पष्ट पार्दछ: “धर्मीहरूको सम्झना आशिष हो, दुष्टको नाउँ चाहिं सड़ेर जान्छ।” (हितोपदेश १०:७) तसर्थ, प्रत्येकले यो प्रश्नमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ, ‘मैले परमेश्वर र आफ्ना सहकर्मीहरू बीच कस्तो नाउँ कमाइरहेछु?’