के क्रिसमसले ख्रीष्टलाई पन्छाएको छ?
“क्रिसमसमा गरिने रमझम मैले अहिलेसम्म बुझ्न सकेको छैन। त्यो रमझम येशूको जीवन र शिक्षासित पटक्कै मेल खाँदैन।” — मोहनदास क. गान्धी।
गान्धीको यस कुराप्रति थुप्रैले असहमति जनाउनेछन्। ‘एक हिन्दू नेतालाई मसीही पर्वहरूबारे के थाह?’ भनी तिनीहरू भन्लान्। तर एउटा कुरा भने स्वीकार्नैपर्छ, संसारभरि सबै किसिमका संस्कृतिमा क्रिसमसले प्रभाव पारेको छ। हरेक साल डिसेम्बर महिनामा सबै संस्कृतिका मानिसहरूले नै क्रिसमस मनाइरहेको जस्तो देखिन्छ।
उदाहरणका लागि, झन्डै १४ करोड ५० लाख एसियालीहरूले क्रिसमस मनाउँछन्। यो गत दशकभन्दा चार करोडले बढी हो। अनि गान्धीले “रमझम” भनेर वर्तमान समयको क्रिसमसमा गरिने मोजमस्तीबारे बताइरहेका थिए भने आज हामीले पनि देख्ने तडकभडकपूर्ण उपभोग्य वस्तुहरू नै चाडको महत्त्वपूर्ण पक्ष हो भनी नकार्न सक्दैनौं। एसियावीक पत्रिका भन्छ: “एसियामा पनि क्रिसमस मुख्यतः मोजमस्ती (खुद्रा व्यापार) गर्ने अवसर हो र यो हङकङको उल्लासमय उज्यालो बत्तीहरूदेखि बेजिङका होटलहरूमा सजाइने ठूलठूला क्रिसमस रूखहरूदेखि लिएर सिंगापुरका शहरहरूमा पाइने येशूको जन्म तस्बिरहरूबाट प्रमाणित हुन्छ।”
के वर्तमान क्रिसमस उत्सवले ख्रीष्टलाई अलग्गै पन्छाएको छ? सा.यु. चौथो शताब्दीमा रोमन क्याथोलिक चर्चले येशूको जन्म मनाउने दिन तोकेको समयदेखि आधिकारिक रूपमा डिसेम्बर २५ मा क्रिसमस मनाउँदै आइरहेका छन्। तर हाल संयुक्त राज्यमा लिइएको सर्वेक्षणअनुसार ३३ प्रतिशतले मात्र ख्रीष्टको जन्म क्रिसमसको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भने।
तपाईंलाई कस्तो लाग्छ? के तपाईंलाई कहिलेकाहीं मालताल किन्न बाध्य तुल्याउने विज्ञापन, उपहारहरू किन्ने दौडधूप, रूख सजाउने, भोजहरू आयोजना गर्ने र भोजहरूमा उपस्थित हुने, क्रिसमसका शुभकामना कार्डहरू पठाउने सबै कार्यमा येशूलाई पन्छाएको जस्तो लाग्छ?
क्रिसमसमा ख्रीष्टलाई नबिर्सने एउटा तरिका ख्रीष्टको जन्म तस्बिर वा दृश्य प्रदर्शन गरेर हो भन्छन्। सायद तपाईंले पनि डुँडमा शिशु येशू र वरिपरि मरियम, युसूफ, केही गोठालाहरू, “तीन बुद्धिमान् पुरुष” वा “तीन राजा,” जनावरहरू र केही दर्शकहरू चित्रण गर्ने तस्बिर तथा स-साना मूर्तिहरू देख्नुभएको होला। साधारणतया यस्ता दृश्यहरूले मानिसहरूलाई क्रिसमसको वास्तविक अर्थ सम्झन मदत गर्छ भन्ने विश्वास गरिन्छ। यु. एस. क्याथोलिक-अनुसार “येशूको जन्म तस्बिरहरूले गैरऐतिहासिक पात्रहरूलाई जोड दिए तापनि यसले कुनै पनि सुसमाचार पुस्तकहरूले भन्दा अझ विस्तृत वर्णन गर्छ।”
तर, येशूका जन्म तस्बिरहरूले बाइबलको सुसमाचार पुस्तकहरूको विवरण गैरऐतिहासिक भनेर कसरी प्रमाणित गर्नसक्छ? अनौठो ढंगमा रंग लगाइएका स-साना आकृतिहरूले येशूको जन्म दन्तकथा हो कि भन्ने छाप पार्छ भनी स्वीकार्न करै लाग्छ। पहिलो चोटि १३ औं शताब्दीमा एक जना भिक्षुद्वारा लोकप्रिय गराइएको यस्तो जन्म तस्बिरहरू सुरुमा तडकभडकपूर्ण थिएनन्। आज, यस बिदासित सम्बन्धित अन्य थुप्रै कुराहरूजस्तै येशूको जन्म तस्बिरहरू पनि व्यापरिकरण भइसक्यो। इटाली, नेपल्समा वर्षभरि नै लाइनका लाइन पसलेहरूले ख्रीष्टको जन्म तस्बिरहरू वा प्रेजेपि बेच्छन्। त्यसमा समावेश गरिएका लोकप्रिय आकृतिहरू सुसमाचारका पुस्तकका पात्रहरू होइन तर आधुनिक समयका ख्याति प्राप्त व्यक्तिहरू जस्तै राजकुमारी डायना, मदर टेरेसा र पहिरन डिजाइनर जियानी भर्साचीका छन्। अरू कतै चकलेट, पास्टा र सिपीले प्रेजेपि बनाइएका हुन्छन्। यस्ता आकृतिहरूबाट ऐतिहासिक कुरा बुझ्न किन गाह्रो हुन्छ भनी तपाईं अब अनुमान लगाउन सक्नुहुन्छ।
उसोभए त्यस्ता तस्बिरहरूले कसरी “सुसमाचार पुस्तकहरूले भन्दा अझ विस्तृत वर्णन गर्छ”? के सुसमाचारका विवरणहरू साँच्चै ऐतिहासिक होइनन् र? सबैभन्दा कटु आलोचकहरूले पनि येशू वास्तविक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो भनी स्वीकार्न करै लाग्छ। अतः उहाँ पनि कुनै न कुनै वास्तविक ठाउँमा जन्मेको वास्तविक शिशु हुनुपर्छ। येशू जन्मनुभएको समयतिर भएका घटनाहरू अझ विस्तृत तवरमा बुझ्न ती जन्म दृश्यहरू हेर्नुभन्दा अझ उत्तम तरिका केही होलान्!
अवश्य छ। दुई इतिहासकारहरूले येशूको जन्मको विवरणहरूबारे छुट्टाछुट्टै विवरणहरू लेखे। कहिलेकाहीं तपाईंलाई क्रिसमसको समयमा ख्रीष्टलाई मानिसहरूले अलग्गै पन्छाएको जस्तो लाग्छ भने तपाईं आफैले ती विवरणहरू जाँचे कसो होला? त्यसमा तपाईंले दन्तकथा वा मिथ्या पाउनुहुन्न तर येशूको जन्मबारे वास्तविक मनमोहक कथा पाउनुहुनेछ।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
पृष्ठ ३-६, ८ र ९ को किनारा: Fifty Years of Soviet Art