राज्य प्रचारकहरूको रिपोर्ट
साँचो परमेश्वरको खोज सफल भयो
यहूदाका दुई कुललाई सा.यू.पू. दसौं शताब्दीताक झूठो धर्मले पूरै ढाकिसकेको थियो। तथापि, यस्तो मूर्तिपूजाले व्याप्त भएको ठाउँमा पनि परमेश्वरतिर मन लगाउने एक जना मानिस थिए। तिनको नाम यहोशापात थियो। तिनीबारे अगमवक्ता येहूले यसो भने: “तपाईंमा केही असल कुरो छ। . . . परमप्रभुबाट अगुवाइ खोज्न परमेश्वरतिर तपाईंले मन लाउनुभएको छ।” (२ इतिहास १९:३) त्यस्तैगरी, आज “डरलाग्दो समय” भए पनि लाखौं मानिसहरूले साँचो परमेश्वर यहोवाको खोजी गर्न ‘मन लगाइरहेका’ छन्। (२ तिमोथी ३:१-५) यो कुरा पश्चिम अफ्रिकाको टोगोबाट आएको निम्न अनुभवले स्पष्ट पार्दछ।
काजीमीर क्याथोलिक स्कूलमा भर्ना भए। पहिलोपल्ट कम्युनियनमा भेला हुँदा तिनी नौ वर्षका थिए। तथापि, १४ वर्ष पुगुञ्जेल तिनले चर्च धाउन छाडिसकेका थिए। यसले गर्दा आफूले पहिले सिकेअनुसार मासमा भेला नहुनु भनेको अग्निमय नरकमा नभए कमसेकम पापमोचन स्थानमा जानु हो भनेर तिनी डरैडरमा बाँचिरहेका थिए।
स्कूलमा हप्ताको एकचोटि बाइबल अध्ययन गर्ने जवान केटाकेटीहरूको समूहमा तिनी पनि सामेल भए। तिनी आफै पनि बाइबल पढ्नथाले। एकचोटि तिनले समूद्रबाट निस्केको डरलाग्दो जंगली जनावरबारे प्रकाशको पुस्तकमा पढे। (प्रकाश १३:१, २) तिनले आफ्ना बाइबल अध्ययन समूहका अगुवासित त्यसबारे सोध्दा, त्यो वास्तविक जन्तु हो र त्यो साँच्चै समूद्रबाट निस्कनेछ भन्ने जवाफ पाए। यस्तो जवाफले तिनलाई निकै समस्यामा पाऱ्यो किनभने तिनी आन्द्र महासागरको किनारमै बस्थे। अब त्यस जानवरको पहिलो सिकार आफू नै हुनेभयो भनी तिनलाई पक्का भयो।
त्यस जनावरदेखि बचेर उत्तरतिरको मरुभूमिमा भाग्न काजीमीरले पैसा जम्मा गर्न थाले। तिनले आफ्ना साथीलाई आफ्नो यस योजनाबारे बताए। त्यो साथी यहोवाका साक्षी भएकोले त्यस्तो कुनै जनावर समूद्रबाट आउने छैन भन्नेकुरा राम्ररी बुझाइदिए। त्यसको केही दिन भित्रै काजीमीरलाई राज्य भवनमा हुने सभाहरूमा उपस्थित हुन निम्तो दिइयो। तिनलाई सभाहरू असाध्यै रमाइलो लाग्यो अनि चाँडै नै नियमित तवरमा भेला हुनथाले। तिनले गृह बाइबल अध्ययन पनि गर्न थाले।
अध्ययनमा उन्नति गर्दै जाँदा पारिवारिक विरोध पनि सुरुभयो। तिनको परिवार पितृपूजा गर्थे अनि बलिदान चढाएर उब्रेका रगत ननिथारिएको मासु खान्थे। तर काजीमीरले नम्रतापूर्वक खान इन्कार गर्दा तिनलाई घरबाट निकाल्ने धम्की दिए। काजीमीर शान्त भएर बसे। तथापि, तीन महिनासम्म खानाको नाउँमा त्यस्तै रगत ननिथारिएको मासुमात्र बनाइयो। त्यस अवधिभर पुग्दो खान नपाए तापनि स्थिर रहे र अरु कठिनाइहरूका बाबजूद पनि दृढ भए।
काजीमीरले आध्यात्मिक उन्नति गर्दै गए र पछि समर्पण अनि बप्तिस्मा लिए। पछि, तिनी सेवकाई सेवक भए अनि टोगोमा सञ्चालित चौथो मिनीस्टरियल ट्रेनिङ स्कूलमा भाग लिए। अहिले तिनी शाखा कार्यालयमा आनन्दपूर्वक स्वयं सेवा गरिरहेका छन्।
साँच्चै, राजा दाऊदका यी शब्दहरू यो अनि यस्ता थुप्रै घटानाहरूमा एकदमै सत्य साबित भइरहेका छन्: “उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ।”—१ इतिहास २८:९.
[पृष्ठ ८-मा भएका चित्रहरू]
आनन्दपूर्वक शाखा कार्यलयमा स्वयं सेवा गरिरहेका काजीमीर ( दायाँ)