के तपाईं बिहे गर्ने विचार गर्दै हुनुहुन्छ?
विश्वभरि चलिरहेको सम्बन्ध विच्छेद गर्ने लहरलाई भूइँचालोसित दाँज्ने हो भने यसको केन्द्रबिन्दु संयुक्त राज्य हुनेछ। हालका वर्षहरूमा त्यहाँ दस लाखभन्दा बढी विवाहहरू अर्थात् हरेक एक मिनेटमा सरदर दुइटा विवाह टुक्रियो। तर असफल वैवाहिक जीवनको मार संयुक्त राज्यलाई मात्र परेको होइन भनी तपाईंलाई थाहै होला।
एउटा अध्ययनअनुसार क्यानाडा, बेलायत र वेल्स, फ्रान्स, ग्रीस, नेदरल्याण्ड्समा १९७० देखि सम्बन्ध विच्छेद गर्नेहरूको संख्या दुई गुणा बढेको छ।
युवकयुवतीबीच माया बसेकोले नै बाँकी जीवन सँगै बिताउने प्रण गर्दै बिहे गर्छन् भन्ठान्नु स्वाभाविकै हो। तर दुःखको कुरा, सुखी वैवाहिक जीवनको सपना, सपना मात्र रहन्छ। तथापि, सपनाको संसारबाट ब्यूँझेपछि तिनीहरूले चाँडै बिहे गरेको वा गलत मान्छे रोजेको वा दुइटै भनेका छन्।
किन यति धेरै विवाहहरू टुक्रिन्छन्? विवाहपूर्व गरिने भेटघाटबारे पुस्तककी लेखिका भन्छिन्: “मुख्य कारण त तयारीको कमी नै हो।” तिनी अझ यसो भन्छिन्: “वैवाहिक समस्याले पीडित दम्पतीहरूलाई भेट्दा मेरो मनमा दुई किसिमका भावनाहरू आउँछन्। ती हुन्, दया र रिस। मलाई दया लाग्छ किनभने तिनीहरूको सँगै मिलेर सन्तोषदायी जीवन बिताउने सपना साकार भएन। मलाई रिस उठ्छ किनभने तिनीहरूले यो कतिको जटिल छ भनेर बुझेकै हुँदैनन्।”
वास्तवमा, थुप्रै जना वैवाहिक जीवन कसरी सफल बनाउने भन्नेबारे विचारै नगरी बिहे गर्छन्। तर यो छक्कलाग्दो कुरा भने होइन। एक शिक्षकले यस्तो टिप्पणी गरे: “हाम्रा युवाहरू कलेजमा गएर मुसा तथा छेपारोबारे त पढ्छन् तर कति जनाले चाहिं श्रीमान् र श्रीमती भनिने दुई व्यक्तिहरूको बानीबेहोराबारे पढ्छन्?”
के तपाईं भविष्यमा हुने सम्भाव्य विवाहबारे वा आफ्नो भइसकेको बिहेबारे सोच्दै हुनुहुन्छ? त्यसोभए, तपाईंले वास्तविक जीवन चलचित्र, टेलिभिजन कार्यक्रम तथा प्रेम कथाहरूमा देखाइने भन्दा आकाश जमीनको फरक हुन्छ भनी बुझ्नुपर्छ। अनि साँचो प्रेम गर्ने दुई परिपक्व व्यक्तिको विवाह हुनु परमेश्वरको आशिष् नै ठानिन्छ। (हितोपदेश १८:२२; १९:१४) त्यसोभए, तपाईंले विवाहका जिम्मेवारीहरू वहन गर्न सक्नुहुन्छ वा सक्नुहुन्न, कसरी थाह पाउने? आफ्नो जीवनसाथी छान्दा कुन कुन कुरा विचार गर्नुपर्छ? वा तपाईं विवाहित हुनुहुन्छ भने चिरकालीन सुखमय जीवन कसरी बिताउने?