“पवित्र” क्षेत्रमाथि खिचातानी
रोमको पोपले सुरु गर्ने अनुमति दिएको पहिलो धार्मिक युद्धका लडाकुहरूले जुलाई १५, १०९९ मा यरूशलेमलाई कब्जा गरे। त्यतिखेर डरलाग्दो मारकाट भयो! राज्यपाल र तिनको अंगरक्षकबाहेक अरू कोही बचेनन्। ठूलो रकम घूस नदिएका भए तिनीहरू पनि बच्ने थिएनन्। एन्टोनी ब्रीज भन्ने पादरीले आफ्नो किताब धार्मिक युद्ध-मा (अंग्रेजी) बाँकी मुसलमान अनि यहूदीहरूलाई के भयो भन्नेबारे यस्तो रिपोर्ट गरेका छन्: “धार्मिक युद्धका लडाकुहरूलाई शहरभित्र जथाभावी गर्न दिएपछि, तिनीहरूले निर्ममतापूर्वक मानिसहरूलाई मारे। . . . तिनीहरूले शहरभित्र भेट्टाएका पुरुष, स्त्री, केटाकेटी सबैलाई मारे। . . . मार्न कोही नभेटेपछि यी विजयी लडाकुहरू शहरका सडकहुँदो जुलुस निकाल्दै . . . परमेश्वरलाई धन्यवाद चढाउन पवित्र सेपुल्चर चर्चतर्फ लागे।”
मसीहीजगत्ले धार्मिक युद्ध लडेर यरूशलेमलाई हात पारेदेखि रोमन क्याथोलिक, इस्टर्न अर्थोडक्स अनि अरू मसीही धर्म भनौंदाहरूबीच खिचातानी सुरु भयो। सन् १८५० मा यरूशलेमका पवित्र क्षेत्र र वरपरका इलाकालाई लिएर चर्चका नेताहरूबीच विवाद मच्चिएकोले क्रिमियाको युद्ध भएको थियो। बेलायत, फ्रान्स अनि टर्की मिलेर रुस विरुद्ध लडे। यस युद्धमा पाँच लाख मानिसहरूले ज्यान गुमाए।
तर यो युद्धले यरूशलेम र त्यसका पवित्र क्षेत्रहरूबारे सुरु भएको मसीहीजगत्को मतभिन्नतालाई अन्त गरेन। तत्कालीन मुसलमान तुर्की सरकारले विभिन्न धर्महरूलाई पवित्र क्षेत्र भागबण्डा लगाएर समस्या समाधान गर्न खोजे। डाक्टर मनास हारेल आफ्नो किताब यो यरूशलेम हो-मा (अंग्रेजी) यसबारे यस्तो टिप्पणी गर्छन्: “यो सिद्धान्तलाई . . . संयुक्त राष्ट्र संघले पनि नोभेम्बर १९४७ को विभाजन प्रस्तावना राखेर मानिलिएको थियो। यसप्रकार यो अन्तरराष्ट्रिय नियम हुन गयो।” फलस्वरूप, पवित्र सेपुल्चेर चर्चलाई रोमन क्याथोलिक, ग्रीक अर्थोडक्स, आरमेनियाली, सिरियाली र कप्टहरूमा भागबण्डा लगाइसकिएको छ। अन्ततः इथोपियालीहरूले समेत आफ्ना केही सदस्यहरूलाई चर्चको छतमाथि डेरा जमाउन लगाएर चर्चमाथि आफ्नो दावा गर्न थाले। थुप्रै मानिसहरू पवित्र सेपुल्चेर चर्चलाई मसीहीजगत्को सबैभन्दा पवित्र स्थल मान्छन्। यहाँ सन्तहरूको चिहान, मूर्ति अनि प्रतीकहरू पाइन्छन्। पवित्र क्षेत्र भनौंदो अर्को ठाउँ, गर्डन्स क्याभलरीलाई केही प्रोटेस्टेन्टहरू येशूलाई प्राणदण्ड दिइएको अनि गाडिएको ठाउँ मान्छन्।
धेरै समयअघि, पवित्र क्षेत्रहरूमाथि विश्वास राख्ने एउटी आइमाईलाई येशूले भन्नुभएको थियो: “त्यो बेला आउँदैछ, जब तिमीहरू नता यस डाँड़ामा, न यरूशलेममा, पितालाई पुज्नेछौ। . . . साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्।” (यूहन्ना ४:२१-२४) त्यसैकारण, मसीहीहरू पवित्र क्षेत्रहरूको श्रद्धा गर्दैनन्। सा.यु. ७० मा रोमी सेनाहरूले गरेको अविश्वासी यरूशलेमको विनाश मसीहीजगत्को लागि चेताउनी हो। मसीहीजगत्ले मसीही हुने दाबी गरे तापनि त्यसको मूर्तिपूजा, विभाजन अनि रक्तदोषले त्यसलाई झूटो प्रमाणित गर्छ। तसर्थ, परमेश्वरले महान् बेबिलोन लगायत सबै धर्महरूको जुन हविगत हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो, त्यसबाट कदापि त्यो उम्कन सक्नेछैन।—प्रकाश १८:२-८.