राज्य उद्घोषकहरूका रिपोर्ट
‘समय र बेसमयमा’ प्रचारकार्य
बोस्निया तथा हर्जगोभिनाभरि युद्ध चर्कंदाँ हजारौंले धेरै कठिनाइहरू भोग्नुपऱ्यो। यस कठिन परिस्थितिमा मानिसहरूलाई प्रोत्साहन तथा आशाका कुरा सुनाउन यहोवाका साक्षीहरूले हर प्रयास गरे। निम्न पत्र सारायभोमा सेवारत् एक साक्षीले लेखेका हुन्।
“यहाँ जीवन धान्न अत्यन्तै गाह्रो भए तापनि मानिसहरूले बाइबल सत्य सुन्छन्। स्थानीय साक्षीहरूले लगनशीलताको अत्युत्तम उदाहरण बसालेका छन्। भौतिक तवरमा उनीहरूसित केही छैन भने पनि हुन्छ तर उनीहरूको जोस अत्यन्तै राम्रो छ। मण्डलीका प्रायजसो सबै जवानहरू पूर्ण-समय सेवामा छन्। नयाँ प्रकाशकहरू पनि त्यस्तो जोस देखेर प्रोत्साहित हुन्छन् र सेवकाईमा गएको पहिलो महिनादेखि नै ६० वा त्योभन्दा धेरै घण्टा बुझाउनु असामान्य कुरा होइन।
“घरघरमा प्रचार गर्नुको अलावा हामीले मानिसहरूलाई भेट्न अन्य तरिकाहरू पनि अपनाएका छौं। उदाहरणका लागि, शहरका विभिन्न चिहानहरूमा गएर बाइबल साहित्यहरू बाँड्दा पनि राम्रो नतिजा पाएका छौं।
“अस्पतालहरूमा पनि साक्षी दिइएका छन्। सारायभो अस्पतालमा मुटु रोगसम्बन्धी विभाग प्रमुखले “हृदयघात—त्यसबाट जोगिन के गर्न सकिन्छ?” भन्ने शीर्षक भएको जनवरी ८, १९९७ को ब्यूँझनुहोस्! पनि स्वीकारे। अन्य चिकित्सकहरूलाई पनि दिन तिनले थप प्रतिहरू मागे। त्यसपछि साक्षीहरूलाई तिनको विभागका सबै बिरामीहरूलाई भेट्न अनुमति दिइयो। अतः एक घण्टा नबित्दै सबै बिरामीहरूलाई भेटेर १०० भन्दा बढी प्रतिहरू वितरण गरियो। थुप्रै बिरामीहरूले तिनीहरूलाई यसरी अस्पतालमा कोही आएर प्रोत्साहन तथा आशाका कुराहरू बताउन आएको पहिलो पल्ट हो भने।
“अर्को समयमा बच्चाहरूको निम्ति उपयुक्त लेखहरू भएको पत्रिकाहरू लिएर बालहरूको विभागमा गइयो। त्यहाँको विभाग प्रमुखले बाइबलका कथाहरू भएको मेरो पुस्तक-का केही प्रतिहरू पनि स्वाकारिन्। अहिले बच्चा कुरुवा बसिरहेका आमाहरूले हरेक दिन बाइबल कथाहरू पढेर सुनाउँछन्। यस चिकित्सकको घरमा जान पनि प्रबन्ध मिलाएका छन्।
“सारायभोमा विभिन्न मुलुकबाट आएका नेटोका [उत्तर एटलान्टिक सन्धि संगठन] हजारौं सेनाहरू पनि छन्। तिनीहरूले पनि विस्तृत साक्षी पाएका छन्। कहिलेकाहीं हामी सबै मानिसहरूका लागि सुसमाचार पुस्तिका (अंग्रेजी) तथा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका लिएर सबै सशस्त्र गाडीहरूमा मानिसहरू भेट्न जान्छौं। इटालेली सेनाहरू भएका ब्यारेकमा २०० भन्दा बढी प्रतिहरू वितरण गरियो। अचम्मको कुरा थुप्रै इटालेली सेनाहरूले यहोवाका साक्षीहरूसित कहिल्यै कुरा गरेका रहेनछन्। जेहोस् हामीले उनीहरूलाई यहाँ भेट्यौं।
“एक दिन एउटा सशस्त्र गाडी सडक छेउ रोकिएको थियो। मैले छाताले ढोकामा ढकढक गर्दा एक जना सेना बाहिर निस्क्यो। मैले तिनलाई ‘शान्तिका सन्देशबाहकहरू—तिनीहरू को हुन्?’ भन्ने आवरण शीर्षक भएको प्रहरीधरहरा देखाएँ। त्यस सेनाले मलाई हेरे अनि यसो भने, ‘कतै तपाईं यहोवाको साक्षी त हुनुहुन्न?’ म यहोवाको साक्षी हुँ भनी थाह पाएपछि तिनले यस्तो जवाफ दिए, ‘तपाईंहरू यहाँ पनि पुगेको! के साक्षीहरू नपुगेको संसारको कुनै भाग छ?’ ”
प्रेरित पावलले यस्तो सल्लाह दिए: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” (२ तिमोथी ४:२) सारायभोस्थित यहोवाका साक्षीहरू विश्वभरिका अन्य सँगी साक्षीहरू जस्तै अस्पतालका बिरामीहरूदेखि लिएर सशस्त्र गाडीहरू सबैकहाँ पुग्छन्!