अख्तियारवालाहरू साक्षीहरूको प्रशंसा गर्छन्
म्याड्रीडबाट ५०० किलोमिटर पर दक्षिण-पश्चिम भागमा अवस्थित, स्पेनको बन्दरगाह, क्याथीथ शहरका नगरप्रमुख डोना टेयोफीला मार्टीनेसले यहोवाका साक्षीहरूलाई ताम्रपत्र (माथिको चित्रमा देखाइएको) प्रदान गरे। त्यसमा लेखिएको छ: “यस शहरका लागि तिनीहरूले पुऱ्याएको सहयोग अनि परिश्रमको कदर गर्दै क्याथीथको राष्ट्रिय सभा गृहका तर्फबाट यहोवाका साक्षीहरूलाई मूल्यांकन सहित यो कदरपत्र प्रदान गरिएको हो।” तिनीहरूले कस्तो काम गरे बापत उक्त सम्मान पाएका हुन्?
साक्षीहरूले नगरपालिकामा अवस्थित रंगशालाको केही भाग जीर्णोद्धार गरिदिए बापत यसरी कदरपत्र प्रदान गरिएको थियो। दुई/चार हप्ता भित्रै, सयौं साक्षीहरूले क्यारान्जा फुटबल रंगशालाका भुइँतल्लाका शौचालयहरू मर्मत गर्न स्वयंसेवा गरे। अहिले, मर्मत गरिएको धारा, पाइप अनि भुइँका कारण उक्त रंगशाला चलाउने सबैले तिनीहरूका कामबाट लाभ उठाउँछन्।
यहोवाका साक्षीहरूले क्याथीथ शहरसित सुमधुर सम्बन्ध कायम गरेको केही समय बितिसकेको छ। हरेक साल, नगरपालिकाले साक्षीहरूको वार्षिक जिल्ला अधिवेशनको लागि क्यारान्जा रंगशाला खुसीसाथ उपलब्ध गर्छ। तसर्थ, रंगशाला सफासुग्घर राख्न साक्षीहरू खुसीसाथ सक्दो मदत गर्छन्।
तथापि, विशेष अवसरहरूमा गरिने यस्ता शारीरिक परिश्रमहरूका साथै यहोवाका साक्षीहरू अर्कै तरिकाले मदत गर्न पनि शहरका टोलछिमेकमा नियमित तवरमा जान्छन्। तिनीहरू परमेश्वरको राज्यको “सुसमाचार” घोषणा गर्छन्। तिनीहरू जन सेवकाईमा भाग लिनुको कारण मानिसबाट प्रशंसा पाउन होइन। यसो गरेर तिनीहरूले ‘राज्यको सुसमाचार’ प्रचार गर र “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्ने येशूको आज्ञा पालन गर्छन्। (मत्ती २४:१४; २८:१९) यसरी मानिसहरूलाई ‘धार्मिकताको बाटो’ सिकाएर यहोवाका साक्षीहरू समाजको सेवा गर्न चाहन्छन्।—हितोपदेश १२:२८.