विश्व शान्ति—कुन स्रोतबाट?
के शिक्षा तथा धर्मलाई विश्वभरि फैलाउँदा विश्व शान्ति सम्भव हुन्छ? संयुक्त राष्ट्र संघका पूर्व उपसचिव तथा युनेस्कोका शान्ति शिक्षाका १९८९ विजेता डा. रबर्ट म्युलरको विचार यस्तै छ। द भ्यानकुभर सन अखबारमा रिपोर्ट गरेअनुसार डा. म्युलर “विश्वभरिका विद्यार्थीहरूलाई आधारभूत तथ्यहरू तथा ब्रह्माण्ड, मानवता र अहिंसाको महत्त्व सिकाउनुपर्छ भनी विश्वस्त छन्।” तिनी विश्वभरिका सबै शैक्षिक संस्थाहरूले, सं.रा.सं. मात्रै आशाको स्रोत हो भनी सिकाउने समयको पर्खाइमा छन्। तिनको विचारमा “विश्वका सबै धर्महरू एक भएर संयुक्त धर्म भनिने सं.रा.सं. रूपी फस्टाउँदो संगठनका सदस्यहरू हुनुपर्छ” भनी सन रिपोर्ट गर्छ। त्यसपछि “सबै धर्महरूले अहिंसाको प्रवर्धन गर्नेछ।”
विश्व शान्ति के साँच्चै सम्भव छ? अवश्य छ! तर कुनै मानव माध्यमद्वारा होइन। एक प्रेरित लेखकले २,७०० वर्षभन्दा अघि शान्तिको निम्ति उच्च स्रोतबारे बताए। अनि तिनले इमानदार हृदय भएकाहरू “परमप्रभुबाट सिकाइएकाहुनेछन्” र शान्ति “मिल्नेछ” भनी भविष्यवाणी गरे।—यशैया ५४:१३.
बाइबलले बताएअनुसार परमेश्वरले मात्र “शान्ति” दिन सक्नुहुन्छ। (रोमी १६:२०) साथै अहिले पनि विश्वव्यापी तवरमा अत्यन्तै राम्रो शिक्षण कार्यक्रम चलिरहेको छ र परमेश्वरले आफ्ना जनहरूलाई “असल पछि” लाग्न र “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया” बनाउने आज्ञा दिनुहुन्छ र कसैले “युद्ध गर्न सिक्नेछैनन्।”—१ पत्रुस ३:११; यशैया २:२-४.
कपट नभएको सत्यमा आधारित उपासनालाई परमेश्वरले स्वीकार्नुका साथै आशिष् दिनुहुन्छ। (मत्ती १५:७-९; यूहन्ना ४:२३, २४) परमेश्वरको वचनअनुरूपको साँचो उपासनाले मात्र साँचो शान्ति र एकता ल्याउनसक्छ अनि तिनीहरूको आपसमा साँचो प्रेम हुन्छ।—यूहन्ना १३:३५.
विश्व शान्तिको सन्दर्भमा परमेश्वरको वचनले के भन्छ भनी अझ बढी सिक्न हामी तपाईंहरूलाई यस पत्रिकाको प्रकाशकहरूसित सम्पर्क राख्न आमन्त्रित गर्छौं।