के तपाईंलाई सम्झना छ?
के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:
◻ “ख्रीष्टको पक्षमा हामी राजदूत हौं” भन्ने पावलको अभिव्यक्ति अभिषिक्त मसीहीहरूको निम्ति किन उपयुक्त छ? (२ कोरिन्थी ५:२०)
पहिले पहिले युद्ध हुनदेखि रोक्न सकिन्छ कि भनी तनाउग्रस्त समयमा राजदूतहरू पठाइन्थ्यो। (लूका १४:३१, ३२) मानिसजातिको पापी संसार परमेश्वरबाट अलग्गिएको कारण मिलाप कसरी गर्न सकिन्छ भनी मानिसहरूलाई जानकारी दिन उहाँले अभिषिक्त राजदूतहरूलाई पठाउनुभएको छ।—१२/१५, पृष्ठ १८.
◻ कुन चारवटा कुराले अब्राहामको विश्वासलाई बलियो बनायो?
सर्वप्रथम, यहोवाले बोल्नुहुँदा ध्यान दिएर सुने अनि परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वास देखाए। (हिब्रू ११:८) दोस्रो तिनको विश्वाससित तिनको आशाको निकटम सम्बन्ध थियो। (रोमी ४:१८) तेस्रो, अब्राहामले परमेश्वरसित कुरा गरे अनि चौथो, तिनी यहोवाको डोऱ्याइअनुसार हिंड्दा यहोवाले टेवा दिनुभयो। सोही कुराहरूले आज हाम्रो विश्वासलाई पनि बलियो बनाउनसक्छ।—१/१, पृष्ठ १७, १८.
◻ “हामीलाई परीक्षामा नल्याउनुहोस्” भन्नुको अर्थ के हो? (मत्ती ६:१३)
उहाँप्रति अनाज्ञाकारी हुने प्रलोभनमा पर्दा नचुक्न परमेश्वरसित मदत मागिरहेका हुनेछौं। शैतान अर्थात् “दुष्टबाट” अलग रहन यहोवाले हामीलाई डोऱ्याउन सक्नुहुन्छ। (१ कोरिन्थी १०:१३)—१/१५, पृष्ठ १४.
◻ गम्भीर गल्तीको निम्ति यहोवासित क्षमा माग्न के गर्नुपर्छ?
परमेश्वरबाट क्षमा पाउन हामीले आफ्नो पाप स्वीकार्नुका साथै “पश्चाताप योग्यका फल” पनि फलाउनुपर्छ। (लूका ३:८) पश्चात्तापी मनोभावका साथै गल्तीलाई सच्याउने हाम्रो इच्छाले हामीलाई मसीही प्राचीनहरूको आध्यात्मिक मदत लिन उत्प्रेरित गर्छ। (याकूब ५:१३-१५)—१/१५, पृष्ठ १९.
◻ हामीले किन नम्र हुन प्रयत्न गर्नुपर्छ?
नम्र मानिस धीरजी र सहनशील हुन्छ। नम्रताले तपाईंलाई माया गर्ने साँचो मित्रहरू बनाउन मदत गर्छ। अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा तपाईंले यहोवाको आशिष् पाउन सक्नुहुन्छ। (हितोपदेश २२:४)—२/१, पृष्ठ ७.
◻ येशू र आदमको मृत्युबीचको कस्तो महत्त्वपूर्ण भिन्नता छ?
आदम मृत्युको योग्य थिए किनकि तिनी जानाजानी आफ्नो सृष्टिकर्ताप्रति अनाज्ञाकारी भए। (उत्पत्ति २:१६, १७) यसको विपरीत, येशू मृत्युको योग्य हुनुहुन्नथ्यो किनकि उहाँले ‘कुनै पाप गर्नुभएन।’ (१ पत्रुस २:२२) अतः येशूको मृत्युमा र पापी आदमको मृत्युमा एउटा महत्त्वपूर्ण भिन्नता थियो। त्यो थियो, मानव जीवनलाई सिद्ध बनाउने अधिकार। अतः मानिसजातिको छुडौतीको निम्ति येशूको मृत्युमा बलिदानको मूल्य थियो।—२/१५, पृष्ठ १५, १६.
◻ इजकिएलको भविष्यसूचक दर्शनमा शहरले के चित्रित गर्छ?
यो स्वर्गको शहर होइन किनभने यो “अपवित्र” भागमा पर्छ। त्यसकारण, यो पृथ्वीकै कुरा हुनुपर्छ। शहरले सम्पूर्ण धार्मिक पार्थिव समाजले लाभ उठाओस् भनेर स्थापित पार्थिव प्रशासनलाई चित्रण गरेको जस्तो देखिन्छ।—३/१, पृष्ठ १८.
◻ सा.यु. ३३ को निस्तार चाड मनाउँदा येशूले किन आफ्ना चेलाहरूको खुट्टा धोइदिनुभएको?
येशूले यहाँ खुट्टा धुने प्रथा बसाल्न चाहनुभएको थिएन। बरु, प्रेरितहरूले आफ्ना भाइहरूका खातिर सानोभन्दा सानो काम पनि नम्रता र स्वेच्छासाथ गर्न तयार हुनुपर्छ भन्ने मनोवृत्ति राख्न सिकाउनुहुँदैथ्यो।—३/१, पृष्ठ ३०.
◻ अरूलाई सिकाउने कार्यमा हाम्रा क्षमताहरूभन्दा महत्त्वपूर्ण कुरा के हो?
हामीसित के कस्ता गुणहरू छन् र विद्यार्थीहरूले अनुसरण गर्नसक्ने कस्ता आध्यात्मिक बानीहरू हामीले खेती गरेका छौं, त्यो विशेषगरि महत्त्वपूर्ण छ। (लूका ६:४०; २ पत्रुस ३:११)—३/१५, पृष्ठ ११, १२.
◻ जनवक्ताहरूले धर्मशास्त्र पढ्न कसरी उन्नति गर्नसक्छन्?
दोऱ्याइ तेऱ्याइ पढेर। हो, फरर्र पढ्नसक्ने नहोऊञ्जेल ठूलो स्वरले दोऱ्याइ तेऱ्याइ पढ्नु पर्छ। तपाईंको भाषामा बाइबलका श्रव्यक्यासेटहरू उपलब्ध छन् भने पढाइको भाव बलाघात र स्वर परिवर्तनलाई ध्यान दिएर अनौठो नाउँ तथा शब्दहरू कसरी उच्चारण गर्ने, त्यसलाई ध्यान दिएर सुन्नु बुद्धिमानी हो।—३/१५, पृष्ठ २०.
◻ मान्छे मरेपछि “आत्मा दिने परमेश्वरकहाँ” कसरी जान्छ? (उपदेशक १२:७)
बाइबलमा आत्माले जीवनशक्ति बुझाउने भएकोले त्यो ‘परमेश्वरकहाँ फर्कन्छ’ भन्नुको अर्थ अब भविष्यमा जीवन पाउने नपाउने कुरा पूर्णतया परमेश्वरमा निर्भर हुन्छ भनेको हो। परमेश्वरले मात्र फेरि आत्मा वा जीवनशक्ति दिन सक्नुहुन्छ। (भजन १०४:३०)—४/१, पृष्ठ १७.