“अन्त बुझ्ने” बुद्धि
“तिनीहरू परामर्ष नपाएको जाति हो, औ तिनीहरूमा केही समझ शक्ति नै छैन तिनीहरू बुद्धिमान भए यो कुरा बुझ्ने थिए तिनीहरूले आफ्ना अन्त बुझ्ने थिए।”—व्यवस्था ३२:२८, २९.
उक्त शब्दहरू मोशाले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशको संघारमा पुग्दा भनेका थिए। तिनीहरूले यहोवालाई त्याग्ने अनि आफ्ना कार्यहरूको नतिजाबारे त्यति ध्यान नदिने समय पनि आउनसक्छ भनी मोशाले पहिल्यै बताइरहेका थिए। त्यसपछिका शताब्दीहरूको दौडान इस्राएलका थुप्रै राजाहरूलगायत अरू मानिसहरूले यहोवाका चेताउनीहरूलाई बेवास्ता गरे।
उदाहरणका लागि, यहोवाबाहेक अन्य देवताहरूको उपासकसँग बिहेबारी नगर्नु भन्ने ईश्वरीय आज्ञा सुलेमानलाई थाह थियो। (व्यवस्था ७:१-४) तैपनि, सुलेमानले “धेरै विदेशी स्त्रीहरू[लाई]” पत्नी बनाए। परिणाम? बाइबल लेखोट यसो भन्छ: “तिनी बृद्ध हुँदा तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए, र तिनी आफ्ना पिता दाऊदझैं परमप्रभु आफ्ना परमेश्वरका सम्पूर्ण रीतिले भक्त भएनन्।” (१ राजा ११:१, ४) सुलेमान बुद्धिमान् भए तापनि परमेश्वरको आज्ञा पालन नगर्दा के हुन्छ भनेर तिनले पहिल्यै ‘बुझ्न’ सकेनन्।
हामी नि? हामीले जीवनमा गर्ने निर्णयहरूबारे राम्ररी पूर्वविचार गऱ्यौं भने थुप्रै दुःखकष्टबाट जोगिनसक्छौं। उदाहरणका लागि, मसीहीहरूलाई “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट . . . आफैलाई शुद्ध” पार्ने सल्लाह दिइएको छ। (२ कोरिन्थी ७:१) यो सल्लाह पालन गर्नु बुद्धिमानी कुरा हो। तर थुप्रै मानिसहरूसँग पावलको उक्त सल्लाह बेवास्ता गऱ्यो भने के हुन्छ भनेर बुझ्ने समझ छैन। उदाहरणका लागि, ठाँटिलो अनि वयस्क देखिन्छु भन्ठान्दै थुप्रै जवानहरू धूम्रपान गरेर आफ्नो शरीरलाई दूषित पार्छन्। धूम्रपानको कारण पछि थुप्रैलाई मुटु सम्बन्धी रोगहरू, फोक्सोको क्यान्सर वा श्वासप्रश्वास सम्बन्धी रोगले सताउनु कत्ति दुःखलाग्दो कुरा हो!
हाम्रा निर्णय तथा कार्यहरूको नतिजाहरूबारे गम्भीरतापूर्वक विचार गर्नु महत्त्वपूर्ण छ। पावलले यस्तो लेख्नु एकदमै उचित छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।”—गलाती ६:७, ८.