के तपाईंलाई जिन्दगीको माया लाग्छ?
“उज्यालो हेर्न पाऊँ।” यी शब्दहरू मृत्यु कुरिरहेका इटालेली कवि जक्कोमो लिओपार्दीले आफ्नो कुरुवालाई भनेका थिए। यी शब्दहरूबाट उज्यालोद्वारा चित्रित जीवनप्रति मानिसको मोह कत्तिको हुँदो रहेछ भनी बुझ्न सकिन्छ।
जीवनप्रतिको मोहले गर्दा अधिकांश मानिसहरू स्वाभाविकतः खतरादेखि पन्छन अनि जीवित रहन सकेजत्ति गर्न तम्सन्छन्। यससम्बन्धमा मानिस र जनावरबीच त्यति भिन्नता छैन; तिनीहरूसित बाँच्ने तीव्र सहज ज्ञान हुन्छ।
तर कस्तो किसिमको जीवन साँच्चै जिउन योग्यको अनि मनपर्दो हुन्छ त? पक्कै पनि त्यस्तो जीवन सास फेर्नु र चलहल गर्नुमा मात्रै सीमित हुन सक्दैन। नत जीवनको सकेसम्म उपभोग गर्नुपर्छ भन्ने विचारमै त्यस्तो जीवन लुकेको छ। “खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो” भन्ने इपिक्युरी दर्शनले मानिसहरूलाई अक्सर सन्तुष्टि दिनसकेको छैन। (१ कोरिन्थी १५:३२) मानिसका केही आधारभूत भौतिक आवश्यकताहरू अवश्य छन्। तर यसबाहेक सांस्कृतिक तथा सामाजिक पक्षहरू पनि छन् र यसमा सर्वोच्च व्यक्तिमाथिको विश्वास मुछिएको आध्यात्मिक आवश्यकता पनि बिथोलित छ जुन उल्लेख गरिरहनु नपर्ला। दुःखको कुरा, संसारका थुप्रै ठाउँहरूमा व्याप्त व्याकुल गराउने सामाजिक तथा वातावरणीय अवस्थाहरूले गर्दा आज लाखौं, अझ सायद अरबौं केवल जिउँदो लाश भएर बाँचिरहेछन् भन्नु गलत नहोला। खाने, पिउने, सम्पत्ति थुपार्ने वा यौन इच्छा पूरा गर्ने जस्ता शारीरिक आवश्यकतामै आफूलाई सीमित राख्ने व्यक्तिहरूको जीवन लगभग जनावरको जस्तै हुन्छ र यसबाट तिनीहरूले प्राप्त गर्ने सन्तुष्टि न्यून हुन्छ। त्यसकारणः, तिनीहरू मानव बौद्धिक क्षमता तथा भावनालाई पूरा गर्न जीवनले दिने अर्थपूर्ण स्रोत तथा साधनको कुनै पनि प्रयोग गर्दैनन्। यसको अलावा, स्वार्थीहरूले जीवनको सर्वोत्तम फाइदा उठाउनु त परै जाओस् उल्टो समाजलाई समेत हानि पुऱ्याइरहेका हुन्छन् अनि तिनीहरूको त्यस्तो जीवनले अरूको ख्याल राख्न प्रोत्साहन दिंदैन।
यसको पुस्टि दिंदै बालअपराधसम्बन्धी न्यायाधीशले यसो भने, “मूल्य तथा मान्यताको संकट, नकारात्मक असर पार्ने आदर्श पात्रको उत्थान र छिट्टै अनि सजिलै धनी हुने सोचाइले . . . प्रतिस्पर्धाको भावलाई अति नै जोड दिएको छ।” यसले समाजलाई र खास गरी युवाहरूलाई हानिकारक व्यवहारतर्फ डोऱ्याएको छ, त्यसमा पनि विशेष गरी लागूपदार्थतर्फ।
जीवनका थुप्रै आकर्षणहरू छन्। जस्तै, रमणीय स्थलहरूमा छुट्टी मनाउनु, चाखलाग्दो कुरा पढ्नु वा अनुसन्धान गर्नु, रमाइलो संगत, मीठो धुन आदि। यसबाहेक धेरथोर सन्तुष्टि दिने अन्य गतिविधिहरू त छँदैछन्। परमेश्वरमाथि गहिरो विश्वास राख्नेहरू र त्यसमा पनि विशेष गरी बाइबलले बताएको यहोवा परमेश्वरमाथि गहिरो विश्वास राख्नेहरूसित जीवनलाई माया गर्ने अझ धेरै कारणहरू छन्। बल र शान्त मनस्थितिको स्रोत साँचो विश्वास हो अनि यसले मानिसहरूलाई कठिन समस्याहरूको सामना गर्न मदत गर्नसक्छ। साँचो परमेश्वरमाथि विश्वास गर्नेहरूले निर्धक्क भई यसो भन्नसक्छन्: “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।” (हिब्रू १३:६) परमेश्वरको प्रेमसित परिचित मानिसहरूले उहाँको माया अनुभव गर्छन्। तिनीहरू उहाँको मायाको बदलामा माया दिन्छन् र त्यसबाट गहिरो आनन्द प्राप्त गर्छन्। (१ यूहन्ना ४:७, ८, १६) तिनीहरू सक्रिय तथा उपकारी जीवन बिताउँछन्। यो नै सन्तुष्टिको स्रोत हो। अनि यो येशूले भन्नुभएजस्तै छ: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.
दुःखको कुरा, वर्तमान जीवनको अर्को पक्ष पनि छ। जीवनलाई अक्सर निस्सासिदिने केही पीडाहरू अर्थात् दुःखकष्ट, अन्याय, गरिबी, रोगबिमार अनि मृत्यु जताततै व्याप्त छन्। पुरातन इस्राएलका धनाढ्य र बुद्धिमान राजा सुलेमानसित मानिसलाई आनन्दित बनाउनसक्ने कुनै पनि साधनको कमी थिएन। यद्यपि, तिनलाई एउटा कुराको चिन्ता थियो अर्थात् मृत्यु भएपछि आफूले “परिश्रम र मेहनत” गरी “बुद्धि, ज्ञान र निपुणतासँग” हासिल गरेको सम्पूर्ण कुरा छोडेर जानुपर्दो रहेछ भन्ने चिन्ता।—उपदेशक २:१७-२१.
सुलेमानजस्तै अधिकांश मानिसहरूलाई यो छोटो जीवन क्षण भरमै भुर्र उडेर जान्छ भनेर थाह छ। परमेश्वरले “मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” भनी धर्मशास्त्र भन्छ। (उपदेशक ३:११, नयाँ संशोधित संस्करण) यो अनन्तताको चेतनाले मानिसलाई छोटो जीवनमाथि गौर गर्न उत्प्रेरित गर्छ। जीवन र मृत्युबारे पत्यारलाग्दो जवाफ नपाउँदा आखिरमा कुनै पनि व्यक्तिलाई नैराश्य अनि व्यर्थताको बादलले छोप्नसक्छ। अनि यसले जीवनलाई सुखी बनाउनसक्ने त कुरै भएन।
के मानिसलाई पिरोलिरहेका प्रश्नहरूको जवाफ छ? कुनै समयमा जीवनलाई अझ आकर्षक अनि चिरस्थायी बनाउने परिस्थितिहरू आउलान् त?