तिनीहरू “परमेश्वरसँग डराउँथे”
इस्राएलीहरू मिश्रको दासत्वमा हुँदा हिब्रू सुँडेनी शिप्रा र पूआलाई अप्ठ्यारो काम अह्राइयो। च्याउ उम्रेसरह वृद्धि भइरहेको विदेशीहरूलाई नियन्त्रण गर्न फिरऊनले ती स्त्रीहरूलाई यस्तो आदेश दिए: “जब हिब्रू स्त्रीहरूले नानी जन्माउँछन् तब छोरो रहेछ भने त्यसलाई मार।”—प्रस्थान १:१५, १६.
शिप्रा र पूआ साँचो “परमेश्वरसँग डराउँथे।” यसकारण, तिनीहरू साहसी भए अनि “मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्।” बरु, तिनीहरूको यस साहसी कार्यले गर्दा आफ्नो ज्यान खतरामा पर्नसक्ने भए तापनि तिनीहरूले छोराहरूलाई जिउँदै राखे। यहोवाले “सुँडेनीहरूको कल्याण गर्नुभयो” अनि ज्यान बचाउने काम गरेबापत तिनीहरूलाई इनाम पनि दिनुभयो।—प्रस्थान १:१७-२१.
यहोवाले उहाँको सेवा गर्नेहरूको मूल्यांकन गर्नुहुन्छ भनेर उक्त घटनाले जोड दिन्छ। शिप्रा र पूआले साहसिक काम गरे तापनि उहाँले त्यसलाई परोपकारी कार्य ठान्न सक्नुहुन्थ्यो। आखिर, सुबुद्धि भएको कुनचाहिं आइमाईले पो शिशुहरूको हत्या गर्लिन् र! तापनि, मानिसको डरले गर्दा कसै कसैले विभत्स कार्यहरू गरेका छन् भन्ने कुरालाई यहोवाले पक्कै पनि विचार गर्नुभएको थियो। यी सुँडेनीहरू मानवीय दयाले मात्र नभई ईश्वरीय भय र भक्तिले प्रेरित भएका थिए भनेर उहाँलाई थाह थियो।
हाम्रा विश्वासी कार्यहरूको सम्झना राख्नुहुने परमेश्वरको सेवा गर्न पाएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं! हो, हामीमध्ये कसैले पनि शिप्रा र पूआले जस्तो विश्वासको जाँच भोग्नुपरेको छैन। यद्यपि, चाहे स्कूलमा होस् वा काम गर्ने ठाउँमा वा अन्य परिस्थितिमा नै किन नहोस्, सही कुराप्रति हामीले बलियो अडान लिंदा यहोवाले हाम्रो वफादार प्रेमलाई हल्का ठान्नुहुन्न। बरु, “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) हो, ‘तपाईंहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ र पवित्र जनहरूको सेवा गर्नुभएर र गर्दै रहेर तपाईंहरूले देखाउनुभएको छ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।’—हिब्रू ६:१०.