तिनले “पृथ्वीको अन्तसम्म” ज्योति फैलाउन मदत गरे
“पृथ्वीको अन्तसम्म” आध्यात्मिक ज्योति फैलाउन प्रेरित पावललाई प्रयोग गरियो। फलस्वरूप, ‘अनन्त जीवनका लागि नियुक्त भएका थुप्रैले विश्वास गरे।’—प्रेरित १३:४७, ४८; यशैया ४९:६.
समर्पित जीवन बिताएका अनि मसीही क्रियाकलापमा अथक परिश्रम गरेका विलियम लोयड ब्यारीसित पनि आध्यात्मिक ज्योति फैलाउने उत्कट चासो थियो। तिनी यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य थिए। हवाइमा सम्पन्न जिल्ला अधिवेशनमा भाषण प्रस्तुत गर्दा गर्दै जुलाई २, १९९९ मा भाइ ब्यारीको मृत्यु भयो।
लोयड ब्यारीको डिसेम्बर २०, १९१६ का दिन न्यु जील्याण्डमा जन्म भएको थियो। सि. टि. रसलद्वारा लिखित तथा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा वितरित साहित्यहरूमा प्रस्तुत गरिएका बाइबल सत्यप्रति तिनका मुमाबुबाले उत्कट चासो राखेका थिए। तसर्थ, भाइ ब्यारी समर्पित मसीही परिवारमा हुर्के।
भाइ ब्यारी खेलकुद र शिक्षाप्रति चासो राख्थे अनि विज्ञानमा डिग्री हासिल गरेका थिए। यद्यपि, तिनले आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गरे। तसर्थ, जनवरी १, १९३९ मा सोसाइटीको अष्ट्रेलिया शाखाको बेथेल सदस्य बनेर तिनले पूर्ण-समय सेवकाई सुरु गरे। सन् १९४१ मा सरकारले सोसाइटीमाथि प्रतिबन्ध लगाएपछि भाइ ब्यारी कार्यालयको कामकुरामा व्यस्त भए। सँगी विश्वासीहरूलाई प्रोत्साहन दिन कहिलेकाहीं तिनलाई लेखहरू लेख्न लगाइन्थ्यो। तिनले जन सेवकाईमा पनि उदाहरणीय अगुवाइ लिए।
फेब्रुअरी १९४२ मा भाइ ब्यारीले पूर्ण-समय सेविकासँगै विवाह गरे। तिनकी प्रिय पत्नी मेल्बाले विश्वासी भई अहिलेसम्म तिनीसँग पृथ्वीका कुनाकाप्चामा सेवा गरिन्। संयुक्त राज्यमा वाचटावर बाइबल स्कूल अफ गिलियडको ११ औं कक्षामा उपस्थित भएर तिनीहरूले विदेशी मुलुकहरूमा सेवा गर्ने ठूलो कदम चाले। थुप्रै मानिसहरूले साँच्चै “पृथ्वीको अन्त” भन्ठान्ने मुलुक अर्थात् जापानमा तिनीहरूलाई खटाइयो। सन् १९४९ मा त्यहाँ पाइला टेकेपछि तिनीहरूले कोबेको बन्दरगाह शहरमा मिसनरीको रूपमा सेवा गर्न थाले। त्यतिखेर, जापानमा सुसमाचार प्रचार गर्ने १२ जना मात्र थिए। भाइ ब्यारीले आफ्नो नयाँ ठाउँको भाषा र मानिसहरूको जीवनशैली सिके अनि जापानीहरूलाई प्रगाढ स्नेह गरेर त्यहाँ २५ वर्षसम्म सेवा गरे। तिनले ‘अनन्त जीवनका लागि नियुक्त भएकाहरूलाई’ प्रेम गर्थे भन्ने कुरा जापानमा वृद्धि भइरहेको मसीही भ्रातृत्वबाट प्रस्ट भयो। यसैकारण तिनले दशकौंसम्म शाखाको राम्रो सुपरिवेक्षण गर्नसके।
सन् १९७५ तिर जापानमा करिब ३०,००० साक्षीहरू थिए। त्यही वर्ष भाइ र बहिनी ब्यारीलाई न्यु योर्कस्थित ब्रूकलिनमा सरुवा गरियो। आत्मा-अभिषिक्त मसीही भएकाले भाइ ब्यारी यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गर्न बोलाइएको थियो। (रोमी ८:१६, १७) लेखन विभागको नयाँ काममा तिनको लेखन अनुभव साह्रै उपयोगी साबित भयो। अनि शाखा कार्यालयमा साथै अन्तरराष्ट्रिय क्षेत्रमा हासिल गरेका अनुभवले तिनलाई परिचालक निकायको प्रकाशन समितिमा मूल्यवान् योगदान पुऱ्याउन सुसज्जित बनायो।
भाइ ब्यारीले पूर्वीय देश र त्यहाँका मानिसहरूलाई वर्षौं पछिसम्म माया गर्न छोडेनन्। तिनको भाषण र टिप्पणीहरूमा मिसनरी सेवा गर्ने थुप्रै भाइबहिनीहरूको हृदयस्पर्शी कथाहरू सुन्न पाइनेछ भनेर गिलियड स्कूल तथा बेथेल परिवारका सदस्यहरूले सधैं आशा गर्थे। भाइ ब्यारीले जोसका साथ आफ्नै अनुभव बताउँदा ‘पृथ्वीको अन्तमा’ भइरहेको राज्य गतिविधिहरू अझ जीवन्त हुन्थे। केही अनुभवहरू सेप्टेम्बर १५, १९६० को प्रहरीधरहरा-मा प्रकाशित तिनको जीवनीमा उल्लेख गरिएका छन्।
“अनन्त जीवनका लागि नियुक्त” भएकाहरूप्रति भाइ ब्यारीको चासो ‘ख्रीष्टसँगै राज्य गर्दा’ पनि कायमै रहनेछ भनेर हामी विश्वस्त छौं। निस्सन्देह, यहोवाप्रति समर्पित अनि परमेश्वरका जनहरूप्रति न्यानो स्नेह राख्ने आत्मा-अभिषिक्त पुरुषको रूपमा चिन्ने र माया गर्ने सबैलाई तिनको सम्झनाले पिरोल्नेछ। तैपनि, भाइ ब्यारी आफ्नो पार्थिव जीवनको अन्तसम्मै विश्वासी रहेकामा हामी हर्षित छौं।—प्रकाश २:१०.
[पृष्ठ १६-मा भएको चित्र]
सन् १९८८ मा धर्मशास्त्रमाथि अन्तरदृष्टि विमोचन हुँदा लोयड ब्यारी र जोन बार
[पृष्ठ १६-मा भएको चित्र]
गिलियडको ११ औं कक्षाका स्नातकहरूको ४० वर्षपछि जापानमा पुनर्मिलन