“विश्वासद्वारा उत्प्रेरित व्यक्तिको शक्ति”
सन् १९९८ मा गे कानोनिसीद्वारा लिखित निकै चर्चित फ्रान्सेली पुस्तक ला टाम्वे डे जाओभा फास आ एट्लर-को (हिटलरको समयमा यहोवाका साक्षीहरू) विमोचन भयो। पुस्तकको प्राक्कथनमा अति सम्मानित फ्रान्सेली इतिहासकार फ्राँस्वाँ बेडारेडाले लेखेका थिए: “यो हामी सबैलाई चाहना भएको पुस्तक हो। किनभने यो पुस्तक चिरप्रतीक्षित मात्र नभई समयानुकूल पनि छ। . . . नाजी शासनको समयमा यहोवाका साक्षीहरूले भोगेका दुःखकष्टहरू विशेषज्ञहरूबाहेक अहिले अरू कसलाई थाह छ र? साक्षीहरूले १२ वर्षे नाजी शासन कालमा भीषण क्रूरता अनि हिंसा सहनुपऱ्यो। तिनीहरूले यातना शिविरहरूको त्रास पनि अनुभव गरे। आफ्नो विश्वासको खातिर तिनीहरूले ठूलो मोल चुकाउनुपऱ्यो। म छक्क पर्छु, इतिहासले यी मसीहीहरूलाई किन चटक्क बिर्स्यो? . . .
“ठाउँ ठाउँमा छरिएका यो शान्तिप्रिय अनि सानो गुटलाई किन क्रूर तथा सिलसिलेवार ढंगमा सताइयो? यो कुरा एकदमै विरोधाभासपूर्ण छ। तथ्यांकअनुसार, जर्मनीमा छ करोड जनसंख्यामध्ये लगभग २०,००० यहोवाका साक्षीहरू थिए। जर्मनीमा तिनीहरू अल्पसंख्यक हुनुका साथै कानुनको आदर गर्ने अनि शान्तिप्रिय तथा पसिना बगाएर आफ्ना छोराछोरीलाई राम्ररी हुर्काउन चाहने नागरिकहरू थिए। . . .
“येशू ख्रीष्टमाथिको विश्वास लिएर हर बाह्य दबाउ अनि सतावटसँग जुझ्नसक्ने यी अटल अनि विजयी विश्वासीहरूलाई सताउन सरकारी प्रहरीको हिंसादेखि लिएर हत्यासम्म के के मात्र गरिएन।”
धार्मिक असहिष्णुताको सामना गरेर आफ्नो मसीही विश्वासका लागि शहीद हुने यहोवाका साक्षीहरूको कथा सशक्त छ। यस पुस्तकको पुनरावृत्ति गर्दै ला क्रवा नामक एउटा प्रमुख फ्रेन्च क्याथोलिक अखबारले स्पष्टसित यसरी लेख्यो: “यहोवाका साक्षीहरूको इतिहासबारे त्यति धेरै थाह नलागेका कुराहरूलाई गे कानोनिसीले प्रशस्त प्रमाणहरूद्वारा सरल शब्दहरूमा व्यक्त गरेका छन्, जसलाई पढ्ने जुनसुकै पनि व्यक्ति विश्वासबाट उत्प्रेरित व्यक्तिको शक्ति देखेर अवाक् नभई रहनसक्तैन। यो विश्वासको कथामा केटाकेटीहरूसमेत कहिल्यै डगेनन्। साक्षीहरूको विश्वासको यस्तो सम्झनाले हालै तिनीहरूको मसीही स्वभावमाथि भइरहेको बहसको लागि पृष्ठभूमि तयार पार्नु पर्ने हो।”