के बाइबलले हामीलाई अहिले मदत गर्नसक्छ?
एक जवान मानिसले यसो भने, “सम्पूर्ण बाइबललाई हेर्ने हो भने त्यसको १ प्रतिशत मात्र पढ्न लायकको छ। तर बाँकीचाहिं असान्दर्भिक र कामै नलाग्ने छ।” तिनको कुरामा सहमति जनाउने थुप्रै होलान्। हुन त विश्वभरि सबैभन्दा धेरै बिक्री हुने पुस्तक बाइबल हो। तापनि लाखौंले यसमा त्यति ध्यान दिंदैनन् र यसका शिक्षाहरूबारे अनविज्ञ छन्।
बाइबल “पढ्नेहरूको संख्या झन् झनै कम हुँदैछ। प्राकृतिक विज्ञान र बढ्दो धर्मनिरपेक्षको युगमा थुप्रैलाई बाइबलका विवरणहरू अनौठो र बुझ्न गाह्रो लाग्छ” भनी सुडोइच जाइटुङ नामक जर्मन अखबारले १९९६ मा प्रकाशित गरेको क्रिसमस संस्करणमा टिप्पणी गऱ्यो। यस रिपोर्टलाई सर्वेक्षणले पुष्टि गर्छ। कुनै कुनै अध्ययनहरूले देखाएअनुसार थुप्रै केटाकेटीहरूलाई येशू भनेको को हो भनेर पनि थाह छैन। एउटा सर्वेक्षणमा अन्तरवार्ता लिइएका मानिसहरूमध्ये आधालाई पनि बाइबलको उडन्ता पुत्र र दयालु सामरीको कथा थाह थिएन।
स्वीट्जरल्याण्डमा पहिलाको जति बाइबलको माग छैन भनी स्वीस इभान्जलिकल चर्चको प्रकाशन रेफरमेरटेस फोरम भन्छ। आफूसित बाइबल भएकाहरूले पनि त्यसलाई त्यसै थन्काएर राख्छन्। बेलाइतमा पनि त्यस्तै छ। एउटा सर्वेक्षणअनुसार धेरैजसो मानिससित बाइबल त छ तर एकदम थोरैले मात्र त्यो पढ्ने गर्छन्।
अर्कोतिर, विश्वभरि लाखौंले बाइबलबारे भिन्नै दृष्टिकोण राख्छन्। तिनीहरू बाइबललाई परमेश्वरको वचन ठान्नुका साथै यो बहुमूल्य र फाइदाजनक छ भनेर मानिलिन्छन्। तसर्थ, तिनीहरू नियमित तवरमा यो पढ्ने गर्छन्। एउटी जवान आइमाई यस्तो लेख्छिन्: “म दिनहुँ बाइबलको एक वा दुई अध्याय पढ्ने कोसिस गर्छु। मलाई एकदमै रमाइलो लाग्छ।” यस्ता व्यक्तिहरू बाइबलले दिने शिक्षा राम्ररी बुझेर त्यसका सल्लाहहरू आफ्नो जीवनमा लागू गर्ने कोसिस गर्छन्। आजको समस्याग्रस्त संसारमा बाइबलले तिनीहरूलाई मदत गर्नसक्छ भनी तिनीहरू विश्वास गर्छन्।
तपाईंलाई कस्तो लाग्छ? के बाइबल वर्तमान समयको लागि सान्दर्भिक छ? अथवा के यो बहुमूल्य र फाइदाजनक छ? के बाइबलले हामीलाई अहिले मदत गर्नसक्छ?