छोराछोरी हुर्काउने चुनौतीको सामना गर्ने
आजकल खास गरी किशोरकिशोरी छोराछोरीलाई हुर्काउनु आमाबाबुहरूका लागि ठूलो चुनौती भएको छ। क्यानाडाको मन्ट्रियालमा प्रकाशित हुने द ग्याजेट-को प्रतिवेदनअनुसार मद्यपान र लागूपदार्थ सेवन गर्नु “किशोरकिशोरीहरूका लागि सामान्य” भएको छ। उक्त प्रतिवेदनले आमाबाबुहरू “[आफ्ना] किशोरकिशोरी छोराछोरीको चालचलनमा देखा पर्ने परिवर्तनहरूप्रति सजग हुनुपर्छ” भनेर जोड दिन्छ।
किशोरकिशोरीहरूका समस्याहरू आमाबाबुहरूले कसरी थाह पाउनसक्छन् त? अमेरिकी बाल तथा किशोरकिशोरी मनोचिकित्सा प्रतिष्ठानले पत्ता लगाएअनुसार शारीरिक, भावनात्मक र समाजमा घुलमिल हुन गाह्रो हुने लक्षणहरू देखिन थाल्छन्। जस्तै सधैं थकित हुने, व्यक्तित्व र मिजास परिवर्तन हुने, ढोका बन्द गरेर धेरै समयसम्म कोठामा एक्लै बस्ने, अनावश्यक तर्कवितर्क गर्ने अनि गैरकानुनी क्रियाकलापहरूमा संलग्न हुने इत्यादि।
आमाबाबुहरूले आफ्ना छोराछोरीलाई खराब कुरा सेवन गर्न र त्यसका नकारात्मक परिणामहरूबाट कसरी बचाउनसक्छन्? केटाकेटीसँग तिनीहरूको बढ्दो उमेरमा खुलस्त कुराकानी गर्नुका साथै पारस्परिक आदर आदानप्रदान गऱ्यो भने ठूलो भएपछि त्यति धेरै समस्या हुँदैन भनी मेक्गिल विश्वविद्यालयका मनोचिकित्सा विभागका प्राध्यापक, डा. जेफ्री एल. डेरिभेन्सकी बताउँछन्। द ग्याजेट अझ यसो भन्छ, केटाकेटीहरूले किशोरावस्थामा बढी स्वतन्त्रता चाहे तापनि तिनीहरूलाई निरन्तर “आमाबाबुको निर्देशन, सहयोग, मार्गदर्शन र माया” चाहिन्छ। यसरी पत्ता लगाएका कुराहरूले बाइबल हितोपदेशका निम्न शब्दहरू झल्काउँछन्: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” (हितोपदेश २२:६) परमेश्वरले आमाबाबुहरूलाई उदाहरण, मित्र, कुराकानी गर्ने साथी अनि शिक्षक बन्ने सल्लाह दिनुहुन्छ।—व्यवस्था ६:६, ७.