“आफ्नो चर्च इलाकाका मानिसहरूलाई कसरी जगाउने?”
फ्रेन्च क्याथोलिक पत्रिका फ्यामीये क्रेटयेन-ले (मसीही परिवार) हालै सोधेको त्यो प्रश्न थुप्रैका लागि छक्कलाग्दो थिएन। बेलाइतको कार्डिनल ह्युमले चर्च शासित प्रदेशलाई “सुताहा दानवहरू” समेत भने। चर्चका प्रचार गर्ने ससाना समूहहरूलाई मानिसहरूलाई निद्राबाट झकझकाउनको लागि प्रयोग गर्ने प्रस्ताव राखियो। एक जना इटालेली पादरी यसलाई “नयाँ तरिकाहरू अपनाएर मानिसहरूलाई नै भेटेर गरिने प्रचार” भन्छन्। पोपले हालै यस्तो आह्वान गरे तापनि सबैले आफ्नो विश्वासबारे अरूलाई बताउनुपर्ने आवश्यकता महसुस गर्दैनन्।
मिलानका पादरी, पीजी पेरीनी हालै अफ्रिका भ्रमणमा गएका थिए। त्यहाँकी एउटी ननले तिनलाई यसो भनिन्: “म यहाँ बसेको ४० वर्ष भइसक्यो। मैले अफ्रिकी संस्कृतिमा खलल नपुगोस् भनेर यतिका वर्षसम्म एक चोटि पनि येशूको नाउँ पुकारिनँ।” अन्तमा पादरीले यसो भने: “हामीले येशूबारे कुरा गर्न छोडिसक्यौं, येशूबारे अरूलाई बताउँदैनौं, सुसमाचार प्रचार गर्दैनौं!” तथापि, थुप्रैका लागि प्रचार गर्नु आफ्नो जीवनको महत्त्वपूर्ण भाग हुनुका साथै आध्यात्मिक तवरमा जागा रहने माध्यम भएको छ। पीजी पेरीनी यस्तो स्वीकार्छन्: “तपाईंले बजारमा येशूबारे कुरा गर्ने वा काखीमा बाइबल च्यापेर हिंड्ने दुई जना मानिस देख्यो कि मन मनै भन्नुहुन्छ: हेर, यहोवाका साक्षीहरू!”
लाखौं मानिसहरू यहोवाका साक्षीहरूसित परमेश्वरको वचन छलफल गर्छन्। निस्सन्देह, साक्षीहरूले तपाईंकै समुदायमा पनि बाइबल छलफलको लागि प्रबन्ध मिलाएका होलान्। प्रथम शताब्दीमा जस्तै यी जोसिला मसीहीहरू आफ्नो विश्वास अरूलाई सुनाउन एकअर्कालाई प्रोत्साहन दिन्छन्। तिनीहरू भेला हुने ठाउँमा (यसलाई राज्यभवन भनिन्छ) न्यानो स्नेह र मित्रता पाइन्छ। यहोवाका साक्षीहरूले प्रबन्ध गर्ने कुनै एउटा सभामा उपस्थित भएर आध्यात्मिक तवरमा सुस्त नहुन के गर्न सकिन्छ भनेर बुझ्नुभए कसो होला?