बाइबल वितरणको उत्कृष्ट वर्ष
संयुक्त बाइबल संगठनको रिपोर्टअनुसार पहिलाभन्दा अहिले थुप्रै मानिसहरूसित बाइबल छ किनभने सन् १९९८ मा मात्रै गत सालको तुलनामा पाँच लाखभन्दा बढी बाइबल वितरण भएको थियो। विश्वभरि पूर्ण वा आंशिक रूपमा जम्मा ५८,५०,००,००० भन्दा बढी बाइबल वितरण भए। रिपोर्टले बताएअनुसार “यो प्रोत्साहनजनक कुरा हो। आज धेरैभन्दा धेरै मानिसहरूले परमेश्वरको वचन पाइरहेका छन्।”
निस्सन्देह, बाइबल आफूसित हुनु र त्यसको अध्ययन गर्नुमा फरक छ। उदाहरणका लागि, एउटा सर्वेक्षणले देखाएअनुसार ९० प्रतिशत अमेरिकीहरूसित कम्तीमा एउटा बाइबल छ र बाइबलले राम्रो नैतिक शिक्षा दिन्छ भनेर विश्वास गर्ने मानिसहरूको संख्या पनि त्यति नै छ। तथापि, ५९ प्रतिशतले मात्र बाइबलबाट निर्देशन खोज्ने गरेको बताए। अनि २९ प्रतिशतले बताएअनुसार तिनीहरूलाई बाइबलबारे “अलिकता” थाह छ वा “पटक्कै” थाह छैन।
यहोवाका साक्षीहरूले बाइबल छापेर वितरण मात्र गर्दैनन् तर २३० भन्दा बढी मुलुकहरूमा निश्शुल्क गृह बाइबल अध्ययन पनि सञ्चालन गर्छन्। विश्वभरि करोडौंले त्यस बाइबल शैक्षिक कार्यक्रमबाट लाभ उठाइरहेका छन्। तिनीहरूले अहिले सामना गर्नुपरेको समस्याको समाधान गर्न मदत पाउनुका साथै परमेश्वरको राज्यअन्तर्गत उज्ज्ववल भविष्यबारे बाइबलले बताउने कुराहरू पनि सिकिरहेका छन्।—यशैया ४८:१७, १८; मत्ती ६:९, १०.
[पृष्ठ ३२-मा भएका चित्रहरू]
(घडीको सुई घुम्ने दिशाअनुसार माथि बायाँदेखि) बोलिभिया, घाना, श्रीलंका र बेलाइतमा गृह बाइबल अध्ययनहरू