तिनले सिद्धान्तको निम्ति ज्यान दिए
हामी यहोवाका साक्षी (जन्म १९१०) अगस्ट डिक्मानलाई सम्झन्छौं।” यी शब्दहरू शाक्सनहाउसेनको भर्खरै खुल्ला गरिएको पहिलेको यातना शिविरमा रहेको एउटा ताम्रपत्रमा (यहाँ देखाइएको) कुँदिएका छन्। एक जना यहोवाको साक्षीले त्यस्तो ताम्रपत्र पाउन योग्यको के काम गरे? त्यो ताम्रपत्रका बाँकी शब्दहरू यसप्रकार छन्: “आफ्नो धार्मिक अडानको लागि सेप्टेम्बर १५, १९३९ मा [तिनलाई] जनसमुदाय अगाडि एस एस सेनाले मारे।”
अगस्ट डिक्मानलाई शाक्सनहाउसेन यातना शिविरमा १९३७ मा थुनिएको थियो। सन् १९३९ मा दोस्रो विश्वयुद्ध चर्केको तीन दिनपछि तिनलाई सैनिक सेवामा भर्ती हुने फाराम भर्न आदेश दिइयो। तिनले आदेश अस्वीकार गरेपछि त्यस शिविरका कमान्डरले एस एस सेनाका (शुटशाफेल, हिटलरका विशिष्ट सुरक्षादल) प्रमुख हाइनरिक हिमलरलाई भेटेर अरू बन्दीहरूको सामने मृत्युदण्ड दिने स्वीकृति मागे। सेप्टेम्बर १७, १९३९ मा द न्यु योर्क टाइम्स-ले जर्मनीबाट यस्तो रिपोर्ट गऱ्यो: “२९ वर्षीय अगस्ट डिक्मानलाई . . . गोली हानेर मारियो।” उक्त समाचारपत्रअनुसार धार्मिक अडान लिएर त्यस युद्धको विरोध गर्ने तिनी प्रथम जर्मन नागरिक थिए।
त्यसको साठी वर्षपछि सेप्टेम्बर १८, १९९९ मा ब्रान्डेनबर्ग मेमोरियल फाउन्डेशनले डिक्मानको मृत्युको स्मरणार्थ मनायो। अनि त्यस स्मृतिपत्रले आगन्तुकहरूलाई तिनको साहस तथा बलियो विश्वासको सम्झना दिलाउँछ। पहिलेको त्यस शिविरको बाहिरी भित्तामा टाँगिएको दोस्रो ताम्रपत्रले चाहिं डिक्मानजस्तै अरू यहोवाका लगभग ९०० जना जति साक्षीहरूले शाक्सनहाउसेनमा दुःख भोगे भनेर आगन्तुकहरूलाई स्मरण दिलाउँछ। अरू थुप्रैले अन्य शिविरहरूमा दुःख भोगे। हो, यातना शिविरका भयावह अवस्थामा पनि थुप्रै व्यक्तिहरू ईश्वरीय सिद्धान्तहरूप्रति वफादार रहे।
“[सरकारी] उच्च अख्तियारवालाहरूका अधीनमा” रहनु यहोवाका साक्षीहरूको मसीही दायित्व हो। (रोमी १३:१) तथापि, सरकारहरूले तिनीहरूलाई परमेश्वरको नियम उल्लंघन गर्न दबाउ दिंदा भने तिनीहरूले ख्रीष्टका प्रेरितहरूको उदाहरण पछ्याउँछन्। तिनीहरूले भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” (प्रेरित ५:२९) परिणामस्वरूप, जातीय शत्रुता र वर्गीय घृणाले गर्दा बीभत्स घटनाहरू भइरहेका ठाउँमा पनि यहोवाका साक्षीहरूले अगस्ट डिक्मानले जस्तै शान्तिको मार्ग अपनाउँछन्। तिनीहरूले बाइबलको यो अर्ती पालन गर्छन्: “खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।”—रोमी १२:२१.