“हे परमप्रभु तपाईंको वेदीको रिंगै म घुम्नेछु”
“म आफ्नो हात निर्दोषतामा धुनेछु। यसरी, हे परमप्रभु तपाईंको वेदीको रिंगै म घुम्नेछु।” (भजन २६:६) यी शब्दहरूद्वारा पुरातन समयका राजा दाऊदले यहोवाप्रतिको आफ्नो भक्ति प्रकट गरे। तर तिनी किन यहोवाको वेदीको ‘रिंगै घुम्नेछन्’ र कुन अर्थमा?
दाऊदको निम्ति यहोवाको उपासनाको केन्द्र भनेकै तामाले मोहोरेको बलिदानको वेदी भएको बासस्थान थियो र त्यो वेदी तिनको शासनकालमा यरूशलेमको उत्तरतिर गिबोनमा थियो। (१ राजा ३:४) त्यो वेदी दुई वर्ग मिटर जति मात्र थियो। यो सुलेमानको मन्दिरको चोकमा बनाइने भव्य वेदीभन्दा धेरै सानो थियो।a तैपनि, वेदी भएको बासस्थानमा दाऊद धेरै रमाउँथे। यो इस्राएलमा शुद्ध उपासनाको केन्द्र थियो।—भजन २६:८.
वेदीमा होमबलि, मेलबलि र दोषबलि चढाइन्थ्यो र वार्षिक प्रायश्चित्तको दिनमा सम्पूर्ण राष्ट्रको खातिर नै बलि चढाइन्थ्यो। त्यतिबेलाको वेदी तथा बलि आज मसीहीहरूको निम्ति पनि अर्थपूर्ण छ। वेदीले परमेश्वरको इच्छाको प्रतिनिधित्व गर्छ र त्यहीबमोजिम उहाँले मानिसको छुटकाराको निम्ति उचित बलि स्वीकार्नुहुन्थ्यो भनेर प्रेरित पावलले बताए। तिनले भने: “त्यही इच्छाबाट ता येशू ख्रीष्टको शरीरको एकैचोटिको अर्पणद्वारा हामी पवित्र भएका छौं।”—हिब्रू १०:५-१०.
वेदीमा सेवा चढाउनुअघि पूजाहारीले आफूलाई स्वच्छ पार्न पानीले हात धुने चलन थियो। तसर्थ, राजा दाऊदले ‘वेदी रिंगै घुम्नुअघि’ आफ्नो हात “निर्दोषतामा” धुनु उचित थियो। तिनले ‘इमानदारी र सोझोपनामा’ आज्ञा माने। (१ राजा ९:४) यसरी तिनले आफ्नो हात नधोएको भए तिनको उपासना अर्थात् ‘वेदीको रिंगै घुम्नु’ स्वीकार्य हुँदैनथ्यो। निस्सन्देह, दाऊद लेवी थिएनन् र वेदीमा पूजाहारीको सेवा गर्ने सुअवसर तिनले पाउँदैनथे। राजा भए तापनि तिनी बासस्थानको चोकमा समेत जान पाउँदैनथे। तैपनि, विश्वासी इस्राएलीको हैसियतमा तिनले मोशालाई दिइएको व्यवस्था पालन गरे र नियमित रूपमा वेदीमा आफ्ना भेटीहरू चढाउन ल्याउँथे। शुद्ध उपासनामै आफ्नो जीवन केन्द्रित गरेर तिनले वेदी रिंगै घुमे।
के आज हामी दाऊदको अनुकरण गर्नसक्छौं? अवश्य। हामीले पनि येशूको बलिदानमा विश्वास गऱ्यौं भने आफ्नो हात निर्दोषतामा धोएर परमेश्वरको वेदी वरिपरि घुम्नसक्छौं। अनि ‘निष्कलंक हात र शुद्ध हृदयले’ यहोवाको सेवा तनमनले गर्नसक्छौं।—भजन २४:४.
[फुटनोट]
a त्यो वेदी लगभग ९ वर्ग मिटर थियो।
[पृष्ठ २३-मा भएको चित्र]
वेदीले परमेश्वरको इच्छाको प्रतिनिधित्व गर्छ र त्यहीबमोजिम उहाँले मानिसको छुटकाराको निम्ति उचित बलि स्वीकार्नुहुन्छ