विश्वशान्ति कसरी?
के विश्वशान्ति चाँडै प्राप्त हुन लागेको छ? थुप्रैले त्यस्तै ठानेका थिए तर अहिले शंका गर्न थालेका छन्। दक्षिण अफ्रिकाको डेलि मेल एण्ड गार्डियन-मा हाम्रो भविष्यका चुनौतीहरूबारे छलफल गरिएको एउटा रिपोर्टमा “दस वर्षअघि मात्र गरिएको नयाँ विश्व व्यवस्थाको परिकल्पना अहिले अत्यन्तै आशाविहीन देखिन्छ।”
उक्त रिपोर्टमा एक दशकअघि मात्र व्याप्त आशावादी मनोवृत्तिबारे लेखक उल्लेख गर्छन्। शीतयुद्ध भर्खरै मात्र अन्त भएको थियो र विश्वशक्तिहरूबीच कुनै द्वन्द्व थिएन। नयाँ युगको थालनी भएको जस्तो देखिएकोले थुप्रैले मानिसजातिले अब गरिबी, भोकमरी र वातावरणीय समस्याहरूसँग जुझ्न केही ठोस कदम चाल्नेछन् भन्ठानेका थिए। रिपोर्टले यसो भन्छ, “अहिले त्यो भविष्यवाणी एकदमै काल्पनिक देखिन्छ। हामीले कहिल्यै नसुनेको ठाउँहरूमा युद्धहरू भइरहेको छ र विश्वमा भोकमरी झन् झनै बढिरहेको छ। दुई आणविक शक्तिहरू छन्। सं.रा. मानवतावादी संकष्टहरूमा सहयोग गर्न असफल भएको कारण एकदम बदनाम भएको छ। आशावादीहरू निराशावादीमा परिणत भइरहेका छन्।”
बाइबल विद्यार्थीहरूलाई मानिसले जत्ति नै असल मनसायले प्रयास गरे तापनि पूर्णतया कहिल्यै सफल हुन सक्दैनन् भनेर थाह छ। किन? किनभने बाइबल यसो भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) यो पृथ्वी शैतानको अधीनमा रहुञ्जेल पृथ्वीलाई कहिल्यै पनि परमेश्वरले सृष्टि गर्नुभएको प्रमोदवनमा परिणत गर्न सकिंदैन।
तर आशा गर्ने आधार पनि छ। यहोवा परमेश्वरले यसै रीतिरिवाजलाई टालटुल गर्ने होइन तर “धार्मिकताले बास” गर्ने “नयाँ पृथ्वी” स्थापना गर्ने नयाँ विश्वशान्ति ल्याउने प्रतिज्ञा गर्नुभएको छ। (२ पत्रुस ३:१३) हो, परमेश्वरको राज्यमार्फत हाम्रो पृथ्वी शान्तमय, आनन्दित घरमा परिणत हुनेछ। त्यहाँ सबै आज्ञाकारी मानिसजातिले एकदमै आनन्ददायी जीवन यापन गर्नुका साथै काम गर्नेछन्। यसबाहेक, परमेश्वरले “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन” भनेर प्रतिज्ञा गर्नुभएको छ। यी प्रतिज्ञाहरू मानिसको धरमराउँदो पूर्वानुमानमा आधारित होइनन्। बरु, तिनीहरू कहिल्यै झूट नबोल्नु हुने सृष्टिकर्ताका शब्दहरूमा आधारित छन्।—प्रकाश २१:४; तीतस १:२.