भित्री सौन्दर्य चिरस्थायी हुन्छ
एक विश्वासी वृद्ध मसीहीले यसो भने, “जवान मानिसले सौन्दर्यलाई नै सद्गुण ठान्छ।”
हो, मानिसले पहिलेदेखि नै बाहिरी सौन्दर्यलाई अत्यधिक महत्त्व दिंदै आएको छ र यसले गर्दा भित्री गुणहरूको कुनै महत्त्व राखिंदैन। यद्यपि, हाम्रो सृष्टिकर्ताले बाह्य रूपरंगलाई वास्ता गर्नुहुन्न, तर हामी भित्र के छ, त्यो हेर्नुहुन्छ। यसरी उहाँले परिपक्व न्यायको उत्कृष्ट उदाहरण बसाल्नुहुन्छ। बाइबलअनुसार परमेश्वर आफैले यसो भन्नुभयो: “परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।”—१ शमूएल १६:७.
परमेश्वर, मानिसको साँचो सौन्दर्यको स्रोत हुनुहुन्छ र कुनै व्यक्तिको वास्तविक योग्यताको मूल्यांकन गर्दा आध्यात्मिक गुणहरूलाई नै बढी महत्त्वपूर्ण मानिन्छ भनी उहाँको वचनले स्पष्टसँग बताउँछ। बाइबल यसो भन्छ: “सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उडिजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीनै आदरणीय हुन्छिन्।” (हितोपदेश ३१:३०) हो, बाहिरी आकर्षणले भित्री कुरूपतालाई ढाक्नसक्छ। (एस्तर १:१०-१२; हितोपदेश ११:२२) शारीरिक सौन्दर्य समय बित्दै जाँदा ओइलाएर जान्छ तर भित्री सौन्दर्य अर्थात् हृदयको गुण भने झन् झन् बढ्छ र चिरस्थायी हुन्छ।
त्यसकारण, प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयमजस्ता गुणहरू खेती गर्नु साह्रै बुद्धिमानी हो! (गलाती ५:२२, २३) यसरी हामीले चिरस्थायी भित्री सौन्दर्य प्राप्त गर्नसक्छौं।—१ पत्रुस ३:३, ४.