“सबै हर्षित हुनुपर्ने एउटा कारण”
दक्षिण प्रशान्तमा नौ टापुहरू मिलेर बनेको एउटा सुन्दर देश टुभालुमा लगभग १०,५०० जनसंख्या छ। “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने” परमेश्वरको इच्छा थाह भएका स्थानीय यहोवाका साक्षीहरू आफ्नै भाषामा बाइबल साहित्यहरूको चाहना गर्थे। (१ तिमोथी २:४) यो काम चुनौतीपूर्ण थियो किनभने त्यहाँको स्थानीय भाषामा एउटै पनि शब्दकोश थिएन। सन् १९७९ मा टुभालुमा सेवा गरिरहेका यहोवाका साक्षीहरूको मिसनरीले यस चुनौतीलाई स्वीकारे। तिनी र तिनकी पत्नी स्थानीय परिवारसँगै बसेर भाषा सिके र बिस्तारै टुभालु भाषाका शब्दहरू संग्रह गरे। वाचटावर बाइबल एण्ड ट्राक्स सोसाइटीले सन् १९८४ सम्ममा टुभालु भाषामा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रकाशित गऱ्यो।
टुभालुका पूर्व प्रधानमन्त्री डा. टि. पुवापुवाले सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको निम्ति मूल्यांकन व्यक्त गर्दै एउटा पत्र लेखे। तिनले यस्तो लेखे: “टुभालुको अनमोल ‘सम्पदाहरूमा’ यो पुस्तक पनि एउटा थप नयाँ महत्त्वपूर्ण आयाम हो। तपाईंहरूले निर्वाह गर्नुभएको भूमिकाको निम्ति तपाईंहरू अत्यन्तै आनन्दित हुनुपर्छ। यो किताब यस देशका मानिसहरूको आध्यात्मिक जीवन निर्माण गर्न एकदमै उत्कृष्ट छ। शैक्षिक पुस्तक छाप्ने सन्दर्भमा यो काम टुभालुको इतिहासमा लेखिने छ भन्ने मेरो विश्वास छ। . . . यो [उपलब्धि] सबै हर्षित हुनुपर्ने एउटा कारण हो।”
अनुवादकहरूले संकलन गरेको शब्द सूचीको कारण सन् १९९३ मा टुभालु-अंग्रेजी शब्दकोश प्रकाशित गरियो। सर्वसाधारणले पाएको यो पहिलो शब्दकोश थियो। हालै, नेसनल ल्यांगवेज बोर्ड अफ टुभालुले पहिलो स्थानीय भाषामा शब्दकोश बनाउन त्यो शब्दकोश चलाउने अनुमति माग्यो।
जनवरी १, १९८९ देखि टुभालु भाषामा प्रहरीधरहरा पत्रिका मासिक रूपमा प्रकाशित हुँदै आएको छ। तपाईंले यो प्रहरीधरहरा पत्रिका अर्कै भाषामा पढ्दै हुनुहुन्छ भने तपाईंको आफ्नै भाषामा पनि उपलब्ध छ कि भनेर यस पत्रिकाको पृष्ठ २ मा हेरे कसो होला? आफ्नै भाषामा पढ्नुहुँदा निस्सन्देह तपाईंले थप आनन्द पाउनुहुनेछ।