कृतज्ञ र आनन्दित हुनुहोस्
“कृतज्ञ हुनु आधारभूत मानव अनुभूति हो” भनी क्यानाडाको अखबार क्यालागरी हेराल्ड-ले बतायो। हेराल्ड अखबारमा नौ वर्षका स्कूल जाने केही विद्यार्थीहरूलाई तिनीहरूको शिक्षकले तिनीहरू कुनकुन कुरामा कृतज्ञ छन् भनी लेख्न लगाइएको कुरा उद्धृत गरिएको थियो। एक जना बच्चाले आफू आफ्नो परिवारप्रति कृतज्ञ भएको कुरा बताए ‘किनभने परिवारले तिनको राम्रो हेरचाह गरेको’ थियो। एक जना बच्चीले पनि आफ्नो परिवारप्रति कृतज्ञ भएको कुरा बताउँदै यसो भनिन्: “उहाँहरूले मलाई सुरक्षित, स्वस्थ राख्नुका साथै मेरो राम्रो हेरचाह गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, खाना दिनुहुन्छ र मेरो आमाबाबु नभएको भए सायद म यस पृथ्वीमा हुँदा पनि हुदिनँ थिएँ होला।”
कृतघ्न भयो भने अत्यन्तै असन्तुष्ट होइन्छ। दार्शनिक तथा धर्मविद् जे. आइ. पार्करका अनुसार “हामी परमेश्वर र एक आपसमा निर्भर हुनुपर्ने गरी सृष्टि भएका छौं।” यसले हामीलाई शताब्दीयौंअघि बाइबलले दिएको बुद्धिमानी सल्लाह सम्झाउँछ, जहाँ यसो भनिएको छ: “तिमीहरू धन्यवादी होओ।” (कलस्सी ३:१५) अरूलाई धन्यवाद दियौं र हृदयदेखि नै कृतज्ञता जाहेर गऱ्यौं भने, त्यसले अरूसँग मायालु सम्बन्ध विकास गर्न मदत गर्छ।
यसबाहेक, एकअर्काको मूल्यांकन र कदर गर्दा हामी यहोवाप्रति कृतज्ञ छौं भनेर पनि प्रदर्शित गरिरहेका हुन्छौं र उहाँले यो याद गर्नुहुन्छ। बाइबल यसो भन्छ: “जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै [यहोवाको] दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) मानिसहरूले परमेश्वरको नाउँप्रति देखाएको प्रेम उहाँले सम्झनुका साथै त्यसलाई मूल्यवान् ठान्नुहुन्छ भनी उहाँ हामीलाई आश्वासन दिनुहुन्छ। (हिब्रू ६:१०) हो, हामीसँग कृतज्ञ हुने असल कारण छ किनभने यो ईश्वरीय सद्गुण दिनहुँ व्यक्त गऱ्यौं भने यसले यहोवालाई खुसी बनाउँछ र हामी पनि आनन्दित हुन्छौं। हितोपदेश १५:१३ मा भनेझैं “प्रसन्न हृदयले मुख उज्यालो पार्छ।”