तपाईंको अन्तस्करण प्रशिक्षित हुनुपर्छ
आन्टार्टिकातर्फ उडेको एयर न्युजील्याण्डको उडान न. ९०१ मा भएका यात्रु र उडान टोली सबैको निम्ति त्यो दिन स्मरणीय हुने कुरामा कुनै सन्देह थिएन। सबै जना फोटो खिच्न क्यामेरा लिएर तयार थिए र जसै डि सी-१० हवाईजहाज सुन्दर दृश्य भएको आन्टार्टिका नजिकै भएर उड्न थाल्यो सबै खुसीले रमाउन थाले।
पन्ध्र वर्षदेखि विमानचालकको रूपमा काम गर्दै आएका क्यापटेनले ११,००० भन्दा बढी घण्टा विमान उडाइसकेका थिए। तिनले विमान उडाउनुअघि विमानको कम्प्युटरमा उडानसम्बन्धी जानकारीहरू होसियारीसाथ हालेका थिए तर तिनलाई आफूले गलत तथ्यांकहरू हालेछु भनी यादै भएन। छ सय मिटरको उचाइमा बादलहरू हुँदै उडिरहेको डि सी-१० हवाईजहाज माउन्ट इरिबसको तल्लो भीरमा ठोक्किएर दुर्घटनाग्रस्त भयो र उडानमा भएका २५७ जना मानिसहरू सबै मरे।
आज हवाईजहाजहरू जसरी कम्प्युटरमा भर पर्छन् त्यसै गरी मानिसजातिलाई पनि तिनीहरूको जीवनको मार्गमा डोऱ्याउन अन्तस्करण दिइएको छ। उडान न. ९०१ को दुःखदायी दुर्घटनाबाट हामीले आफ्नो अन्तस्करणबारे केही सशक्त पाठ सिक्नसक्छौं। उदाहरणका लागि, जसरी उडानको सुरक्षा व्यवस्था सुचारु रूपमा चल्नु र सही जानकारीमा भरपर्छ त्यसै गरी हाम्रो आध्यात्मिक, नैतिक र शारीरिक सुस्वास्थ्य पनि सही नैतिक जानकारी दिने अन्तस्करणको डोऱ्याइमा भरपर्छ।
दुःखको कुरा, आजको संसारमा त्यस्तो सही जानकारीहरू या त लोप हुँदैछ या त बेवास्ता गरिदैंछ। एक जना अमेरिकी शिक्षाविद्ले यसो भनिन्: “आजभोलि हामी केटाकेटीले पढ्न जानेन, लेख्न जानेन र मानचित्रमा फ्रान्सको नक्सासमेत भेट्टाउन सक्दैन भन्नेजस्ता धेरै कुराहरू सुन्छौं। तर यो कुरा पनि साँचो हो कि, केटाकेटीलाई सही र गलतबीच भिन्नता छुट्याउन पनि गाह्रो भइरहेको छ। हामीले निरक्षरता र हिसाबकिताब गर्न नजान्नुजस्ता समस्याका साथै अत्यन्तै अस्पष्ट नैतिक सिद्धान्तको समस्यालाई पनि समावेश गर्नुपर्छ।” तिनले यो कुरा पनि उल्लेख गरिन्: “आजका केटाकेटी नैतिक अस्पष्टताको कुहिरोमा रुमलिएका छन्। तिनीहरूमध्ये कसैलाई ‘सही र गलत’ भन्ने कुरा छ कि छैन भनी सोध्यो भने तिनीहरू अलमल्लमा पर्छन्, नाजवाफ हुन्छन्, हडबडाउँछन् र असुरक्षित व्यक्तिविशेष जस्तो महसुस गर्छन्। . . . तिनीहरू कलेजमा पुगेपछि यो अवस्था झनै नाजुक हुन्छ।”
यस्तो गोलमालको एउटा कारण नैतिक सापेक्षिकता अर्थात् स्तरहरू व्यक्तिगत वा सांस्कृतिक रुचिअनुसार फरकफरक हुनसक्छ भन्ने विचारधारा हो। विमानचालकले निश्चित जानकारीअनुसार नभई प्रकाश कुन दिशाबाट आइरहेको हो ठम्याउन गाह्रो पर्ने वा कहिलेकाहीं पूरै हराउने पथप्रदर्शक प्रकाशको भरमा विमान उडायो भने कस्तो हालत हुन्छ होला, कल्पना गर्नुहोस् त। अनि माउन्ट इरिबसमा भएका जस्ता दुर्घटनाहरू अवश्य पनि सामान्य हुनेछन्। त्यसै गरी अटल नैतिक स्तरहरूलाई तिरस्कार गर्दा संसारले दुःख र मृत्युको कहालीलाग्दा नतिजाहरू भोगिरहेको छ र परिवारहरू अवफादारीको कारण टुक्रिरहेका छन् र लाखौं मानिसहरू एड्स वा अन्य यौनजन्य रोगबाट ग्रस्त छन्।
नैतिक सापेक्षिकता भन्ने शब्द सुन्दा ठूलो, राम्रो सुनिएला तर वास्तविकतामा यसका अनुयायीहरू पुरातन समयका निनवेवासीहरू जस्तै हुन्, जसले “दाहिने र देब्रे हातै चिन्नसक्तैनन्।” नैतिक सापेक्षिकता मान्ने मानिसहरू धर्मत्यागी इस्राएलीहरूसँग मिल्दाजुल्दा छन्, जो “तीतोलाई मीठो र मीठोलाई तीतो” भन्थे।—योना ४:११; यशैया ५:२०.
त्यसोभए हाम्रो अन्तस्करणलाई सुरक्षित निर्देशक बनाउन आवश्यक स्पष्ट व्यवस्था तथा सिद्धान्तहरू कहाँ पाउनसक्छौं? लाखौंले यो आवश्यकता बाइबलले पूरा गरेको पाएका छन्। चरित्रदेखि इमानदारी कार्यशैली र केटाकेटीको प्रशिक्षणदेखि परमेश्वरको उपासना सबै कुरा बाइबलमा पाइन्छ। (२ तिमोथी ३:१६) शताब्दीयौंको दौडान यो पूर्णतया भरोसायोग्य साबित भएको छ। बाइबलका स्तरहरू सर्वोच्च अख्तियारवाला, हाम्रो सृष्टिकर्ताले स्थापना गर्नुभएको कारण यो सबै मानिसजातिको निम्ति व्यावहारिक छ। त्यसैकारण, हामीले नैतिक अनिश्चितताको जीवन बिताउनु पर्दैन।
तथापि, तपाईंको अन्तस्करणले अहिले जस्तो पहिला कहिल्यै आक्रमणको सामना गर्नुपरेको छैन। किन अहिले यस्तो आक्रमणको सामना गर्नु परेको होला? तपाईं कसरी आफ्नो अन्तस्करण सुरक्षित राख्न सक्नुहुन्छ? एउटा उत्तम तरिका यस आक्रमणको स्रोत र त्यसका चालहरूबारे बुझ्नु हो। यी कुराहरू यसपछिको लेखमा छलफल गरिनेछ।