पाठकहरूका प्रश्नहरू
प्रस्थान ४:२४-२६ मा लिपिबद्ध घटना घट्दा के भएको थियो अनि कसको ज्यान खतरामा परेको थियो?
निम्न घटना घट्दा मोशा आफ्नी पत्नी सिप्पोरा अनि आफ्ना छोराहरू गेर्शोम र एलीएजेरसित मिश्रतिर जाँदै थिए: “बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले [“तिनलाई,” NW] भेट्नुभयो, र मार्ने इच्छा गर्नुभयो। तर सिप्पोराले एउटा चकमके ढुङ्गा लिएर आफ्नो छोराको खलड़ी च्वाट्टै काटेर [“उहाँको,” NW] खुट्टामा छुवाएर अघाड़ि राखिदिइन्। औ तिनले भनिन्, ‘यस खतनाको कारणले तपाईं रगतको दुलहा हुनुहुन्छ।’ तब उहाँले तिनलाई छोड़िदिनुभयो। तब [“उनले,” NW] खतनाको कारणले गर्दा भनिन्, ‘तपाईं रगतको दुलहा हुनुहुन्छ।’ ” (प्रस्थान ४:२०, २४-२६) यो विवरण अस्पष्ट हुनुका साथै यसको अर्थ यही हो भनेर यकिन गर्न सम्भव नभए तापनि यी पदहरूबारे धर्मशास्त्रले केही स्पष्टीकरण भने दिन्छ।
कसको ज्यान खतरामा परेको थियो भनेर धर्मशास्त्रले तोकेरै बताउँदैन। यद्यपि, मोशाको ज्यान खतरामा परेको थिएन भनी हामी तोकेरै भन्न सक्छौं। किनकि मोशाले भर्खरै इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउने काममा नेतृत्व लिने ईश्वरीय आज्ञा पाएका थिए। (प्रस्थान ३:१०) उक्त जिम्मेवारी पूरा गर्न जाने क्रममा स्वर्गदूतले मोशाको ज्यान लिने धम्की दिने थिए भन्नु तर्कसंगत देखिंदैन। त्यसैले मोशाको कुनै एउटा छोराको ज्यानमाथि खतरा आइपरेको हुन सक्थ्यो। खतनासम्बन्धी सुरुमा अब्राहामलाई दिइएको व्यवस्थामा यसो भनिएको थियो: “खतना नगरिएको जुनसुकै पुरुष जाति जसको शरीरमा खलड़ीको खतना भएको छैन त्यो मानिस आफ्नो जातिबाट बहिष्कार गरिनेछ। त्यसले मेरो करार भङ्ग गरेको हुन्छ।” (उत्पत्ति १७:१४) स्पष्टतः मोशाले आफ्नो छोराको खतना गर्न हेलचक्य्राइँ गरेका थिए र त्यसैले यहोवाको स्वर्गदूतद्वारा त्यस केटोको ज्यानलाई खतरा थियो।
परिस्थितिलाई साम्य पार्नको लागि सिप्पोराले आफ्नो छोराको खलडी काटेर कसको खुट्टामा छुवाएकी थिइन्? उनले यहोवाको त्यो स्वर्गदूतको खुट्टामा छुवाएकी थिइन् जोसित खतना नगरिएको छोरालाई मार्ने अधिकार थियो। तसर्थ, आफूले व्यवस्था पूरा गरेको छु भनेर प्रमाणित गर्न सिप्पोराले स्वर्गदूतको खुट्टामा खलडी छुवाउनुपरेको थियो भन्नु तर्कसंगत देखिन्छ।
सिप्पोराले प्रयोग गरेको “तपाईं रगतको दुलहा हुनुहुन्छ” भन्ने अभिव्यक्ति अस्वाभाविक छ। यसले उनीबारे कुन कुरालाई सङ्केत गर्छ? खतनासम्बन्धी करारको आवश्यकतालाई पालन गरेर सिप्पोराले यहोवासितको करारको सम्बन्धलाई मानिलिइन्। पछि इस्राएलीहरूसित बाँधिएको व्यवस्थाको करारले, करारसम्बन्धमा यहोवालाई पति अनि अर्को पक्षलाई पत्नीको रूपमा लिन सकिन्छ भन्ने कुरा स्पष्ट पाऱ्यो। (यर्मिया ३१:३२) तसर्थ, यहोवालाई “रगतको दुलहा[को]” रूपमा सम्बोधन गर्दा सिप्पोराले, उक्त करारका सर्तहरूप्रतिको आफ्नो अधीनतालाई मानिलिएको देखिन्छ। खतनाको करारको सन्दर्भमा उनले यहोवालाई पति अनि आफूलाई पत्नीको स्थानमा राखेकी हुन सक्छिन्। जे होस्, परमेश्वरका आवश्यकताहरूप्रति आज्ञाकारिता देखाउँदै उनले चालेको यो निर्णायक कदमले उनको छोराको ज्यान जोगियो।