परमेश्वरको वचनद्वारा के तपाईं बलियो हुनुभएको छ?
चुनौतीहरूको सामना गर्दा, तपाईं कसरी त्यसको समाधान गर्नुहुन्छ? येशूको सन्दर्भमा भन्ने हो भने, उपयुक्त शास्त्रपद सम्झँदा त्यसले उहाँलाई शैतानका चुनौतीहरू सामना गर्न मदत गऱ्यो। (मत्ती ४:१-११) त्यस्तै गरी, राजा दाऊदले व्यक्तिगत परीक्षाहरूको सामना गरेको बेला परमेश्वरको वचनले तिनलाई बलियो बनायो। तिनले यसो भने: “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्।”— भजन ९४:१९.
त्यसै गरी, आफूलाई मनपर्ने शास्त्रपद सम्झँदा त्यसले हामीलाई सान्त्वना दिन सक्छ अथवा चुनौतीहरूको सामना गर्नुपर्दा बल दिन सक्छ। उदाहरणका लागि, ८९ वर्ष टेकेका रेक्सले १९३१ देखि पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्दै आएका छन्। तरैपनि तिनी यसो भन्छन्: “सेवकाईमा मलाई विशेष जिम्मेवारी दिइँदा म अक्सर अयोग्य महसुस गर्थें।” तिनले कसरी त्यसको सामना गरे? “मैले मलाई मनपर्ने शास्त्रपद, हितोपदेश ३:५ सम्झें, जहाँ यसो भनिएको छ: ‘तेरो सारा भरोसा यहोवामा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्।’ यो शास्त्रपद सम्झिनुका साथै व्यवहारमा उतार्दा त्यसले मलाई आफ्ना जिम्मेवारीहरू सफलतापूर्वक पूरा गर्न मदत गऱ्यो।”
केटाकेटीले समेत आफूलाई मनपर्ने शास्त्रपदबाट लाभ उठाउँछन्। छ वर्षीय ज्याक आफूलाई मनपर्ने शास्त्रपद मत्ती २४:१४ हो भनी बताउँछन्। यस शास्त्रपदले तिनलाई आफ्ना आमाबुबासँगै प्रचारमा जान उत्प्रेरित गर्छ। तिनी यसो भन्छन्: “मलाई हरेक शनिबार मेरी आमा, बुबा र दिदीसँग प्रचारमा जान रमाइलो लाग्छ।”
येशूले जस्तै, के तपाईं कहिलेकाहीं आफ्नो विश्वासको कारण प्रत्यक्ष चुनौतीहरूको सामना गर्नुहुन्छ? गर्नुहुन्छ भने, फिलिप्पी ४:१३ तपाईंलाई मनपर्ने शास्त्रपद हुन सक्छ। राजा दाऊदजस्तै के तपाईं पनि “मनमा ज्यादा फिक्री” भएको कारण पिरोलिनुहुन्छ? त्यसो हो भने, फिलिप्पी ४:६, ७ सम्झँदा तपाईंले त्यसको सामना गर्ने मदत पाउन सक्नुहुन्छ। के तपाईं कहिलेकाहीं परमेश्वरप्रतिको आफ्नो सेवा व्यर्थ भयो भनेर चिन्ता गर्नुहुन्छ? त्यसो हो भने, १ कोरिन्थी १५:५८ सम्झँदा तपाईंले बल पाउनुहुनेछ।
उपयुक्त शास्त्रपदहरू सम्झेर हामी आफ्नो जीवनमा परमेश्वरको वचनलाई प्रबल हुन दिन्छौं। (हिब्रू ४:१२) आफूलाई मनपर्ने यस्ता शास्त्रपदहरूले हामीलाई बल अनि सान्त्वना दुवै प्रदान गर्छ।— रोमी १५:४.