लामो तथा सुखी जीवनको सूत्र
एउटा यस्तो भनाइ छ: “सबै जना आफ्नो उमेर बढेको चाहन्छन्; तर कोही पनि बूढाबूढी हुन भने चाहँदैनन्।” अवकाश पाउने उमेर पुग्न लागेका थुप्रै मानिसहरू प्रशस्त समय र थोरै जिम्मेवारीहरू होस् भन्ने आशा गर्छन्। यद्यपि, तिनीहरू उद्देश्यहीन र बेकम्मा हुनदेखि डराउँछन्। तिनीहरू एक्लोपन, दुःख अनि बिग्रँदो स्वास्थ्यदेखि पनि डराउँछन्।
त्यसोभए, सुखी जीवनको कुञ्जी के हो त? असल मित्रहरू र मायालु परिवारले जवान तथा वृद्ध दुवैलाई आनन्दित तुल्याउन मदत गर्छन्। तर वृद्ध मानिसको जीवनमा अरूले पुऱ्याउने योगदान नै सर्वमहत्त्वपूर्ण कुरा भने होइन। त्योभन्दा महत्त्वपूर्ण कुरा त, वृद्ध व्यक्तिले अरूको लागि के गर्न सक्छन् भन्ने हो।
लामो समय लगाएर ४२३ विवाहित जोडीहरूसित गरिएको अध्ययनले संकेत गरेअनुसार “अरू मानिसहरूको जीवनमा योगदान पुऱ्याउँदा, त्यसले हाम्रो आफ्नै जीवन लम्ब्याउन मदत गर्न सक्छ।” यस अध्ययनकी सञ्चालक स्टिफेनी ब्राउन यसो भन्छिन्: “अरूबाट पाइने कुराले होइन तर हामीले दिने कुराले अरूसितको सम्बन्ध लाभदायी बन्छ भनी यी खोजहरूले देखाउँछ।” यसरी दिनुमा घरको कामकाजमा अरूलाई सघाउनु, छोराछोरीको हेरविचार गरिदिनु, सानोतिनो काम गरिदिनु, गाडीको प्रबन्ध मिलाइदिनु वा कुरा गर्न चाहने व्यक्तिको कुरा सुनिदिनु समावेश छ।
लगभग २,००० वर्षअघि येशूले यसो भन्नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) लामो अनि सुखी जीवनको सूत्रमा अकूत सम्पत्ति वा बूढाबूढी हुनदेखि रोक्ने उपचार र खानपान समावेश छैन। बरु, यसमा सक्रिय रहनु अनि अरूको जीवनलाई अझ अर्थपूर्ण बनाउन आफ्नो समय, शक्ति र बल दिनु समावेश छ।
यद्यपि, यी कुराहरू दिंदैमा वृद्धावस्था, रोगबिमार र मृत्युबाट बच्न सकिंदैन। परमेश्वरको राज्यले मात्र यी कुराहरू हटाउनेछ। यस राज्यको शासनअन्तर्गत रोगबिमारको नामोनिसान रहनेछैन र “मृत्यु[समेत] हुनेछैन।” (प्रकाश २१:३, ४; यशैया ३३:२४) साँच्चै, आज्ञाकारी मानिसहरू पार्थिव प्रमोदवनमा सधैंभरि आनन्दित भएर बाँच्नेछन्। (लूका २३:४३, NW) लामो र सुखी जीवनको बाइबल-आधारित यो सूत्र अरूलाई पनि बताउन सकेकोमा यहोवाका साक्षीहरू खुसी छन्।