राज्य उद्घोषकहरूको रिपोर्ट
“आएर हामीलाई मदत गर्नुहोस्”
जुलाई २००० मा अष्ट्रिया, जर्मनी अनि स्वीजरल्याण्डका जर्मन भाषा बोल्ने साक्षीहरूलाई बोलिभियामा बसाइँ सर्ने निमन्त्रणा दिइयो। तर किन? बोलिभियाको सान्टा क्रुज क्षेत्रदेखि ३०० किलोमिटर भित्रको पृथक कृषिप्रधान बस्तीमा जर्मन भाषा बोल्ने मेनोनाइटहरू अर्थात् एउटा प्रोटेस्टेन्ट समूहले बाइबलमा उत्कट चासो देखाइरहेको थियो।
झन्डै १४० साक्षीहरूले यो निमन्त्रणालाई स्वीकारे। कोही-कोही एक हप्ताको लागि अनि अरूचाहिं एक वर्ष वा त्योभन्दा बढी समयको लागि त्यहाँ गए। यसरी तिनीहरूले, ‘‘म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्” भन्ने आह्वानलाई स्वीकार्ने प्रथम शताब्दीका मिसनरीहरूको जस्तै मनोभाव देखाए।—प्रेरित १६:९, १०.
त्यस क्षेत्रमा साक्षी दिंदाको अनुभव कस्तो छ? स्थानीय मण्डलीका एक प्राचीन यसो भन्छन्: “त्यहाँका ४३ वटा मेनोनाइट बस्तीहरूमध्ये कुनै एउटा बस्तीमा पुग्न कच्ची सडकहरूमा फोर ह्विल ड्राइभ गाडीबाट आठ घण्टा जतिको यात्रा गर्नुपर्छ। अझै टाढ-टाढाका बस्तीहरूमा जान त प्रायः चार दिन लाग्छ अनि कुनै रात त पालमै बिताउनुपर्ने हुन्छ। तर परिश्रम खेर जाँदैन किनकि यी मानिसहरूले पहिले कहिल्यै सुसमाचार सुनेका छैनन्।”
सुरु-सुरुमा धेरैजसो मेनोनाइटहरूलाई साक्षीहरू भेट्न आएको त्यति मन परेन। तर बारम्बारको प्रयासपछि साक्षीहरूले भन्न खोजेको कुरा बुझ्न तिनीहरूलाई सजिलो भएको छ। उदाहरणको लागि, एक जना कृषकले ब्यूँझनुहोस्! पत्रिका पढेको एक वर्ष भइसकेको बताए। त्यसपछि उनले यसो भने: “यहाँका धेरै मानिसहरू तपाईंहरूले बताउनुभएका कुरामा सहमत छैनन् भन्ने मलाई थाह छ तर मलाई यो सत्य हो भन्ने विश्वास छ।” अर्को बस्तीका एक जना मानिसले यसो भने: “मेरा छिमेकीहरूमध्ये कतिले तपाईंहरूलाई झूटा अगमवक्ताहरू भन्छन् भने कतिपयले चाहिं तपाईंहरूसित सत्य छ भन्छन्। म आफैं जाँच्न चाहन्छु।”
अहिले बोलिभियामा १४ जना पूर्ण-समय सुसमाचारकहरू सहित ३५ जना प्रकाशक भएको जर्मन भाषाको एउटा मण्डली पनि छ। हालसम्म १४ जना मेनोनाइट अहिले राज्य उद्घोषकहरू भइसकेका छन् अनि अरू ९ जना नियमित तवरमा सभाहरू धाउँछन्। हालै बप्तिस्मा लिने एक जना प्रौढले यसो भने: “यहोवाको डोऱ्याइ हामी स्पष्टसित देख्छौं। हामीलाई मदत गर्न उहाँले जर्मन-भाषा बोल्ने अनुभवी भाइबहिनीहरू पठाउनुभएको छ। हामी धेरै कृतज्ञ छौं।” त्यस मानिसकी १७ वर्षीया बप्तिस्माप्राप्त छोरीले यसो भनिन्: “यहाँ आएका जवान भाइबहिनीहरूको उत्साह अरूहरूलाई पनि उत्साहित बनाउने खालको छ। तिनीहरूमध्ये धेरै जसो अग्रगामीहरू हुन् जो आफ्नो समय अनि पैसा अरूलाई मदत गर्न खर्च गर्छन्। यसले मभित्र पनि यस्तै काम गर्ने इच्छा जगाएको छ।”
साँच्चै, हामीलाई मदत गर्न ‘आउनहरूले’ ठूलो आनन्द र सन्तुष्टि हासिल गरिरहेका छन्।