“बाइबलको अंश कुँदिएको सबैभन्दा पुरानो लेखोट”
पच्चीस वर्षअघि इजरायली पुरातत्त्वविद्हरूले गजबकै कुरा पत्ता लगाए। जेरूशलेमस्थित हिन्नोमको बेंसीको भीरमा पुरिएको एउटा गुफामा बाइबलको केही अंश कुँदिएको दुई साना चाँदी-पत्र भेटियो। यो चाँदी-पत्र ई.पू. ६०७ मा येरूशलेमलाई बेबिलोनीहरूले नाश गर्नुअघिको थियो। गन्ती ६:२४-२६ मा उल्लेखित आशिष्हरूका केही अंश त्यसमा कुँदिएको थियो। दुवै चाँदी-पत्रमा परमेश्वरको नाउँ यहोवा धेरै पटक उल्लेख छ। यसलाई “बाइबलको हिब्रू शास्त्रका केही अंश कुँदिएको हालसम्मकै सबैभन्दा पुरानो लेखोट” भनिन्छ।
तर केही विद्वानहरूलाई चित्त बुझेन। लेखोटको मितिबारे तिनीहरूले किचकिच गर्न थाले। तिनीहरूको भनाइमा यो लेखोट ई.पू. दोस्रो शताब्दीतिरको थियो। यस्तो दाबीको एउटा कारण, अत्यन्तै सानो उक्त चाँदी-पत्रको सुरुको फोटो त्यति प्रस्ट थिएन। यो फोटोबाट गहन अध्ययन सम्भव भएन। मितिसम्बन्धी विवाद टुङ्याउन, विद्वानहरूको एक टोली नयाँ अध्ययनमा जुट्यो। चाँदी-पत्रको ठूलो र स्पष्ट फोटोको लागि कम्प्युटरको नयाँ प्रविधि उपयोग गरियो। कम्प्युटरको मदतद्वारा डिजिटल फोटोमा गरिएको गहन अध्ययनको नतिजा हालै प्रकाशित भयो। निष्कर्ष?
उत्खनन्का तथ्याङ्कहरूद्वारा चाँदी-पत्र यहूदीहरू बेबिलोनमा निर्वासित हुनुअघिकै हो भन्ने ठहर हुन्छ भनी विद्वानहरू भन्छन्। अक्षरको बनौट, आकार-प्रकार, लेखन-शैली, प्रकृति आदि परिक्षण गर्ने विज्ञान पेलियोग्राफिक अनुसन्धानबाट पनि यो चाँदी-पत्र ई.पू. सातौं शताब्दीको अन्ततिरकै हो भन्ने पुष्टि हुन्छ। अन्तमा हिज्जेबारे परिक्षण गर्ने विज्ञान अर्थात् अर्थोग्राफी अनुसन्धान टोलीले यस्तो प्रतिवेदन दिन्छ: “उत्खनन्को तथ्याङ्क र पेलियोग्राफिक अध्ययनबाट प्राप्त जानकारीलाई हिज्जे अनुसन्धानबाट प्राप्त जानकारीसित भिडाउँदा यही मिति पुष्टि हुन्छ।”
केटेफ हिन्नोम लेखोट पनि भनिने यस चाँदी-पत्रका सबै अध्ययनहरूको निष्कर्षमा बुलेटिन अफ दि अमेरिकन स्कूल्स् अफ ओरियन्टल रिसर्च नामक पत्रिका लेख्छ: “बाइबलको केही अंश कुँदिएको हालसम्मकै सबैभन्दा पुरानो लेखोट भनी धेरै विद्वानहरूले सही ठहराएको तथ्यलाई नामानी सुखै छैन।” (w०६ १/१५)
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
Cave: Pictorial Archive (Near Eastern History) Est.; inscriptions: Photograph © Israel Museum, Jerusalem; courtesy of Israel Antiquities Authority