असल साथी चाहनुहुन्छ?
सबैलाई असल साथी चाहिन्छ। मन मिल्नेसित मनका कुरा साट्दा जीवन रमाइलो बन्छ। तर कहाँ पाइएला त्यस्तो मित्र? झण्डै २,००० वर्षअघि येशूले आपसी सम्बन्धलाई सुमधुर बनाउने एउटा सुत्र बताउनुभयो। त्यो हो, निस्स्वार्थ प्रेम। उहाँले यस्तो शिक्षा दिनुभयो: “जसो मानिसहरूले तिमीहरूसित गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) ‘गोल्डेन रुल’ अर्थात् सुनौलो नियम पनि भनिने यो उपदेशले निस्स्वार्थ र उदार हुनुपर्ने महत्त्वलाई जोड दिन्छ। कसैलाई हितैषी साथी बनाउने हो भने, पहिला आफै साथी बन्नुपर्छ। तर कसरी?
आत्मीय र न्यानो मित्रता तुरुन्तै फस्टाउँदैन। कसैलाई एक दुईचोटि भेट्दैमा मित्र भइहाल्दैन। असल मित्रसित मनदेखि नै सम्बन्ध जोडिन्छ। मित्रतालाई आत्मीय र कसिलो बनाउन प्रयास चाहिन्छ। मित्रतामा आफ्नोभन्दा मित्रको सुखलाई बेसी महत्त्व दिइन्छ। हितैषी मित्रसित सुख मात्र होइन तर दुःखका क्षणहरू पनि साटिन्छ।
मर्का पर्दा मर्म बुझिदिनु र चाहिएको बेला मदत दिनु नै असल मित्रको गुण हो। बाइबलको हितोपदेश १७:१७, NW भन्छ: “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।” साँच्चै, कहिलेकाहीं त मित्रताको डोरी कुनै-कुनै पारिवारिक बन्धनभन्दा बलियो हुन्छ। हितोपदेश १८:२४ अझै यसो भन्छ: “कुनै कुनै साथीहरू बेफायदाको कुराको लागि मात्र असल हुन्छन्, तर मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ।” आत्मीय मित्र कसरी बनाउने, जान्न चाहनुहुन्छ? आपसमा प्रेम गर्नेहरू भनी चिनिएका मित्रहरूको समूहमा तपाईं पनि सामेल हुन चाहुनुहुन्छ? (यूहन्ना १३:३५) चाहनुहुन्छ भने, तपाईंको टोल-छिमेकमा बस्ने यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न इच्छुक हुनेछन्।(w06 3/1)