गरिब हुनु परमेश्वरको अनुमोदन नहुनु हो?
परमेश्वरले उहिलेका इस्राएलीहरूलाई यसो भन्नुभयो: “तिमीहरूमा कोही गरीब हुनेछैन।” किनभने तिनीहरूलाई दिइएको व्यवस्थामा गरिबहरूको हेरचाह गर्ने र ऋणमा डुबेकाहरूलाई समेत मुक्त गर्ने प्रबन्ध थियो। (व्यवस्था १५:१-५, ७-१०) त्यसैले इस्राएलीहरूमाझ कोही पनि गरिब नहुनुपर्थ्यो किनकि यहोवाले तिनीहरूलाई आशिष् दिने प्रतिज्ञा गर्नुभएको थियो। तथापि व्यवस्था पालन गरेमा मात्र तिनीहरूले आशिष् पाउने थिए तर तिनीहरू व्यवस्था पालन गर्न चुके।
त्यसो भन्दैमा थोरै सर-सम्पत्ति भएकाहरूलाई परमेश्वरले अनुमोदन नै नगर्नुभएको र प्रशस्त हुनेलाईचाहिं आशिष् दिनुभएको भन्न खोजिएको होइन। परमेश्वरका धेरैजसो विश्वासी सेवकहरू गरिब थिए। भविष्यवक्ता आमोस गरिब भेडा गोठालो र मौसमअनुसारको काम गर्थे। (आमोस १:१; ७:१४) भविष्यवक्ता एलियाको समयमा इस्राएलमा अनिकाल पर्दा तिनी गरिब विधवामा भर परे, जसकहाँ अनिकालभरि पीठो र तेलको खाँचो नहुनु चमत्कारै थियो। न एलिया धनी भए न त ती विधवा नै धनी भइन्। यहोवाले तिनीहरूको आधारभूत आवश्यकताहरू मात्रै पूरा गरिदिनुभयो।—१ राजा १७:८-१६.
अप्रत्याशित घटना र परिस्थितिले मानिसलाई गरिबीमा धकेल्न सक्छ। दुर्घटना वा रोगले गर्दा कुनै व्यक्ति केही समय वा सदाको लागि काम गर्न नसक्ने हुन सक्छ। साथै मृत्युले कोही विधवा हुन्छन् त कोही अनाथ। तर यस्ता दुःखद् परिस्थिति आइपर्नु परमेश्वरको अनुमोदन नहुनु होइन। खाँचोमा परेकाहरूको आवश्यकता यहोवाले मायालु तरिकामा पूरा गरिदिनुहुन्छ भन्ने हृदयस्पर्शी उदाहरण रूथ र नाओमीको विवरण हो। पतिहरूको मृत्युपछि रूथ र नाओमी दरिद्र भए तापनि यहोवाले तिनीहरूलाई आशिष् दिनुभयो र आधारभूत आवश्यकताहरू पूरा गरिदिनुभयो।—रूथ १:१-६; २:२-१२; ४:१३-१७.
कुरा स्पष्ट छ, गरिब हुनु परमेश्वरको अनुमोदन नहुनु होइन। यहोवाप्रति वफादार हुनेहरू दाऊदले लेखेका यी शब्दमा विश्वस्त हुन सक्छन्: “जवान थिएँ, र अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।”—भजन ३७:२५. ( w 09 9/1)
[पृष्ठ ८-मा भएको चित्र]
दरिद्र भए तापनि परमेश्वरले नाओमी र रूथलाई आशिष् दिनुभयो र तिनीहरूको मायालु हेरचाह गर्नुभयो