प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ४/१ पृ. २२-२४
  • “मैले ठूलो सुअवसर पाएँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले ठूलो सुअवसर पाएँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यवाणी १. भूकम्प
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
  • सन्‌ २०२२ मा राहतकार्य—कामद्वारा भातृप्रेम देखाउँदै
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • “म परमेश्‍वरको सेवा गर्न चाहन्थें”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मैले महान्‌ शिक्षक यहोवाबाट जिन्दगीभर सिक्न पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ४/१ पृ. २२-२४

हाइटीबाट चिठी

“मैले ठूलो सुअवसर पाएँ”

जनवरी १२, २०१० मा हाइटीमा भूकम्प गएपछिका विनाशकारी दृश्‍यहरू समाचारमा हेर्नसमेत मलाई गाह्रो लाग्थ्यो। जनवरी २० का दिन मेरो मिल्ने साथी कार्मेनले मलाई फोन गरिन्‌ र स्वयम्‌सेवा गर्न सँगै हाइटी जाने प्रस्ताव राखिन्‌। केही वर्षअघि एउटा राज्यभवन निर्माणको बेला हामी दुवैले स्वयम्‌सेवी नर्सको काम गरेका थियौं र त्यहीं नै उनको र मेरो भेट भएको थियो। त्यसबेलादेखि यता हामीले अरू थुप्रै परियोजनाहरूमा सँगै काम गरिसक्यौं र हामी घनिष्ठ साथी बनेका छौं।

हाइटीमा मैले आफूलाई शारीरिक र भावनात्मक तवरमा सम्हाल्न सक्दिनँ होला भनेर मैले कार्मेनलाई बताएँ। सँगै काम गर्दा पहिला-पहिला हाम्रो राम्रो तालमेल मिलेको कुरा उनले मलाई सम्झाइन्‌ र अहिले पनि एकअर्कालाई मदत गर्न सक्ने कुरा बताइन्‌। उनको कुराबाट प्रोत्साहन पाएर मैले न्यु योर्कको ब्रूक्लिनमा भएको यहोवाका साक्षीहरूको मुख्यालयमा फोन गरें र अमेरिकाबाट राहत कार्यको बन्दोबस्त मिलाइरहेका व्यक्‍तिसित कुरा गरें। स्वयम्‌सेवकहरूको सूचीमा मेरो नाम पनि राख्न मैले तिनलाई आग्रह गरें। मैले कार्मेनको विषयमा बताएँ र हामी सँगै काम गर्न चाहन्छौं भनेर जानकारी दिएँ। हामीलाई बोलाइन्छ कि बोलाइँदैन र दुवैलाई बोलाए पनि सँगै काम गर्न पाइन्छ कि पाइँदैन भन्‍ने कुराको कुनै ग्यारेन्टी छैन भनेर तिनले बताए।

त्यसैले मलाई बोलाइँदैन होला भन्ठान्दै म आफ्नो दिनचर्यामा लागिरहें। चार दिनपछि, २५ तारिख, सोमबारका दिन ‘मिल्छ भने भोलि नै तपाईं हाइटी जान सक्नु हुन्छ कि?’ भनेर मलाई ब्रूक्लिनबाट फोन आयो! मलाई विश्‍वासै लागेन। म सक्दो कोसिस गर्छु भनेर बताएँ। सबैभन्दा पहिले मैले कामबाट छुट्टी लिएँ। त्यसपछि, कार्मेनलाई सम्पर्क गरें तर उनलाई फ्रेन्च भाषा बोल्न नआउने भएकोले उनलाई बोलाइएनछ भनेर थाह पाएँ। म उत्साहित थिएँ तर कता-कता डर पनि लागिरहेको थियो। हवाईजहाजको टिकट पाएपछि जनवरी २८ मा म न्यु योर्कबाट हाइटीसित सीमा जोडिएको डोमिनिकन गणतन्त्रको सान्टो डोमिङ्‌गो उडें।

एक जना जवान साक्षीले मलाई गाडीमा विमानस्थलबाट यहोवाका साक्षीहरूको डोमिनिकन गणतन्त्र शाखा कार्यालय पुऱ्‍याए। त्यही दिन अमेरिकाबाट अरू दुई जना नर्स पनि आइपुगे र त्यो रात हामी एउटै कोठामा सुत्यौं। भोलिपल्ट बिहान गाडी चढेर साढे सात घण्टाको यात्रा गरेपछि हामी पोर्ट-अफ-प्रिन्समा भएको हाइटी शाखा कार्यालय पुग्यौं।

सीमा पार गरेर हाइटी छिरेपछि हामीले भूकम्पले गरेको विनाश देख्यौं। मात्र ३५ सेकेन्डको भूकम्पले यो सुन्दर भूमिलाई यस्तो कुरूप बनाइदिएको हो भनेर पत्याउनै सकिंदैनथ्यो। उक्‍त विनाश टिभीमा हेर्न त मलाई गाह्रो भएको थियो भने आफ्नै आँखाले देख्दा झनै कस्तो भयो, त्यो म बताउनै सक्दिनँ। राष्ट्रपति भवनलगायत थुप्रै घरहरू क्षतविक्षत भएका थिए भने अरू कतिपय चाहिं ढुङ्‌गा र माटोको थुप्रोमा परिणत भएका थिए। तीमध्ये थुप्रै घर जीवनभर हाडछाला घोटेको पैसाले बनेका थिए तर ती सब केही सेकेन्डमै ध्वस्त भए। जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भौतिक कुरा होइन रहेछ भनेर सोच्न म बाध्य भएँ।

जब हामी शाखा कार्यालय आइपुग्यौं, तब हामी भित्र छिर्दै गरेको रिसेप्सनिस्टले देखिन्‌ र हामीलाई भेट्‌न आफ्नो ठाउँबाट उठेर दौडँदै आइन्‌। तिनले हामीलाई अँगालो हालिन्‌ र न्यानो मुस्कानका साथ स्वागत गरिन्‌। आफ्नो सबै कामकुरा मिलाएर त्यहाँ आएकोमा तिनले हामीलाई धन्यवाद दिइन्‌। दिउँसोको खाना खाएपछि हामी नजिकैको सम्मेलन भवनमा गयौं। त्यो सम्मेलन भवनलाई अस्पतालमा परिणत गरिएको थियो। त्यहाँ मैले अरू पनि स्वयम्‌सेवी साक्षीहरू भेटें। तिनीहरूमध्ये एउटा दम्पती जर्मनीबाट आएका थिए र तिनीहरू दुवै जना डाक्टर थिए। तिनीहरूको साथमा तिनीहरूको सहयोगी पनि थिए। साथै, त्यहाँ मैले स्वीजरल्याण्डबाट आएकी एक जना सुँडेनी पनि भेटें।

पहिलो रातदेखि नै मैले आफ्नो काम सुरु गरें। सम्मेलन भवनको भुइँमा ओछ्याइएको पातलो बिछ्याउनामा साक्षी र गैरसाक्षीहरू गरी १८ जना बिरामी पल्टिरहेका थिए। उपचारमा लागिपरेका साक्षीहरूको टोलीले हरेक बिरामीलाई उत्तिकै ध्यान दिए अनि सबैको निश्‍शुल्क उपचार गरे।

त्यो रात एक जना ८० वर्षीय बिरामीको मृत्यु भयो। त्यसबेला तिनकी पत्नी छेवैमा थिइन्‌ अनि मसँगै बस्ने साथी र म पनि त्यहीं थियौं। त्यसपछि केट्‌ली नाम गरेकी युवती पीडाले चिच्याउन थालिन्‌। भूकम्पको कारण चोट लागेकोले तिनको दाहिने हात काट्‌नु परेको थियो। केट्‌लीलाई बाइबल सिकाउने साक्षी तिनको छेवैमा थिइन्‌। हरेक रातजसो उनी सम्मेलन भवनमा केट्‌लीको छेवैमा सुत्ने गर्थिन्‌।

केट्‌लीको पीडा कम गर्ने तीव्र इच्छासहित म तिनी भएको ठाउँमा गएँ तर तिनको चोट शारीरिक चोट मात्र थिएन। भूकम्प आउँदा आफू साथीको घरमा भएको कुरा तिनले मलाई बताइन्‌। के भएको हो तिनीहरूले ठम्याउनै सकेनन्‌। एकअर्काको हात समातेर तिनीहरू बार्दलीतिर भाग्न थाले। त्यत्तिकैमा घरको भित्ता ढल्यो र तिनीहरू त्यसको मुनि पुरिए। तिनले आफ्नो साथीलाई बोलाइन्‌ तर उनीबाट केही जवाफ पाइनन्‌। साथीको मृत्यु भएछ भनेर तुरुन्तै चाल पाएको कुरा तिनले बताइन्‌। उद्धारकर्मीहरू नआइपुगुन्जेल चार घण्टासम्म केट्‌लीको शरीरको केही भाग तिनको साथीको लासमुनि च्यापिएको थियो। केट्‌लीको दाहिने हात कुमको जोर्नीदेखि नै काट्‌नुपर्ने भयो।

म त्यहाँ पुगेको पहिलो रात केट्‌लीले जति नै निदाउने कोसिस गरे तापनि त्यही दृश्‍यले तिनलाई घरीघरी झस्काउँथ्यो। सुँक्क-सुँक्क गर्दै तिनले मलाई भनिन्‌: “आखिरी दिन र भूकम्पबारे बाइबलले के बताएको छ, त्यो मलाई थाह छ। हामीसामु भविष्यको उज्ज्वल आशा छ भनेर मलाई थाह छ। अनि बच्न सकेकोमा म कृतज्ञ हुनुपर्छ भनेर पनि मलाई थाह छ। तर मात्र एक मिनेटको लागि तपाईंले आफूलाई मेरो ठाउँमा राखेर हेर्नुस्‌। अघिल्लो दिनसम्म सब कुरा ठीकठाक चलिरहेको बेला अकस्मात्‌ आफूलाई यस्तो अवस्थामा पाउँदा कस्तो होला?” के गर्ने, कसो गर्ने केही थाह नभएर मैले तिनको हात समाएँ र तिनीसँगसँगै रुन थालें। तिनी ननिदाएसम्म हामी दुवै जना रोइरह्‍यौं।

उपचारको खाँचो परेकाहरूलाई मदत गर्न हरेक दिन एक जना डाक्टर र दुई जना नर्स पठाइन्थ्यो। मलाई पोर्ट-अफ-प्रिन्सबाट गाडीमा लगभग दुई घण्टा लाग्ने पेटी गोआभ भन्‍ने ठाउँमा पठाइयो। अरू दुई जना स्वयम्‌सेवीको साथमा म त्यहाँ गए। तिनीहरूमध्ये एक जना फ्लोरिडाकी नर्स थिइन्‌ र अर्कोचाहिं फ्रान्सका डाक्टर थिए। बिहान साढे नौ बजे हामी त्यहाँ पुग्यौं र आफूसित लगेका सरसामानहरू झारेर राज्यभवनभित्र लग्यौं। हामी आउँदैछौं भन्‍ने खबर त्यहाँका मानिसहरूले पहिल्यै पाइसकेका हुनाले तिनीहरू हाम्रो बाटो हेर्दै बसिरहेका थिए।

हामीले तुरुन्तै काम थाल्यौं। असाध्यै गर्मी थियो र उपचारका लागि आएकाहरूको लाइन झन्‌-झन्‌ लामो हुँदै गयो। हामीले एकछिन पनि नरोकिईकन लगभग तीन बजेसम्म लगातार काम गरिरह्‍यौं। त्यो दिन हामी तीन जना मिलेर ११४ वटा सुई लगायौं र १०५ जनालाई जाँच्यौं। म थकाइले चूर भएको थिएँ तैपनि खाँचोमा परेकाहरूलाई मदत गर्न पाउँदा आनन्द लागिरहेको थियो।

हाइटीको राहतकार्यमा मैले जम्माजम्मी दुई हप्ताभन्दा अलि बढी बिताएँ। म हरेक रातजसो सम्मेलन भवनमा १२ घण्टा काम गर्थें। यसअघि मैले यस्तो गह्रौं जिम्मेवारी कहिल्यै सम्हालेकी थिइनँ। तैपनि त्यहाँ जान पाउनुलाई मैले सुअवसर र आशिष्‌ ठानें। त्यति धेरै दुःखकष्ट झेलेका हाइटीका बासिन्दाहरूलाई अलिकता भने पनि सान्त्वना दिन र राहत पुऱ्‍याउन पाएकोमा म धेरै खुसी छु।

हामीले उनीहरूबाट सिक्नुपर्ने धेरै छ। उदाहरणका लागि, मैले हेरविचार गरेको एक जना १५ वर्षीय ठिटो एलिजाको एउटा खुट्टा काट्‌नुपर्ने थियो। राती उसको कुरुवा बस्ने जिम्मीको लागि उसले खानेकुरा जोगाएर राखेको मैले याद गरें। राती कुरुवा बस्न आउँदा जिम्मी कहिलेकाहीं भोकभोकै आउने गरेको कुरा उसले मलाई बतायो। आफूसित भएको कुरा अरूसित बाँडचुँड गर्न हामी धनी वा स्वस्थ हुनै पर्छ भन्‍ने छैन भनेर मैले एलिजाबाट सिकें।

मेरो समूहका स्वयम्‌सेवकहरूमा पनि यस्तै मनोभाव देखिन्थ्यो। एक जना स्वयम्‌सेवक आफैलाई सन्चो थिएन अनि अर्को एक जनाको चाहिं ढाड दुख्ने समस्या थियो। तैपनि सबैले आफ्नो व्यक्‍तिगत सुख-सुविधाभन्दा बिरामीको आवश्‍यकतालाई प्राथमिकता दिए। यसले गर्दा मैले आफ्नो काममा लागिरहन चाहिने प्रोत्साहन पाएँ। हामी सबै बेलाबेलामा भावनात्मक, मानसिक र शारीरिक रूपमा लखतरान हुन्थ्यौं तैपनि हामीले एकअर्कालाई मदत गऱ्‍यौं र आफ्नो काममा लागिरह्‍यौं। कस्तो अविस्मरणीय अनुभव! दयालु, मायालु र आत्म-त्यागी असल ख्रीष्टियनहरूको सङ्‌गठनको भाग हुन पाएकोमा म कृतज्ञ छु।

आफ्नो दाहिने हात गुमाएका दुई जना बिरामीले मैले हाइटी छोड्‌नुअघि मलाई धन्यवाद दिन जसोतसो चिठी लेखेछन्‌। उनीहरूले मलाई त्यो चिठी हवाईजहाजमा चढिसकेपछि मात्र पढ्‌न कर गरे। मैले त्यसै गरें। ती चिठीहरूले मेरो मन छोयो र मैले आँसु थाम्नै सकिनँ।

म घर फर्केपछि पनि हाइटीमा भेटिएका केही नयाँ साथीहरूसित बेलाबेला मेरो सम्पर्क भइरहन्छ। कठिनाइ र सङ्‌कटको बेला बलियो मित्रता गाँसिने र त्यसको जाँच हुने गर्छ। मलाई विश्‍वास छ, हाम्रो मित्रता भविष्यमा आइपर्न सक्ने जस्तोसुकै कठिन परीक्षासामु पनि टुट्‌नेछैन। मैले ठूलो सुअवसर पाएँ। (w10-E  12/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने