प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ पृ. ३२
  • “अघिअघिका कुराहरूको सम्झना हुनेछैन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अघिअघिका कुराहरूको सम्झना हुनेछैन”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • “हेर! म सबै थोक नयाँ बनाउँदै छु”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • ‘आत्मामा चोट’ लाग्नेहरूका लागि सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मानसिक सुस्वास्थ्यबारे ईश्‍वरको प्रतिज्ञा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ पृ. ३२

परमेश्‍वरको नजिक हुनुहोस्‌

“अघिअघिका कुराहरूको सम्झना हुनेछैन”

विगतको मीठो सम्झनालाई हामी भुल्न चाहँदैनौं। आफ्ना प्रियजनहरूसित बिताएको रमाइलो क्षण सम्झँदा हाम्रो मन गद्‌गद हुन्छ। तर कतिपय अवस्थामा अतीतको सम्झनाले हामीलाई पिरोल्छ। के तपाईंलाई विगतको तीतो सम्झनाले पिरोलिरहेको छ? यदि छ भने तपाईंलाई यस्तो लाग्छ होला, ‘यी तीता सम्झनाहरू मेरो मनबाट कहिल्यै नहराउने पो हुन्‌ कि!’ बाइबलको एउटा किताब लेख्ने भविष्यवक्‍ता यशैयाले यस सन्दर्भमा अत्यन्तै सान्त्वनादायी कुरा बताएका छन्‌।—यशैया ६५:१७ पढ्‌नुहोस्‌।

यहोवाले तीतो सम्झनाको जडलाई नै नामेट पार्ने उद्देश्‍य राख्नुभएको छ। कसरी? उहाँले यस दुष्ट संसारलगायत यसमा भएका सबै दुःखकष्ट हटाउनुहुनेछ र अत्यन्तै राम्रो अवस्था स्थापना गर्नुहुनेछ। भविष्यवक्‍ता यशैयामार्फत यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु।” यस प्रतिज्ञाले भन्‍न खोजेको कुरालाई राम्ररी बुझ्यौं भने हामी भविष्यको उज्ज्वल आशा राख्न सक्छौं।

नयाँ आकाश भनेको के हो? नयाँ आकाशसित सम्बन्धित बाइबलमा भएको दुइटा जानकारीलाई विचार गऱ्‍यौं भने यस प्रश्‍नको जवाफ पाउनेछौं। पहिलो, यशैयाबाहेक बाइबलका अरू दुई जना लेखकले नयाँ आकाशबारे उल्लेख गरेका छन्‌। अनि ती दुवैले नयाँ आकाश भन्‍ने अभिव्यक्‍ति पृथ्वीमा हुने आमूल परिवर्तनको सन्दर्भमा प्रयोग गरेका छन्‌। (२ पत्रुस ३:१३; प्रकाश २१:१-४) दोस्रो, बाइबलमा प्रयोग गरिएको “आकाश” भन्‍ने शब्दले शासन अर्थात्‌ सरकारलाई पनि बुझाउँछ। (यशैया १४:४, १२; दानियल ४:२५, २६) त्यसकारण नयाँ आकाश भनेको नयाँ सरकार हो। यसले पृथ्वीमा राम्रा परिवर्तनहरू ल्याउनेछ। यस्ता परिवर्तन ल्याउन सक्ने सरकार एउटै मात्र छ। त्यो हो, परमेश्‍वरको राज्य। स्वर्गमा स्थापना भएको त्यही राज्यबारे प्रार्थना गर्न येशूले हामीलाई सिकाउनुभएको थियो। त्यही राज्यको शासनमार्फत परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा हुनेछ।—मत्ती ६:९, १०.

नयाँ पृथ्वी भनेको के हो? यसबारे सही निष्कर्षमा पुग्न बाइबलमा पाइने दुइटा बुँदालाई विचार गरौं। पहिलो, बाइबलमा प्रयोग गरिएको “पृथ्वी” शब्दले कुनै एउटा ग्रहलाई होइन तर मानिसहरूलाई पनि बुझाउँछ। (भजन ९६:१) दोस्रो, परमेश्‍वरको शासनअन्तर्गत विश्‍वासी मानिसहरूले उहाँको स्तरबारे सिक्नेछन्‌ र यस्तै मानिसहरूले सम्पूर्ण पृथ्वी भरिनेछ भनी बाइबलमा भविष्यवाणी गरिएको छ। (यशैया २६:९) यसर्थ नयाँ पृथ्वीले परमेश्‍वरको शासनको अधीनमा बस्ने अनि उहाँको स्तरअनुसार जीवन बिताउने मानिसहरूको समाजलाई बुझाउँछ।

यहोवा परमेश्‍वरले तीतो सम्झनाको जडलाई कसरी निमिट्यान्‍न पार्नुहुनेछ, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? आफूले प्रतिज्ञा गरेअनुसारै चाँडै यहोवाले नयाँ आकाश र नयाँ पृथ्वी स्थापना गर्नुहुनेछ।a तब हृदयविदारक सम्झनाको जड नै नामेट हुनेछ, चाहे त्यो शारीरिक, मानसिक वा भावनात्मक पीडा नै किन नहोस्‌। परमेश्‍वरप्रति विश्‍वासी मानिसहरूले जीवनको पूरापूर आनन्द उठाउनेछन्‌ अनि हरेक दिनको मीठो सम्झनामा रमाउनेछन्‌।

तर अहिले हामीलाई पिरोलिरहेको पीडा नि? यशैयामार्फत यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” अहिलेको संसारमा हामीले भोगिरहेको पीडा बिस्तारै हराएर जानेछ। यस्तो प्रत्याशाले के तपाईंको मन छुँदैन र? त्यसोभए यस्तो उज्ज्वल भविष्य प्रतिज्ञा गर्नुहुने परमेश्‍वरसित कसरी नजिक हुन सकिन्छ भनेर बुझ्नुभए कसो होला? (w12-E 03/01)

[फुटनोट]

a परमेश्‍वरको राज्य र यसले चाँडै पूरा गर्ने कुराबारे यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ३, ८ र ९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने