यहोवाको सेवामा आनन्दित
१ ईश्वरीय प्रेरणाद्वारा अगमवक्ता यशैयाले परमेश्वरका जनहरूबारे यो खूबै सुहाउँदो भविष्यवाणी गरे: “मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्।” (यशै० ६५:१४) तर प्रति दिन यतिको दबाव र समस्याहरूको सामना गर्नु पर्दा कोही कसरी आनन्दित हुन सक्छ र? सो प्रश्न धेरैले सोध्छन्। हामीले एकातिर आर्थिक, मानसिक र अन्य शारीरिक कठिनाइहरू झेल्नु परेको छ भने अर्कोतिर मसीही उपासना र सेवासम्बन्धी जिम्मेवारीहरू पनि निभाउनु परेको हुन्छ। धेरै जनाको सोचाइअनुसार यी सबै जिम्मेवारीहरू र आधुनिक रहनसहनका बोझहरूको मुकाबिला गर्दा आनन्द अनुभव गर्नु गाह्रो हुनेछ।
२ तर यशैयाका प्रेरित शब्दहरूअनुसार जीवनलाई खुशीले भरिदिने मूल कारण “हृदयको आनन्द” हो। यो कुरा संसारको दर्शनसित पटक्कै मिल्दैन। किनकि संसारको भनाइअनुसार त भौतिक सम्पत्ति, मनोरञ्जन अथवा स्वाधीनता जस्ता कुराहरूले नै मानिसलाई आनन्दित पार्छ। तर होइन। साँचो आनन्द हाम्रो लाक्षणिक हृदय अर्थात् जुन प्रकारको मानिस हामी वास्तवमा छौं, त्यसबाट उत्पन्न हुन्छ। साँचो आनन्द हाम्रो गतिविधि, इच्छा, स्नेह र भावनाहरूद्वारा व्यक्त हुन्छ। तसर्थ, आनन्द के हो? त्यसको व्याख्या यसप्रकार गरिएको छ: “राम्रो कुराको प्राप्ति अथवा आशाले गर्दा उत्तेजित हुने भावना; आनन्दित मनस्थिति; हर्ष।” (इन्साइट्, खण्ड २, पृष्ठ ११९) तीब्र गतिले नजिक आइरहेको नयाँ संसार सम्झंदा हाम्रा भावनाहरू उत्तेजित हुनु पर्दैन र? तर तपाईं सोध्नु होला, जीवनलाई मानो निरन्तर प्रहार गरिरहने समस्याहरू रहुञ्जेल आज एउटा आनन्दित मनस्थिति कायम राख्न कसरी सम्भव छ र?
३ जीवनका सारा समस्याहरूलाई सम्पूर्णतया हटाउनु असम्भव छ। समस्या-मुक्त जीवन हामीले नयाँ संसारमा मात्र बिताउन पाउने छौं। तर आफ्नो जीवनमा बढी आनन्द ल्याउने केही कदमहरू चाहिं हामीले अहिले पनि चाल्न सक्छौं। जस्तो कि, आनन्दित मानिसहरूसित सङ्गत गर्दा हाम्रो जीवनको आनन्द बढ्छ। स्वयं यहोवा परमेश्वर पनि “आनन्दित परमेश्वर” हुनु हुन्छ। (१ तिमो० १:११, न्यु व०) याकूब ४:८-मा दिइएको प्रोत्साहनलाई व्यवहारमा ल्याउँदै के हामीले आफ्नो आनन्द बढाउन सक्तैनौं? त्यहाँ यसो भनिएको छ: “परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” प्रार्थना, परमेश्वरको वचनको अध्ययन, मनन र उहाँको इच्छा गर्दै हामी परमेश्वरको नजिक पुग्न सक्छौं। यिनै कुराहरू गर्नु भएर येशूले पनि आनन्द अनुभव गर्नु भएको थियो। उहाँको निम्ति आफ्नो पिताको इच्छा गर्नु स्वादिष्ट भोजन खाए सरह थियो। (यूहन्ना ४:३४) यस्तैप्रकार के तपाईं पनि आफ्नो आनन्द बढाउन सक्नुहुन्छ?
४ अप्रिल, बढी मात्रामा आनन्द अनुभव गर्ने समय: सबै मण्डलीहरू अप्रिल महिनालाई आनन्दमय आध्यात्मिक गतिविधिको महिना बनाउने तरखररमा छन्। हाम्रो कामको तीन पक्षमाथि विशेष जोड दिइनेछ: (१) हामी सबै जनालाई सहायक अग्रगामी सेवाबारे गम्भीरतापूर्वक सोच्न प्रोत्साहित गर्छौं। (२) नयाँ बाइबल अध्ययन शुरु गर्ने लक्ष्यलाई जोड दिइनेछ; (३) र विशेष पत्रिका-वितरण दिनमा भाग लिन तपाईंलाई आग्रह गरिन्छ; त्यस दिन प्रचारको काम विशेषतः सडकहरू मै गरिनेछ। सम्भवतः तपाईंले सेवकाईका यी क्षेत्रहरूमा भाग लिने आनन्द कहिले अनुभव गर्नु भएको छैन होला। यी प्रबन्धहरूलाई हार्दिक सहयोग पुऱ्याएर अप्रिल महिनामा आफ्नो आनन्द बढाउने चाँजो अहिलेदेखि नै मिलाउनु होस्।
५ सहायक अग्रगामी सेवा: यो सेवा तपाईंको पहुँचभन्दा बाहिरको कुरा हो भनेर यसलाई तुरुन्तै नपन्छाउनु होस्। बरु यसले तपाईंको जीवनलाई कति आनन्दित तुल्याउन सक्छ, सो विचार गर्नु होस्। सुसमाचार प्रचार गर्दा येशूका अनुयायीहरूले अनुभव गरेको आनन्दबारे गौर गर्नु होस्। यस काममा भाग लिने प्रथम व्यक्तिहरू आनन्दले गद्गद् हुँदै येशूकहाँ फर्केका थिए। “अब ती सत्तरी जना आनन्दसाथ फर्के।” (लूका १०:१७) आफूले सिकेका कुराहरू अरूहरूलाई बताउन तिनीहरू अग्रसर भए। आफूलाई बोल्न नआउला भनेर तिनीहरू चिन्तित थिएनन्। येशूबाट सिकेका कुराहरूले तिनीहरूको हृदय भरिभराउ थियो र यही कुरा तिनीहरू अरूहरूलाई पनि बताउन चाहन्थे। अप्रिय घटनाहरू हुँदा अथवा तिनीहरूको कुरामा चासो नराख्ने व्यक्तिहरूसित भेट्दा तिनीहरूको आनन्द कम भएन। परमेश्वरको सेवाप्रति तिनीहरूको मनोवृत्ति राम्रो थियो। यसले तिनीहरूको आनन्दलाई कायम राख्नमा मदत दियो।—हितो० २७:११.
६ परमेश्वरको वचनका असल कुराहरूको आम प्रचार गर्नुको अर्थ ढाडस दिने र जीवन बचाउने कुराहरू उदारतासाथ अरूहरूलाई बताउनु हो। यसो गर्दा आनन्द अनुभव गर्न सकिन्छ किनभने अरूहरूलाई असल कुरा दिनमा आनन्द पाइन्छ। यसै सिद्धान्तलाई मसीही सेवकाईबारे कुरा गर्दा प्रेरित पावलले औंल्याएका थिए। “मैले तपाईंहरूलाई सब तरहबाट उदाहरण दिएको छु कि कसरी तपाईंहरूले यही किसिमसित मेहनत गरेर निर्धाहरूलाई मदत गर्नु, र प्रभु येशूले भन्नुभएको कुरा सम्झनुपर्छ, कि कसरी उहाँ आफैले भन्नुभएको छ, कि ‘लिनुभन्दा दिनु अझ असल हो।’” (प्रेरित २०:३५) आफूले सिकेका असल कुराहरू अरूहरूलाई बताउँदा जसरी पावल र उनका सहकर्मीहरूले आनन्द अनुभव गरे, त्यसरी नै आज यहोवा परमेश्वरको सेवा गर्नेहरू पनि सोही ढाडसदायी कार्य गर्दै आनन्दित हुन सक्छन्। तर यसका लागि त्यही राम्रो मनोवृत्ति कायम राख्नु आवश्यक छ।
७ क्षेत्र सेवकाईमा सदाभन्दा बढी भाग लिंदै के तपाईंले पनि अप्रिल महिनामा आफ्नो आनन्द बढाउने योजना बनाउन सक्नु हुन्छ? तर आफ्नो मनमा नकारात्मक विचारहरूलाई चाहिं ठाउँ नदिनु होस्। उदाहरणका लागि, हाम्रो प्रचार क्षेत्रमा धेरै नै पटक काम गरी सकिएको छ र परिणाम त्यति उत्साहवर्धक पनि छैन; सायद केही हद्सम्म आफ्नो फुर्सत तथा आराम गर्ने समयलाई छाड्नु पर्ला; आफ्नो समयतालिकामा केही छाँटकाँट गर्न आवश्यक पर्न सक्छ। हो, कुनै गतिविधि तपाईंको आध्यात्मिक कुशलताका लागि अनावश्यक छ भने त्यसलाई हटाउनु नै बेस हुन्छ। तर यस्ता नकारात्मक पक्षहरूमाथि ध्यान दिनुको सट्टा, क्षेत्र सेवकाईमा सदाभन्दा बढी समय बिताउँदा प्राप्त हुने आनन्दबारे सोच्नु होस्। आनन्द “हृदय”-बाट उत्पन्न हुन्छ, सो कहिल्यै नबिर्सनु होस्। (यशैया ६५:१४) अरूहरूका लागि र यहोवालाई प्रसन्न पार्ने उत्कट प्रयास गर्दा तपाईंको लाक्षणिक हृदयमा स्वतः गहिरो सन्तोषको भाव उत्पन्न हुनेछ र यसैले तपाईंको जीवनलाई आनन्दले भरिदिनेछ।
८ परमेश्वरको वचनबाट सिक्नु भएका कुराहरू अरूलाई बताउने योग्यता आफूमा छैन भनी ठान्दै अप्रिल महिनामा सहायक अग्रगामी सेवाबाट नपन्छिनु होस्। नत्रभने तपाईंले मनमा एउटा यस्तो नकारात्मक मनोवृत्तिलाई बढ्न दिनु हुनेछ जसले तपाईंबाट ईश्वरको सेवा गर्ने आनन्दलाई खोस्न सक्छ। बोल्नमा सिपालु मसीही भाइहरूसित आफूलाई नदाँज्नु होस्। बरु सेवकाईमा भेट हुने मानिसहरूसित आफूलाई दाँज्नु होस्। तिनीहरूले मसीही हुने दाबी गरे तापिन परमेश्वरको सत्य वचनबारे अरूहरूसित नबोल्छन् नता बोल्नै सक्छन्। आफूसित जे जति योग्यता छ, सो प्रयोग गर्नु होस्, उन्नति गर्ने कोशिश गर्नु होस्। परमेश्वरले आफ्नो उद्देश्य घोषित गराउन संसारका बुद्धिमान मानिसहरूलाई अथवा प्रभावशाली धार्मिक वक्ताहरूलाई रोज्नु भएको छैन। उहाँले नम्र जनहरूलाई रोज्नु भएको छ जो बोल्नमा त्यति सिपालु नहोलान्। (१ कोरिन्थी १:२६-२९) येशूको पालोमा सेवकाईबाट ठूलो आनन्द अनुभव गर्ने उहाँका अनुयायीहरू साधारण मछुवाहरू थिए। अतः सही मनोवृत्ति राख्नु भयो भने तपाईंले पनि यहोवाको सेवाबाट आनन्द उठाउन सक्नु हुनेछ।
९ तर अहिले भने तपाईंले के कस्ता कदमहरू चाल्न सक्नुहुन्छ? प्रथमतः, आफ्नो परिस्थितिलाई इमान्दारीपूर्वक प्रार्थना गर्दै जाँच गर्नुहोस्। तपाईं कुनै मसीही परिवारको एउटा सदस्य हुनु हुन्छ भने सायद सपरिवार बसेर पिता वा पतिको अगुवाइमा यसबारे छलफल गर्न सकिन्छ। यो प्रथम कदम नै तपाईंका लागि सबै भन्दा गाह्रो हुन सक्छ। परमेश्वरको राज्यलाई प्राथमिकता दिने उद्देश्यले आफ्नो जीवन शैलीलाई नियालेर विचार गर्न साहस चाहिन्छ। परमेश्वरको सेवामा बढी समय बिताउनका लागि अनावश्यक तर सम्भवतः अत्यन्तै आनन्दायी गतिविधिलाई हटाउन आध्यात्मिक बल चाहिन्छ। तर परमेश्वरको सेवाका लागि राजीखुसीसाथ छाँटकाँट गर्दा आनन्द अनुभव गर्न सकिन्छ। सक्रिय रूपमा यहोवाको सेवा गर्ने मौका नछाड्दा परिणाम के हुन्छ, यसको एउटा उदाहरण १ इतिहास २९:९-मा उल्लिखित छ: “मानिसहरूले यसरी राजीखुशी साथ दिएकोमा आनन्द मनाए। किनभने आफ्ना हृदयको भक्तिसाथ परमप्रभुको निम्ति तिनीहरूले राजी-खुशीसित ती दिएका थिए।” अप्रिल महिनामा यहोवाको आनन्द अनुभव गर्ने योजना अहिलेदेखि नै मिलाउनु होस्।
१० मण्डलीले अप्रिल महिनामा क्षेत्र-सेवकाईसम्बन्धी विशेष प्रबन्ध मिलाउनु पर्छ। उदाहरणका लागि, बेलुकीपख र शनिवार र आइतवार लगायत अरू दिनहरूमा पनि साक्षी दिने कार्यक्रम आयोजित गर्न सकिन्छ। क्षेत्र-सेवकाईका लागि हुने यी सभाहरूमा तपाईंको उपस्थिति अरूहरूका लागि प्रोत्साहनजनक हुनेछ। क्षेत्र-सेवकाईका निम्ति भेला हुने समयहरू तपाईंका लागि अनुकूल छैनन् भने प्राचीनहरूसित कुरा गर्नु होस्। सम्भवतः तपाईंलाई अनुकूल पर्ने समयमा अरूहरू पनि तपाईंसित क्षेत्र सेवकाईमा जाने प्रबन्ध प्राचीनहरूले मिलाइ दिन सक्छन्।
११ इमान्दारीसाथ र प्रार्थनापूर्वक आफ्नो परिस्थितिको विचार गरेपछि पनि सहायक अग्रगामीले पुऱ्याउनु पर्ने ६० घण्टा पुऱ्याउन सम्भव नदेखिएमा तपाईं निरुत्साहित नहुनुहोस्। बरु यस महिनाको उत्साह र जोसमा सामेल हुनु होस्। अरूहरूलाई अग्रगामी सेवामा भाग लिन प्रोत्साहित गर्नु होस्। अग्रगामीहरूलाई विभिन्न ढङ्गबाट समर्थन गर्नु होस्। सायद तपाईंले आफ्नो गतिविधिलाई अलिकता भए पनि बढाउन सक्नु होला। यसो गर्दा तपाईं एउटा राम्रो उदाहरण बन्नु हुनेछ। सम्पूर्ण हृदयबाट प्रेरित भएर गरिएको सेवासित यहोवा प्रसन्न हुनु हुन्छ। शारीरिक तथा अन्य कारणवश कतिले यहोवाको सेवामा आफूले चाहे जति गर्न सक्तैनन्। तापनि तिनीहरूले इमान्दारीसाथ यहोवाको यथासक्दो सेवा गरेकोमा यहोवा प्रसन्न हुनु हुन्छ भनेर तिनीहरू सन्तोष मान्न सक्छन्।
१२ नयाँ बाइबल अध्ययन शुरु गर्दा थप आनन्द अनुभव गर्न सकिन्छ: राज्यको सुसमाचार प्रचार गर्ने आदेश पालन गर्नु आनन्दको कुरा हो भने चेला बनाउने काममा भाग लिनेहरूले अझ थप आनन्द अनुभव गर्नेछन्। (मत्ती २४:१४; २८:१९, २०) अरूहरूलाई शिक्षा दिने र चेला बनाउने सम्बन्धमा आफ्नो सुप्रसिद्ध आदेश दिनु हुँदा येशूले पाँच सय पुरुष, स्त्री र केटाकेटीहरूलाई सम्बोधन गर्नु भएको थियो। सोही जिम्मेवारी वर्तमान मसीही अनुयायीहरूको ठूलो भीडले पनि उठाउनु परेको छ।
१३ हाम्रो प्रचार कार्यमाथि यसले कस्तो असर पार्नु पर्छ? ढोकाढोकामा गएर प्रचार गर्ने अथवा आम शिक्षा दिने हाम्रो कामको खास उद्देश्यलाई मोल गर्न यसले मदत दिन्छ। संसारको अन्त नजीकै छ भनेर घोषणा गर्नुबाहेक हाम्रो उद्देश्य भेडाखालका मानिसहरू खोज्नु हो। ख्रीष्टका आज्ञाकारी अनुयायी हुनेहरूका लागि बाँच्ने निश्चित आशा छ भनी तिनीहरूलाई सिकाउनु हो। यसप्रकार परमेश्वरको सहकर्मीको हैसियतमा काम गर्न र एउटा मानिसको आध्यात्मिक विकास गराउँदै उनलाई यहोवाको सक्रिय सेवक भएको देख्न पाउनु वास्तवमा ठूलो आनन्दको कुरा हो।—१ कोरिन्थी ३:६-९.
१४ नाउँमात्रको सेवासित हामी सन्तुष्ट रह्यौं भने यसप्रकारको ठूलो आनन्द कहिले अनुभव गर्ने छैनौं। नाउँमात्रको सेवासित यहोवा प्रसन्न हुनु हुन्न। यसप्रकारको सेवामा न यहोवासितको प्रेम र नता भक्तिले बाँधिएको हृदय नै हुन्छ। यसप्रकारको सेवामा छिमेकीप्रति मायालु चासो झल्कँदैन। नाउँमात्रको सेवा दुई बेग्लाबेग्लै ढङ्गमा प्रकट हुन्छ। एउटा त सेवकाईमा कुनै खास आनन्द अनुभव गर्न सकिंदैन। दोस्रो चाहिं, सकेसम्म कम सेवा गर्ने इच्छा र मानिसहरूमा चासो बढाउने अभिरुचिको अभाव हुन्छ। यसप्रकारको मनोवृत्ति पावलले १ तिमोथी २:३, ४-मा भनेका यी शब्दहरूसित पटक्कै मिल्दैन: “हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।”
१५ हामी पनि यहोवाको इच्छाबमोजिम काम गर्न इच्छुक छौं र मुक्तिका लागि सत्यको ज्ञान प्राप्त गर्न हामी अरूहरूलाई पनि मदत दिन चाहन्छौं भनेर अप्रिल महिनामा कसरी प्रदर्शित गर्न सकिन्छ? एउटा त बाइबल अध्ययन शुरु गर्ने लक्ष्य राख्नु होस्! कामगर्ने ठाउँमा, स्कूलमा, छिमेकमा अथवा नातेदारहरू बीच तपाईंले कुन् कुन् व्यक्तिहरूसित सत्यबारे कुरा गरी सक्नु भएको छ, सो सोच्नु होस्। तिनीहरूसित गृह बाइबल अध्ययन शुरु गर्न के तपाईंले कुनै खास प्रयास गर्नु भएको छ र? कि के तपाईं तिनीहरूसित यताउताको सानुतिनु कुराहरू मात्र गर्नु हुन्छ? चेला बनाउने उद्देश्यले सत्य सिकाउने सबैभन्दा प्रभावकारी तरिका गृह बाइबल अध्ययन सञ्चालन गर्नु हो।
१६ ढोकाढोकामा जाँदा हामी यस लक्ष्यलाई कसरी मनमा राख्न सक्छौं? भेडा खालका मानिसहरूलाई फेला पार्न र बाइबल अध्ययन सञ्चालन गरेर तिनीहरूलाई सत्यको ज्ञान प्राप्त गर्ने मदत दिन तपाईं अत्यन्त इच्छुक हुनु हुन्छ भनेर सर्वप्रथम यहोवालाई प्रार्थनामा बताउनु होस्। अनि घरधनीहरूले तपाईंबाट हाम्रो साहित्य लिऊन वा नलिऊन्, चासो देखाउने सबैकहाँ फर्केर जाने गर्नुहोस्। प्रथम भेटमै बलियो जग बसाल्नु होस्। अर्को पटक छलफल गर्नका लागि कुनै अनुत्तरित प्रश्न घरधनलाई सोधिराख्नु होस्। केही हप्तापछि होइन तर सम्भवतः केही दिन पछि नै पुनःभेट गर्न जानु होस्। सफलतापूर्वक पुनःभेट र बाइबल अध्ययन शुरु गर्नेहरूबाट मदत लिनु होस्। निरन्तर यहोवाबाट आशिष माग्नु होस्।—मत्ती ७:७-११.
१७ विशेष पत्रिका-वितरण दिनको आनन्द: शनिवार, अप्रिल १६ तारिख भारतवर्षभरि विशेष पत्रिका-वितरण दिवस मनाइनेछ। त्यस दिन हामी विशेषतः सडकहरूमै काम गर्नेछौं। तपाईंको मण्डलीका लागि गरिएको प्रबन्धबारे तपाईंकै प्राचीनहरूले सूचना दिनेछन्। दिनभरि अर्थात् बिहान, अप्रान्ह र बेलुकी पनि क्षेत्र सेवकाईको प्रबन्ध गरिनेछ। सम्भव भएमा दिनको कम से कम एक पटक, सम्भवतः बिहान, मण्डलीका सबैजना एकै ठाउँमा भेला हुन सक्छन्। यस खास दिनमा मण्डलीको सबैजनाले केही न केही समय सेवकाईमा बिताउन सके कति ठूलो आनन्दको कुरा हुनेछ।
१८ यस विशेष दिनमा सडक सेवाको विशेष प्रबन्ध प्राचीनहरूले मिलाउने छन्। सडक सेवा गर्ने क्षेत्र सीमित भएमा पार्क, समुद्र किनार अथवा मानिसहरू भेला हुने अन्य यस्ता ठाउँहरूमा काम गर्न सकिन्छ। होइन भने आफ्नो क्षेत्रभित्रका ती इलाकाहरूमा पनि जान सकिन्छ जहाँ अक्सर साक्षी दिने काम गरिएको छैन। मानिसहरूलाई भेट्दा मिजासिलो हुनु होस् र चर्को विवादहरूमा नपर्नु होस्। रोमी १२:१८-मा हामीलाई यसो भनिएको छ: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसङ्ग शान्तिमा रहो।”
१९ तर सडक सेवा गर्दा पनि आफ्नो आनन्द कायम राख्न सम्भव छ र? हुन त सेवकाईको यस पक्षबारे अलिकता सङ्कोच तथा “डर” मान्नु स्वभाविक हो। खुला सडकहरू जस्तो ठाउँमा प्रचार गर्दा यहोवामाथि विश्वास र भरोसाको आवश्यकता पर्छ। यो कदम चाल्दा शुरूमा त तपाईंलाई डर लाग्न सक्छ। तर एक पटक प्रयास गरी सक्नु भएपछि चाहिं यहोवाले तपाईंलाई दिनु भएको शक्ति र बल महसुस गर्नु हुनेछ। तपाईं आनन्दित हुनु हुनेछ। यस सम्बन्धमा फिलिप्पी ४:१३-का यी शब्दहरूले हामीलाई सान्त्वना प्रदान गर्छन्: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”
२० अप्रिल महिनामा आफ्नो आनन्द बढाउनु होस्: “मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्।” यशैया ६५:१४-का उक्त शब्दहरू तपाईंको जीवनमा अझ पूर्णरीतिले अप्रिल महिनामा पूरा होऊन्। सृष्टिकर्तालाई पवित्र उपासना चढाउन, उहाँको नजरमा ग्रहणयोग्य हुने काम गर्न, उहाँलाई प्रसन्न तुल्याउन र जीवनको वरदान पाउन चाहनु हुन्छ र आज उहाँको सेवा गर्न इच्छुक हुनु हुन्छ भने, यशैया ६५:१४-मा उल्लिखित आनन्द तपाईंले अनुभव गर्न सक्नु हुनेछ। यहोवाका जनहरूलाई परिचित गराउने असल हृदयको विकास यहोवाले आफ्नो आत्माद्वारा तपाईंमा पनि गरी दिऊन्। खुला हृदयसाथ उहाँका निर्देशनहरूलाई अङ्गाल्नु होस्। तिनीहरूले यहोवाको सेवाप्रति तपाईंमा सही मनोवृत्तिको विकास गरी दिऊन्। परमेश्वरको वचनको सुसमाचार र जीवनलाई नयाँ मोड दिने त्यसका सत्य कुराहरूले तपाईंलाई पनि आफूमा त्यो उत्कृष्ट आनन्दको विकास गर्ने प्रेरणा दिऊन्। किनकि यो उत्कृष्ट आनन्द ब्रह्माण्डको महान परमेश्वरको सेवामा मात्र पाउन सकिन्छ।