हाम्रो राज्य एकता कायम गर्ने
१ परमेश्वरको राज्य, शक्ति र अख्तियार भएको वास्तविक सरकार हो। येशूको प्रचारको मूल विषय त्यही थियो। (मत्ती ४:१७) येशूको सेवकाईको प्रमुख भाग अरूलाई सिकाउनु र राज्यको सत्यबारे साक्षी दिनु थियो। उहाँले हामीलाई राज्यको निम्ति प्रार्थना गर्न र सर्वप्रथम त्यसको खोजी गर्न सिकाउनुभयो। (मत्ती ६:९, १०, ३३) यहोवा अनि उहाँको संगठनको नजीक हुँदा, प्रचार गर्ने जिम्मेवारी पूरा गर्दा र संसारबाट अलग रहँदा हामी राज्य एकता कायम गर्न मदत पाउँछौं। हाम्रो काम र वचनद्वारा हामी राज्यको पक्षमा छौं भनी देखाउँछौं।—यूह. १८:३७.
२ सन् १९१४ देखि यसका लाखौं प्रजाहरूको निम्ति त्यो राज्य वास्तविकता भएको छ। यस विभाजित संसारमा यस राज्यका प्रजाहरूले प्रदर्शन गरेको एकता स्पष्ट देखिन्छ। यसलाई एकताको गाँठो बनाउन हाम्रो जीवनमा राज्य वास्तविक हुनुपर्छ। कुन कुराले हामीलाई त्यो वास्तविक बनाउँछ?
३ अन्य सरकारहरूजस्तै त्यस राज्यका नियम कानुनहरू छन्। यद्यपि, यी बेग्लै छन् किनभने त्यसका नियमहरू बाइबलमा पाइन्छन्। राज्यका प्रजाहरू हुन हामीबाट के माग गरिएको छ भनी परमेश्वरको वचनको नियमित पढाइले हामीलाई स्मरण गराउँछ। हाम्रा प्रकाशनहरूको व्यक्तिगत अध्ययन र “विश्वासी र बुद्धिमान दास[बाट]” प्राप्त निर्देशनहरूले हामीलाई परमेश्वरका नियमहरू दैनिक जीवनमा लागू गर्न मदत गर्छ। (मत्ती २४:४५) व्यक्तिगत तवरमा त्यसलाई प्रयोग गर्दा राज्य हाम्रो लागि झन् झन् वास्तविक हुँदै जान्छ र हामीलाई विश्वव्यापी भ्रातृत्वमा झन् नजीक ल्याउनुका साथै येशूको शासनअन्तर्गत उपासकहरूको एकत्रित परिवारमा बाँध्छ।
४ राज्य प्रचारद्वारा एकता: हाम्रो दायित्व “पृथ्वीको अन्तसम्म” राज्यको सुसमाचार प्रचार गर्नु हो। (प्रे. १:८) यहोवाको “महिमा” गर्न “एउटै मनका भएर” प्रचार गर्ने प्रयत्न गर्दा त्यसले हामीलाई एकताबद्ध बनाउँछ। (रो. १५:५, ६) विश्वभरि हाम्रा सहकर्मीहरूसित जोशिला भएर सहभागी हुनाले हाम्रो विश्वास सुदृढ र यहोवाको इच्छा हामीद्वारा सम्पन्न गर्न उहाँको आत्मा हामीमा क्रियाशील हुन्छ। “प्रभुको काममा प्रशस्त हुँदै” जाँदा हामी “स्थिर र अटल” हुन्छौं।—१ कोरि. १५:५८.
५ धेरै मुलुकहरूमा हाम्रो प्रचार-कार्यमाथि हस्तक्षेप गरेर शैतानले हाम्रो एकता भंग गर्न खोज्छ। आफूसित भएका सबै तौर-तरिकाहरू प्रयोग गरेर विभाजन ल्याउने, मतभेदहरू सृजना गर्ने अनि झगडा र कलह उस्काउने प्रयास त्यसले गर्छ। (हितो. ६:१९; गला. ५:१९-२१, २६) हामी संसारका विवादहरूमा मुछिएको र राजनैतिक तथा सामाजिक विषयहरूमा पक्षसमेत लिएको त्यसले रुचाउँछ। (याकू. ३:१४-१६) त्यसको प्रभावलाई विरोध गर्न हामीलाई शास्त्रले जोड दिन्छ; अन्यथा त्यसले हामीलाई आफ्नो शिकार बनाउनेछ। (१ पत्रु. ५:८, ९) हाम्रो मन अनि हृदयबाट राज्य आशाको वास्तविकता धमिलो हुन दिनु हुँदैन।
६ हाम्रो एकता कायम गर्न मनको स्वच्छता र माथिबाट आउने ज्ञान आवश्यक हुन्छ। कठिनाइहरू आइपर्दा र विशेषगरि हाम्रा भाइहरू समावेश हुँदा शान्ति कायम राख्न हामीले आत्माको फल प्रकट गर्नुपर्छ। घमण्ड, ईर्ष्या र अहम् भावनाजस्ता सांसारिक गुनहरूले विभाजन ल्याउने भएको हुँदा त्यसबाट जोगिनुपर्छ। (एफि. ४:१-३; कल. ३:५-१०, १२-१४) हामीले आफ्नो मन सकारात्मक, उत्थानदायी विचारहरूले भर्नुपर्छ। हाम्रो जीवनमा यो राज्य वास्तविकता हो! तर त्यसलाई त्यस्तै अवस्थामा राख्न हामी सतर्क हुनुपर्छ!—एफि. ६:११, १३.
७ हाम्रो अद्भुत राज्य आशाको वास्तविकताले हामीलाई चिरकालीन एकताको आत्मामा एकताबद्ध पार्छ।—भजन. १३३:१.