भारतमा सम्पन्न मिनिस्टेरियल ट्रेनिंग स्कूलको पहिलो कक्षा
१ लोनाभलामा सम्पन्न मिनिस्टेरियल ट्रेनिंग स्कूलको पहिलो कक्षामा दुइ अवलोकनकर्ताहरूलगायत सिक्किम र नेपालगरि भारतका विभिन्न स्थानहरूबाट २३ विद्यार्थीहरू उपस्थित थिए। ती विद्यार्थीहरूमध्ये दुइ जना प्राचीनहरू थिए भने अरू सहायक सेवकहरू थिए। तिनीहरूमध्ये सात जना विशेष अग्रगामी, नौ जना नियमित अग्रगामी र बाँकी मण्डलीका प्रकाशकहरू थिए। ती विद्यार्थीहरूलाई सिकाउन दुइ निर्देशकहरूले मे २२ देखि जुलाई १६, १९९५ सम्म आठ हप्ता बिताए। करिबन २७० घण्टा कक्षाकोठामा निर्देशन दिइएको थियो। अनि विद्यार्थीहरूले आ-आफ्नो गृहकार्य गर्न तथा अध्ययनसम्बन्धी योजना बनाउन निकै समय बिताए। तिनीहरूले बेथेलमा गरिने केही कार्यहरूको व्यवहारिक अनुभव पनि हासिल गरे।
२ आइतबार जुलाई १६ तारिखका दिन बेथेलस्थित राज्य भवनमा अति सुव्यवस्थित स्नातक कार्यक्रम आयोजना गरियो। कार्यक्रमको अन्ततिर विद्यार्थीहरूलाई तिनीहरूको कार्यभार सुम्पियो। अनुकूल परिस्थिति भएका छ जना विद्यार्थीहरू विशेष अग्रगामीको हैसियतले खटाइए। अनि बाँकी आ-आफ्नै मण्डलीमा फर्के र त्यहाँ तिनीहरूले नियमित अग्रगामी वा मण्डलीका प्रकाशकहरूको हैसियतले सेवा गर्नेछन्।
३ विद्यार्थीहरूले पाएका निर्देशनको साह्रै मूल्यांकन गरे। यस्तो शिक्षाले विद्यार्थीहरूलाई आध्यात्मिक तवरमा सुसज्जित हुनु मात्र होइन तर तिनीहरूले संगत गर्ने मण्डलीलाई पनि मदत पुऱ्याउनेछ भन्ने आशा हामीले राखेका छौं। यस्तो तालिमको खाँचो टड्कारो देखिएकोले सहायक सेवकको हैसियतमा कम्तीमा दुइ वर्ष बिताइसकेका २३ देखि ५० उमेरका भाइहरू भावी कक्षाहरूमा भर्ती हुनेछन् भन्ने आशा राखिएको छ।
४ हामीले भारतमै मिनिस्टेरियल ट्रेनिंग स्कूल कक्षा वर्षेनी एक चोटि संचालन गर्ने योजना बनाएका छौं। तसर्थ, आउँदो कक्षाको लागि योग्य हुनेतर्फ भाइहरूले प्रयत्न गर्नसक्छन्। उदाहरणको लागि, अंग्रेजी भाषा जान्नु जरुरी छ। अरू क्षेत्रमा योग्य तर अंग्रेजी नजान्नेहरूले अंग्रेजी सिकेर भाषा उन्नति गर्नसक्छन्। यस कक्षामा भाग लिन इच्छुक भाइहरूलाई जिल्ला निरीक्षकसित सम्पर्क राख्न र आउँदो क्षेत्रीय सम्मेलनमा सम्भाव्य विद्यार्थीहरूका लागि संचालन गरिने सभामा भाग लिन आग्रह गरिन्छ। तिनीहरूले त्यस सभामा प्रारम्भिक फाराम लिएर तत्कालै भरेर जिल्ला निरीक्षकलाई दिनुपर्छ र तिनले त्यो फाराम हामीलाई पठाउनेछन्। योग्य विद्यार्थीहरूलाई सोसाइटीले सम्पर्क गर्नेछ।