सबैका निम्ति सबै कुरा हुने
१ हालैका महिनाहरूमा विशाल उपमहादेश, भारतका हरेक ईश्वरतान्त्रिक क्रियाकलापहरूमा भएको राम्रो प्रगति सुन्न पाउनु यहोवाका सेवकहरूका लागि ठूलो प्रोत्साहनको स्रोत भएको छ। विभिन्न पृष्ठभूमिका थुप्रै मानिसहरूले सत्य स्वीकारिरहेको देख्दा हामी यो कुरालाई बुझ्छौं, यहोवाले संसारको अन्य भागमा जस्तै महासंकष्ट सुरु हुनुअगावै यस भारतीय भूमिमा पनि भेडाखाले मानिसहरूलाई जम्मा गर्ने कार्य ‘तीव्र पार्दै हुनुहुन्छ।’ तथापि, हाम्रो इलाकाका लाखौं मानिसहरूलाई सुसमाचार सुनाउन बाँकी भएकोले अझ निकै काम गर्नुपर्छ भनेर स्पष्ट हुन्छ।—यशै. ६०:२२, NW.
२ भारतको विविध धार्मिक विश्वासलाई ध्यानमा राखेर हामी यस्ता प्रश्नहरू गर्नसक्छौं: सत्यलाई अझ प्रभावकारी ढंगमा प्रस्तुत गर्न के हामी केही गर्नसक्छौं? घरधनी हिन्दू, मुस्लिम, पारसी वा मसीही भनौंदा जोसुकै भए तापनि के सबैलाई एउटै परिचय वा वार्तालापीय बुँदा उपयुक्त होला? आफ्ना श्रोताहरूलाई सुहाउने ढंगमा प्रस्तुतिहरू छाँटकाँट गर्न प्रेरित पावल असाध्यै सजग थिए भनेर १ कोरि. ९:१९-२३ ले देखाउँछ। तिनी ‘सबैका निम्ति सबै कुरा’ हुनुको मनसाय के थियो? तिनी यसो भन्छन्: “म [अरूसित] त्यसको सम्भागी होऊँ भनेर सुसमाचारको खातिर सब थोक गर्दछु।”
३ धर्मशास्त्रबाट तर्क गर्ने (अंग्रेजी) पुस्तकले राज्य सन्देश प्रस्तुत गर्न र थप छलफललाई रोक्ने अवरोधहरू सामना गर्नका लागि प्रशस्त मदतकारी विषयवस्तु प्रदान गर्छ। धेरैजसो परिचयहरू सामान्य प्रकारका छन् र जुनसुकै धर्म मान्ने वा धर्मप्रति कुनै चासो नराख्ने व्यक्तिसित प्रयोग गर्न सकिन्छ। यी परिचयहरू हाम्रो क्षेत्रमा प्रभावकारी साबित भएका छन्। तथापि, हामीले प्रायजसो भेट्ने मानिसहरूसित प्रयोग गर्न सकिने विशिष्ट विषयवस्तुहरूका लागि हामीले समय समयमा निवेदनहरू नपाएका होइनौं। यही आवश्यकतालाई ध्यानमा राख्दै तपाईंले चलाउन सक्नुहुने केही सुझाउहरू तल प्रस्तुत गरिएका छन्। हामीलाई सेवकाईमा जाँदा झोलामा सधैं तर्क पुस्तक लैजान प्रोत्साहन दिइएको छ। क्षेत्र सेवकाईमा जानुहुँदा उक्त पुस्तकभित्रै यस परिशिष्टांक पनि सधैं आफूसित राख्नु बेस होला।
४ कुनै एउटा धर्मको मानिसलाई सुहाउँदो परिचय तयार पार्दा हामीले बिर्सन नहुने महत्त्वपूर्ण कुरा के हो भने, हामीले जोसित जुन धर्मबारे कुरा गरिरहेको छौं उक्त व्यक्ति साँच्चै त्यही धर्मको हुनुपर्छ। उदाहरणका लागि, ढोकामा हिन्दू नारा, स्वस्तिक वा हिन्दू देवहरूको तस्बिर राखिएको होला। तथापि, त्यहाँ बहालमा बस्ने व्यक्ति रोमन क्याथोलिक हुनसक्छ। अतः, कुनै खास पदावलीको प्रयोग वा कुनै धर्मबारे संकेत गर्दा हामी विवेकी हुनुपर्छ। भारतीय क्षेत्रमा काम गर्नुको एउटा फाइदा के छ भने, अन्य थुप्रै देशहरूमा जस्तो यहाँका मानिसहरू प्रायजसो हतारमा हुँदैनन् र त्यस व्यक्तिको धर्म वा समुदाय थाह पाउने प्रयास गरुञ्जेल एकअर्कासित मित्रैलो अभिवादन गर्नसक्छौं।
५ राजा सुलेमानले “मीठा मीठा शब्दहरू छाने, तर जे तिनले लेखे ती बिलकुलै सत्य थिए।” (उप. १२:१०) “सत्य[का]” सही शब्दहरू बोल्नुको अर्थ, हामीले बताउने सबै कुरा सधैं सही हुनुपर्छ। कहिलेकाहीं भाइहरूले आफूलाई तर्कपूर्ण ठानेर गलत कथन वा जवाफहरू दिन्छन्। उदाहरणका लागि, प्रायजसो यस्तो टिप्पणी गरिन्छ, ‘तपाईंले मलाई मसीही बनाउन खोज्नुभएको हो।’ भाइहरूले यस्तो जवाफ दिएको पाइन्छ, ‘अहँ, पटक्कै होइन!’ के त्यो साँचो हो? अथवा हिन्दू व्यक्तिले रामराज्य पर्खिरहेको कुरा व्यक्त गर्ला। त्यतिबेला के हामी यस्तो जवाफ दिनेछौं: ‘हामी त्यही विषयमा कुरा गर्न आएका हौं।’ कसैले भन्छ, ‘म आफ्नै पवित्र पुस्तकहरू मात्र पढ्छु।’ के हामी यसो भन्नसक्छौं, ‘धेरै राम्रो’ वा ‘त्यो सुन्न पाउँदा मलाई खुशी लाग्यो।’ हामीले प्रयोग गर्ने शब्दहरूबारे होशियार हुँदै राज्यको शुद्ध, सरल सन्देशलाई मिथ्या वा मानव दर्शनहरूबाट अलग राखेर हामी “सत्य[का]” सही शब्दहरू बोल्नसक्नेछौं।
६ यसको अर्थ, हाम्रा श्रोताहरूलाई थाह भएको शब्द वा धारणाबारे उल्लेखै गर्नेछैनौं भनेको होइन। घरमा राखेको चित्र वा मूर्तिहरू वा उक्त व्यक्तिको नाउँ वा पहिरनले तिनी हिन्दू भनेर चिन्यौं भने तल दिइएका मध्ये कुनै एउटा परिचय चलाउनसक्छौं:
७ हिन्दूसित कुरा गर्दा:
▪ ‘एउटा विश्वव्यापी सेवाअन्तर्गत हामी तपाईंलाई असाध्यै राम्रो समाचार सुनाउन आएका हौं। विश्व परिस्थितिहरू दिनपरदिन बिग्रँदैछ भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ होला। . . . तपाईंले ‘कलियुग’ भन्नुहुने समयमा हामी अहिले बाँचिरहेका छौं जस्तो महसुस गर्नुभएको होला। र तपाईंको सोचाइमा त्यतिबेला हिंसा, अपराध र नैतिक पतनजस्ता कुराहरू हुने नै छन्। एउटा पुरातन पवित्र पुस्तकले यी परिस्थितिहरू र भावी घटनाहरूबारे कसरी वर्णन गर्छ, म तपाईंलाई देखाउन चाहन्छु। . . . (२ तिमो. ३:१-५; भज. ३७:१०, ११)’
▪ ‘हामी तपाईंलाई सुसमाचार सुनाउन आएका हौं। आजकल हामी प्रायजसो नराम्रो समाचार सुन्छौं, होइन र? हामी सधैंजसो हिंसा, अपराध, बेरोजगारी, बिरामी र गरिबीबारे सुन्छौं। . . . तपाईंलाई थाह भएअनुसार यो ‘कलियुग’ हो भनी सोच्नुहुन्छ होला। तपाईंले ‘सत्ययुग’ भन्नुहुने युग के हाम्रै जीवनकालमा आउँछ जस्तो लाग्छ? . . . परमेश्वरले संसारका क्रियाकलापहरूमा हस्तक्षेप गर्नुहुँदा यी खराब परिस्थितिहरू चाँडै हटाइनेछन् भनेर हामी एउटा पुरातन पवित्र पुस्तकको अध्ययनबाट विश्वस्त भएका छौं। त्यही पवित्र पुस्तकको एक लेखकले यसप्रकार वर्णन गर्छन्। (हितो. २:२१, २२) यो आशा तथ्यमा आधारित छ र परिवर्तन नजीकै छ भनेर हामीलाई विश्वस्त गराएको केही जानकारी तपाईंलाई बताउन चाहन्छौं।’
८ हिन्दू वा मुस्लिमसित कुरा गर्दा:
हिन्दू र मुस्लिम दुवैले छिमेकीहरूबीच शान्तिपूर्ण सम्बन्धबारे सकारात्मक टिप्पणी गर्लान्। हामी यसो भन्नसक्छौं:
▪ ‘कुनै समय एकअर्कासित मित्रैलो सम्बन्ध राख्ने मानिसहरूबीच बढिरहेको हिंसाले उत्पन्न समस्याहरूबारे हामी छिमेकीहरूसित कुरा गर्दैछौं। प्रायजसो, ‘हामी सबै भाइभाइ हौं’ भनेका सुन्छौं। तर तपाईंको विचारमा के आजकल भ्रातृ भावना देखिन्छ वा त्यो हराइरहेको छ? . . . तपाईंको विचारमा यहाँ धेरैअघि वर्णन गरिएका भविष्यवाणीहरू आजको परिस्थितिसित मिल्दोजुल्दो छैन र? (२ तिमो. ३:१-५, [केही भाग]) . . . तर हेर्नुहोस्, यी घटनाहरू “आखिरी दिनमा” हुनेछन् भनी बताइएको छ। यी “आखिरी दिन[पछि]” के हुनेछ भन्ने थप प्रतिज्ञाहरू म तपाईंलाई बताउन चाहन्छु।’
▪ ‘हामी एउटा विश्वव्यापी शैक्षिक कार्यअन्तर्गत तपाईंकहाँ आएका हौं। विश्वशान्ति देख्न चाहने मानिसहरूले यस कार्यमा भाग लिइरहेका छन्। तपाईंको विचारमा के यो संसार डर, हिंसा वा अपराधबाट मुक्त भएर पूर्णतया शान्तिमय होला? . . . (धेरैले त्यो त परमेश्वरकै हातमा छ भन्नेछन्। त्यसो हो भने हामी यसरी थप्नसक्छौं . . . ) हामी तपाईंसित पूर्ण सहमत छौं। एक धर्मी पुरुषले के भने, हेर्नुहोस् त। (यशै. २:४) (तिनीहरूले परमेश्वरबारे उल्लेख गरेनन् भने हामी यसो भन्नसक्छौं . . . ) यस पुरातन बुद्धिमान पुरुषले विश्वास गरेझैं के परमेश्वरले विश्व परिस्थितिहरूमा हस्तक्षेप गर्नुहुनेछ? . . . (यशै. २:४)’
९ मुस्लिमसित कुरा गर्दा:
मुस्लिमहरूले हिब्रू धर्मशास्त्रलाई आदर गर्छन् भन्ने कुरा मनमा राख्दै हामी त्यहींबाट पदहरू र तिनीहरूलाई थाह भएका नाउँहरू उल्लेख गर्नसक्छौं। हामी यसो भन्नसक्छौं:
▪ ‘एउटा अन्तरराष्ट्रिय कार्यअन्तर्गत हामी आज तपाईंकहाँ आएका हौं। यस कार्यमा ५० लाखभन्दा बढी स्वयंसेवकहरूले भाग लिइरहेका छन् र तिनीहरूले सबै राष्ट्रका मानिसहरू शान्तिपूर्वक बसेको हेर्न चाहने मानिसहरूसित कुरा गर्छन्। त्यो त असाध्यै राम्रो हुनेथियो, होइन र? . . . परमेश्वरले भविष्यबारे अब्राहामलाई प्रतिज्ञा गर्नुभएको कुरा के तपाईंले कहिल्यै पढ्नुभएको छ? (उत्प. २२:१८) सारा राष्ट्रका मानिसहरूलाई दिइने आशिष्बारे थुप्रै अगमवक्ताहरूले के भने, त्यसबारे हामीले राम्ररी अध्ययन गरेका छौं र त्यो चाँडै आउनेछ भनी निश्चित छौं। त्यही सुसमाचार हामी आफ्ना छिमेकीहरूलाई बताउन चाहन्छौं।’
▪ ‘तपाईंलाई घरमा भेट्न पाउँदा खुशी लाग्यो। तपाईं मुस्लिम हुनुभएकोले एक सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ र उहाँले मानिसहरूप्रति चासो राख्नुहुन्छ अनि एक दिन पृथ्वीका दुष्ट मानिसहरूलाई न्याय गर्नुहुनेछ भनी विश्वास गर्नुहुन्छ भन्ने कुरा हामीलाई थाह छ। त्यो कसरी हुनेछ भन्ने यो विवरण हामीलाई असाध्यै रोचक लाग्यो। (यशै. २:४) त्यसपछि पृथ्वीमा के हुनेछ भनी त्यही अगमवक्ताले के भनेका छन्, के तपाईंले कहिल्यै पढ्नुभएको छ? . . . (यशै. ३५:५, ६ वा ६५:२१, २२)’
१० वार्तालाप बाधकहरू:
हाम्रो वार्तालापलाई रोक्नसक्ने अवरोधहरू सँभाल्ने थुप्रै तरिकाहरू तर्क पुस्तकले प्रस्तुत गर्छ। भारतमा सेवकाईको दौडान सामना गरिने सामान्य अवरोधहरू सँभाल्ने तरिका तल प्रस्तुत गरिएका छन्।
‘हामीलाई होइन, गएर राजनीतिज्ञहरूलाई प्रचार गर्नुहोस्।’
▪ ‘भन्नुहोस् त, तपाईंको विचारमा कुनै नेतासित जतिसुकै शक्ति भए तापनि के तिनले सारा संसारका समस्याहरू समाधान गर्नसक्लान्? . . . तपाईं र मैले ती समस्याहरू समाधान गर्न नसकेझैं राजनीतिज्ञहरूले जस्तोसुकै निष्कपट प्रयास गरे तापनि सक्दैनन्। तर मानिसका सबै समस्याहरू समाधान गर्न सक्नुहुने एक जना हुनुहुन्छ . . . (यशै. २:४; यशै. ६५:१७, २०, २१)’
▪ ‘हामीले तिनीहरूलाई भेटेको बेलामा त बताइहाल्छौं। नेता होस् या जनसाधारण, जीवनको हरेक क्षेत्रका मानिसहरूलाई सुसमाचार सुनाउनु हाम्रो जिम्मेवारी हो। त्यो सुसमाचार के हो भने, अहिले हामीलाई भयभीत तुल्याउने सबै समस्याहरूको चाँडै समाधान हुनेछ। यी प्रतिज्ञाहरूमा विश्वास गर्न सके ती निष्कपट राजनीतिज्ञहरू खुशी हुनेथिएनन् होला र? . . . (भज. ४६:८, ९; मीका ४:३, ४)’
▪ ‘आफूलाई भोट दिएर सत्तामा पुऱ्याउने मानिसहरूलाई गरेका प्रतिज्ञाहरू पूरा गर्न संसारभरिका नेताहरूलाई धौ-धौ परिरहेको छ, होइन र? . . . एक लेखकले शताब्दीयौंअघि गरेको विवरणसित आजको परिस्थिति एकदमै मिल्दोजुल्दो छ। (भज. १४६:३, ४) नेताले राम्रै गर्दा पनि प्रायजसो तिनलाई सत्ताबाट निकालिन्छ, तिनको मृत्यु हुन्छ वा तिनको उत्तराधिकारीले त्यो काम पूरा गर्दैन। वास्तवमा हामी तपाईंलाई सबै समस्याहरू समाधान गर्ने शक्तिमान् स्थायी शासक भएको विश्व सरकारबारे बताउन आएका हौं। के त्यो असाध्यै राम्रो हुनेछैन र? . . . (भज. ७२:७, ८, १३, १४)’
‘भारत त धर्मपरायण देश हो, त्यसकारण पश्चिमी देशहरूमा गएर प्रचार गर्नुहोस्।’
▪ ‘हो, यस २०औं शताब्दीका धेरै देशहरूले धार्मिक रीतिरिवाज र आफूले जुन धर्म मान्छु भनी दाबी गर्छन्, त्यसको नैतिक स्तरलाई समेत तिरस्कार गर्छन्। तर के तपाईंको विचारमा धर्मले यहाँ भारतका समस्याहरू समाधान गरेको छ? यहाँ हुने अधिकांश हिंसा धार्मिक पक्षपातकै कारण सुरु भएको होइन र? . . . सारा राष्ट्रका मानिसहरू एकताबद्ध भएर साँचो धार्मिक सिद्धान्तहरू पालन गरे कति असल हुनेथियो। . . . (भज. १३३:१)’
▪‘वास्तवमा भन्नौं भने, भारतमा भन्दा लाखौं बढी साक्षीहरूले पश्चिमी देशहरूमा प्रचार गरिरहेका छन्। तर हामीले तपाईंलाई सुनाउन आएको समाचार दुःख, हिंसा र अशान्तिको अन्त देख्न चाहने सबै मानिसहरूका लागि हो। हामी जहाँसुकै बसे तापनि यस्तै परिस्थितिहरू देख्न चाहन्छौं, होइन र? . . . (प्रका. २१:४)’
▪ ‘हो, पश्चिमी देशका अधिकांश मानिसहरूले पूर्णतया भौतिकवादी मनोवृत्ति राखेको जस्तो देखिन्छ। तर भारतका धर्मपरायण मानिसहरूले पनि हिंसा, भोकमरी, बेरोजगारी, बिरामी र मृत्यु भोग्दैनन् र? . . . पूर्व र पश्चिम दुवैमा चासो राख्नुहुने परमेश्वरले चाँडै पृथ्वीलाई यी समस्याहरूबाट मुक्त गर्नहुनेछ भनी हामी विश्वस्त छौं र यही जानकारी तपाईंसित बाँड्न चाहन्छौं . . . (भज. ३७:१०, ११, २९)’
‘तपाई हाम्रो धर्मपरिवर्तन गराएर मसीही बनाउन खोज्दै हुनुहुन्छ’
▪ ‘इतिहासलाई हेऱ्यौं भने, मानिसहरूलाई जबरजस्ती धर्म परिवर्तन गराउन निकै प्रयास भएको पाइन्छ। तर ढुक्क हुनुहोस्, हामी त्यो कुरालाई समर्थन गर्दैनौं। प्रायजसो राजनैतिक कारण वा व्यक्तिगत लाभ पाउन त्यसो गरिन्छ। तथापि, हामी तपाईं, तपाईंको परिवार र यस संसारका दुःखद परिस्थितिहरू परिवर्तन भएको हेर्न चाहने सबै धर्मका निष्कपट मानिसहरूको लाभ हुने सन्देश सुनाउँदैछौं। यस परिवर्तनबारे एक पुरातन पवित्र पुस्तकले यसरी बताउँछ। (भज. ३७:१०, ११)’
▪ ‘केही मानिसहरूले हामी धर्मपरिवर्तन गराउन घूस वा दबाब दिने चर्चका संगठनहरूसित सम्बन्धित छौं भन्ठान्छन्। हामी त्यस्ता कार्यहरूलाई पटक्कै स्वीकार्दैनौं र चर्चसित हाम्रो कुनै सम्बन्ध छैन। हामी अन्तरराष्ट्रिय समूहको भाग हौं र यसका ५० लाखभन्दा बढी स्वयंसेवकहरूले आफ्ना छिमेकीहरूलाई चाँडै युद्धहरू हुनेछैनन् भन्ने सुसमाचार सुनाइरहेका छन्। हामीलाई कुन कुराले त्यस्तो आश्वासन दियो, देखाऊँ? . . . (भज. ४६:८, ९)’
‘म आफ्नै पवित्र पुस्तकहरू मात्र पढ्छु’
▪ ‘धर्ममा अझैपनि चासो राख्ने मानिस भेट्न पाएकोमा मलाई असाध्यै खुशी लाग्यो। आज अधिकांश मानिसहरू मनोरञ्जन र भौतिक सम्पत्तिहरूमा मात्र बढी चासो राख्छन् भनेर तपाईं पनि स्वीकार्नुहुन्छ होला। . . . तपाईंलाई केही धार्मिक पुस्तकहरूबारे जानकारी भएकोले मलाई थाह भएको पवित्र पुस्तक अर्थात् बाइबलको यस पदबारे तपाईंको विचार के छ, जान्नसक्छु कि? (हितो. २:२०-२२) . . . अहिले, थुप्रै पवित्र पुस्तकहरूले देखाएअनुसार परमेश्वरले एक दिन सबै दुष्ट मानिसहरूलाई नाश गर्नुहुनेछ। तर यो विनाश कहिले हुनेछ र पृथ्वीमा आनन्दसित बस्न त्यसबाट कसरी बच्नसक्छौं भनी बाइबलले सुस्पष्ट संकेतहरू दिने भएकोले हामी छिमेकीहरूकहाँ जान्छौं। म त्यो जानकारी तपाईंलाई बताउन चाहन्छु।’
▪ ‘हो, धेरै मानिसहरू आफूलाई बाल्यकालदेखि सिकाएका धार्मिक पुस्तकहरू मात्र पढेर सन्तुष्ट हुन्छन्। व्यक्तिगत तवरमा भन्ने हो भने, अरू मानिसहरूले परमेश्वरबारे कस्तो विश्वास राख्छन् र उहाँलाई कसरी उपासना गर्छन् भनेर जान्नु मलाई असाध्यै रोचक लाग्छ। फलस्वरूप हिंसा र समस्याले भरिएको वर्तमान संसारबारे गरिएका केही उल्लेखनीय भविष्यवाणीहरू जान्न सकेको छु। म तपाईंलाई वर्तमान संसारको एउटा विवरण देखाउन चाहन्छु र मेरो विचारमा त्यो तपाईंलाई एकदम सही लाग्नेछ . . . (२ तिमो. ३:१-५, [केही भाग])’
११ प्रेरित पावलले विश्वस्त भएर यसो भने: “म सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु। किनभने परमेश्वरको सबै सल्लाह तपाईंहरूलाई बताउनालाई म पछि हटिनँ।” (प्रे. २०:२६, २७) हामी पनि ‘सबै प्रकारका मानिसहरूलाई’ सत्यको अद्भुत सन्देश प्रस्तुत गर्न आफ्नो “निर्मल मन” चलाएर पावलजस्तै लगनशील हुन हर प्रयास गरौं।—२ पत्रु. ३:१.