यहोवाको आत्मा हामीसित छ
१ हामी यहोवाका साक्षीहरूले पूरा गर्नुपर्ने ठूलो कार्यभार छ। येशूले भन्नुभयो: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कू. १३:१०) मानिसको दृष्टिमा यो काम आकाशको तारा खसाल्नु जस्तो लाग्ला। तर त्यस्तो असम्भव चाहिं होइन। ब्रह्माण्डकै सबैभन्दा सशक्त शक्तिले हामीलाई आड दिन्छ। त्यो शक्ति हो—परमेश्वरको आत्मा।—मत्ती १९:२६.
२ प्रथम शताब्दीको प्रमाण: येशूले यशैयाको भविष्यवाणी आफैमा लागू गराउनुहुँदै यसो भन्नुभयो: “परमेश्वरको आत्मा ममाथि छ, . . . सुसमाचार सुनाउनाको निम्ति।” (लूका ४:१७, १८) स्वर्गारोहण हुनअघि येशूले आफ्ना प्रेरितहरूलाई पवित्र आत्माले त्यसरी नै “पृथ्वीको अन्तसम्म” साक्षी दिन शक्ति दिनेछ भनेर बताउनुभयो। त्यसपछि, पवित्र आत्माले फिलिपलाई एथियोपिया देशको खजाञ्चीलाई प्रचार गर्न डोऱ्याएर लग्यो। यही आत्माले पत्रुसलाई रोमी कप्तानकहाँ अनि पावल र बर्णाबासलाई अन्यजातिका देशहरूमा प्रचार गर्न डोऱ्यायो। त्यस्ता पृष्ठभूमिका मानिसहरूले सत्य स्वीकार्लान् भनेर कसले पो सोचेको थियो र? तर तिनीहरूले स्वीकारे।—प्रेरि. १:८; ८:२९-३८; १०:१९, २०, ४४-४८; १३:२-४, ४६-४८.
३ वर्तमान प्रमाण: प्रकाशको पुस्तकले अहिले भइरहेको प्रचार कार्यमा पवित्र आत्माको भूमिकामाथि जोड दिंदै यसो भन्छ: “आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस्।’ . . . जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।” (प्रका. २२:१७) यही आत्माले ख्रीष्टको दुलहीवर्ग र तिनीहरूका सहचर “अरू भेडा[लाई]” सबै मानिसहरूकहाँ सुसमाचार सुनाउन उत्प्रेरित गरेको छ। (यूह. १०:१६) हामी प्रचार गर्न साहसी हुनुपर्छ, हरप्रकारका मानिसहरूलाई भेट्न हिचकिचाउनु हुँदैन अनि परमेश्वरको आत्माले हामीलाई मदत गर्नेछ भनेर विश्वस्त हुनुपर्छ। परमेश्वरको आत्माले उहाँका सेवकहरूलाई मदत गरी नै रहेको ठोस प्रमाण वार्षिक पुस्तक १९९८-ले (अंग्रेजी) दिन्छ। परिणाम हेरौं न! विगत दुई सेवा वर्षको दौडान प्रतिदिन सरदर १,००० व्यक्तिले बप्तिस्मा लिए।
४ यहोवाको इच्छा भएसम्म राज्य सन्देश प्रचार गर्दा उहाँको आत्माले हामीलाई मदत दिई नै रहनेछ भनेर ढुक्क होऔं। यो ज्ञानले हामीलाई परमेश्वरको राज्यसम्बन्धी सर्वमहत्त्वपूर्ण काममा मरिमेटेर सक्रिय भइरहन प्रोत्साहित र उत्प्रेरित गर्नुपर्ने हो।—१ तिमो. ४:१०.