“जीवनमा पछि के गर्ने?”
१ वयस्क हुँदै जाँदा तपाईंले यस्तो प्रश्न गर्नुहोला, ‘जीवनमा पछि के गर्ने?’ मसीही युवायुवतीहरू सेवकाईमा भाग लिएर यहोवाको सेवामा अझ बढी गर्न चाहन्छन्। तर वयस्क भएपछि आफ्ना भौतिक आवश्यकताहरू पूरा गर्नुपर्ने जस्ता जिम्मेवारीहरू वहन गर्दै तपाईं कसरी यहोवाको सेवामा अझ बढी गर्न सक्नुहुन्छ? यस प्रश्नको जवाफ जटिल छ।
२ केही युवायुवतीहरू विश्वको आर्थिक अवस्था देखेर अनि भविष्यबारे सोचेर चिन्तित हुन्छन्। तिनीहरू यस्तो विचार गर्छन्: ‘थप शिक्षा लिनुपर्ने हो कि? या अहिलेदेखि नै पूर्ण-समय सेवा थालुँ?’ सही निर्णय गर्न एक व्यक्तिले इमानदारपूर्वक यस प्रश्नको जवाफ दिनुपर्छ, ‘मेरो जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हो?’ तिनले आफ्ना मनसायहरू जाँच्नुपर्छ।
३ तपाईंले आफ्नो युवावस्थामा कुन कुरालाई सबैभन्दा बढी प्राथमिकता दिनुभएको छ? के तपाईं पैसा कमाउनमा मात्र ध्यान दिनुहुन्छ या साँच्चै राज्यसम्बन्धी गतिविधिहरूको उन्नतिको निम्ति आफ्नो जीवन चलाउन चाहनुहुन्छ? विश्वविद्यालयबाट डिग्री प्राप्त गर्दैमा जागिर पाइन्छै भन्ने कुनै ग्यारेन्टी छैन। विकल्पको रूपमा थुप्रैले पछि जागिर पाउन सजिलो होस् भनेर कम समय र परिश्रम लाग्ने थप शैक्षिक कार्यक्रम, कुनै व्यवसायिक वा प्राविधिक स्कूल शिक्षा वा छोटो समयका कलेज कोर्सहरू गरेका छन्।
४ यहोवाका प्रतिज्ञाहरूमा भरोसा गर्नुहोस्: उहाँको राज्यसम्बन्धी गतिविधिहरूलाई जीवनमा प्राथमिकता दिनेहरूको निम्ति प्रबन्ध मिलाइदिनुहुन्छ भन्ने यहोवा परमेश्वरको आश्वासनमाथि विचार गर्नु महत्त्वपूर्ण छ। (मत्ती ६:३३) यो कुनै व्यर्थको प्रतिज्ञा होइन। मिनिस्टेरियल ट्रेनिङ स्कूलमा जाने थुप्रै भाइहरूले सत्य सिक्नुअघि विश्वविद्यालयबाट डिग्रीहरू हासिल गरेका थिए। तर तिनीहरूले कस्ता जागिर खाइरहेका थिए? तिनीहरूमध्ये थोरै मात्र आफ्नो शिक्षाअनुसारको पेशामा लागेका थिए। अरू थुप्रैले चाहिं अग्रगामीको साथसाथै अरूलाई सेवा पुऱ्याउने खालका जागिरहरू खाएर आफ्नो भौतिक आवश्यकताहरू राम्ररी पूरा गरिरहेका थिए। तिनीहरूले सेवकाईमा आफ्नो गतिविधि बढाएर पैसाद्वारा प्राप्त गर्न नसकिने आशिष्को आनन्द उठाइरहेका छन्।
५ स्कूल पढिसकेर के गर्ने भनी निर्णय गर्नुअघि सबै पक्षहरूबारे सोच्नुहोस् अनि आफ्ना विचारहरूलाई राम्ररी जाँच्नुहोस्। आफ्ना छनौटहरूप्रति सन्तुलित विचारधारा राख्न ब्यूँझनुहोस्!, अप्रिल ८, १९९८, पृष्ठ १९-२१ मा दिइएका जानकारीहरू पढ्नुहोस्। तपाईंको आमाबाबु, प्राचीन, क्षेत्रीय निरीक्षक तथा आफ्ना इलाकाका सफल अग्रगामीहरूसित कुरा गर्नुहोस्। त्यसो गर्दा भविष्यमा के गर्ने भनी बुद्धिमानी निर्णय गर्न मदत पाउनुहुनेछ।—उप. १२:१, १३.