उनीहरू आफैलाई फाइदा हुने गरी सिकाउनुहोस्
१ यहोवा सबै मानिसहरूले फाइदा उठाऊन् भन्ने चाहनुहुन्छ। (यशै. ४८:१७) हामीलाई के कुराले साँचो आनन्द दिन्छ, त्यो उहाँलाई थाह छ। उहाँ, मानिसहरू विपत्तिमा नपरून् बरु, उहाँका आज्ञाहरू पालन गरेर जीवनको आनन्द उठाऊन् भन्ने उत्कट चाह गर्नुहुन्छ। परमेश्वरले चाहनुभएअनुसारको जीवन बिताएर हाम्रै भलाइ भइरहेको छ। (भज. ३४:८) अरूलाई पनि त्यसै गर्न हामी कसरी मदत गर्नसक्छौं?
२ मानिसहरू के चाहन्छन्? तपाईंको इलाकाका घरधनीहरूलाई कुन कुराको चिन्ता लाग्छ? के ती धनजनको सुरक्षा, स्थायी विवाह, बालबच्चाहरूको भविष्य आदि हैनन् र? समस्या आइपर्दा तिनीहरू कहाँ समाधान खोज्छन्? निर्देशनको निम्ति तिनीहरू आफैमाथि, निर्देशक पुस्तकहरूमाथि अथवा अरूमाथि भर पर्छन्। फलतः असंगत तथा अव्यावहारिक विचारहरूले गर्दा थुप्रै अलमल्लमा पर्नसक्छन्। परमेश्वरको वचनले दिने निर्देशन सर्वोत्तम छ भनेर हामीले तिनीहरूलाई विश्वस्त गराउनैपर्छ। (भज. ११९:९८) बाइबल अध्ययन गर्ने प्रयास गर्नुका साथै त्यसमा भएका कुराहरू प्रयोग गरेको खण्डमा वर्तमान् जीवनस्तर कसरी उकास्न सकिन्छ, त्यो देखाएर हामी त्यसो गर्नसक्छौं।—२ तिमो. ३:१६, १७.
३ सुध्रिएको पारिवारिक जीवन: पारिवारिक समस्या सुल्झाउन एफिसी ५:२२–६:४ मा दिइएको प्रेरित सल्लाह कत्तिको फाइदाजनक छ, कमैले जानेका छन्। विवाह गरेको दस वर्षपछि छुट्टिने निर्णय गर्ने एउटा दम्पतीले यो कुरा बुझ्यो। तथापि, श्रीमतीचाहिंसित बाइबल अध्ययन थालियो र तिनलाई वैवाहिक जीवनसम्बन्धी धर्मशास्त्रीय सिद्धान्तहरू सिकाइयो। बाइबल सिद्धान्तहरू प्रयोगमा ल्याएपछि तिनमा आएका परिवर्तनहरू तिनका श्रीमान्ले केही समयमै देखिहाले र उनले पनि तिनीसँगसँगै अध्ययन गर्न थाले। उनले पछि यसो भने: “त्यसपछि बल्ल हामीले साँच्चैको आनन्ददायी पारिवारिक जीवनको आधार फेला पाऱ्यौं।”
४ जीवनको वास्तविक उद्देश्य: लागूपदार्थ सेवन गर्ने एक युवकले यहोवाका साक्षीहरूसित मदत माग्दा यहोवाले तिनीमाथि व्यक्तिगत चासो लिनुहुन्छ भनेर तिनलाई सिकाइयो। तिनले भने: ‘मानिसजातिको निम्ति परमेश्वरको उद्देश्य छ र उहाँको अनुग्रह पाउनेजतिले अनन्त जीवन पाउने रहेछन् भनेर मैले सिकें। यो थाह पाएर म यत्ति रमाएँ, तपाईं कल्पनै गर्नसक्नुहुन्न। अहिले मेरो स्वास्थ्यमा सुधार भएको छ, मनमा शान्ति छ अनि परमेश्वरसित मेरो सम्बन्ध घनिष्ठ छ।’
५ परमेश्वरको वचनमा पाइने व्यावहारिक सरसल्लाहबाट जसले पनि फाइदा उठाउनसक्छ। यसलाई मार्गनिर्देशनको रूपमा प्रयोग गरेर संसारका तौरतरिकाहरूभन्दा परमेश्वरको तौरतरिका अत्युत्तम छ भनेर हामी तिनीहरूलाई आश्वस्त गराउँछौं। (भज. ११६:१२) यो सन्देश अरूलाई बताउन पाउनु अनि तिनीहरू आफैलाई फाइदा हुने गरी सिकाउन पाउनु हाम्रो निम्ति सुअवसरको कुरा हो। यसो गर्दा हामीले थुप्रै असल परिणामहरू देख्नेछौं।