“हामी नबोली सक्तैसक्तैनौं”
१ येशू ख्रीष्ट प्रचार कार्यलाई नजिकबाट नियाँल्दै हुनुहुन्छ। (मत्ती २८:२०; मर्कू. १३:१०) दुई सय चौंतीस मुलुकमा झन्डै ६० लाख सक्रिय उद्घोषकहरूले साक्षी दिने काम गरिरहेको भए तापनि हाम्रो साक्षी दिने काम सकियो भन्ठान्नु पटक्कै हुँदैन। परमेश्वरले काम सिद्धियो भनेर घोषणा नगरुञ्जेल सिकेका कुराहरू “हामी नबोली सक्तैसक्तैनौं।”—प्रेरि. ४:२०.
२ परमेश्वरको आत्मामाथि भर गर्नुहोस्: हामीलाई निरुत्साहित पार्न शैतानले कठिन सतावट ल्याउँछ। (प्रका. १२:१७) हामीलाई हाम्रो आफ्नै असिद्ध शरीरले पनि थुप्रै समस्याहरूमा पारेर हैरान पार्छ। त्यस्ता कुराहरूले सबैभन्दा महत्त्वपूर्ण कुराबाट हाम्रो ध्यान अन्तै लैजानसक्छ। जे होस्, यहोवामाथि भर पऱ्यौं भने उहाँको आत्माले जस्तोसुकै बाधाबिघ्नको सामना गर्न पनि हामीलाई मदत गर्नेछ।
३ प्रथम शताब्दीको मसीही मण्डलीलाई क्रूरतासाथ सताइँदा भाइहरूले साहसी भई परमेश्वरको वचनबारे बताइरहन परमेश्वरसित मदतको लागि प्रार्थना गरे। यहोवाले तिनीहरूलाई आफ्नो आत्माद्वारा उत्साहित पार्नुका साथै प्रचारकार्यमा लागिरहन जोस तथा दृढता दिनुभएर तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। परिणामस्वरूप, तिनीहरूले ढिलासुस्ती नगरीकन साहसी भई सुसमाचार घोषणा गरिरहे।—प्रेरि. ४:२९, ३१; ५:४२.
४ नकारात्मक कुरादेखि नडराउनुहोस्: मानिसहरूको दृष्टिकोण अथवा झूटो विज्ञापनले हामीलाई भयभीत पार्नसक्छ। तथापि, प्रेरित ५:२९-३२ मा पत्रुसलगायत अन्य प्रेरितहरूले महासभामा दिएको साहसिलो बयान सम्झनुहोस्। व्यवस्थाका पण्डित, गमलिएलले परमेश्वरको कामलाई रोक्न सकिंदैन भनी स्वीकारे। यो हाम्रो शक्तिबाट सम्पन्न गर्नसकिन्न। यस महान् कामको पछाडि परमेश्वरको हात छ र उहाँले मात्र यो पूरा गर्नसक्नुहुन्छ!—जक. ४:६.
५ आउनुहोस्, हामी पनि हरेक दिन जोसिलो भई सुसमाचार उद्घोषणा गरिरहन सक्नको लागि यहोवासित उहाँको आत्मा दिनुहोस् भनी बिन्ती गरिरहौं। हामीले पनि यर्मियाले जस्तै राज्य सन्देश हाम्रो हड्डीहरूबीच थुनिराखेको आगोजस्तै छ भन्नसकौं। (यर्मि. २०:९) हामी चुप लागेर बस्न सक्तैसक्तैनौं!